• ११ असार २०७९, शनिबार

आमालाई सम्मान गर्ने दिन ‘मातृ औँसी’

blog

कमल रिजाल 

मातातीर्थ औँसी हाम्रो ठूलो चाड हो । यो पर्व हरेक वर्ष वैशाख शुक्लपक्षको औँसी तिथिमा मनाइन्छ । यस वर्ष यो पर्व यही वैशाख १७ गते परेको छ । यस दिनलाई मातृ औँसी पनि भनिन्छ । व्यवहारमा भने आमाको मुख हेर्ने दिनको नामले यो पर्व बढी परिचित छ । यस दिन आफ्नो जन्म दिने आमालाई सम्मान गर्ने, माया–ममता दर्शाउने तथा स्मरण गर्ने गरिन्छ । यस पर्वमा आमालाई मीठो खाना र राम्रो नाना दिएर सम्मान गर्ने गरिन्छ । 

आमा नहुनेहरूले यस दिन काठमाडौँको मातातीर्थ कुण्ड वा नजिकको कुनै पनि कुुण्डमा गएर पिण्डपानी दान गरी आमालाई तृप्त पार्ने प्रयास गर्छन् । कुुण्ड वा तीर्थ जान नभ्याउनेहरू घरमै भए पनि गुरु–पुरोहितलाई बोलाएर गच्छेअनुसार अन्न, वस्त्र तथा फलफूल दान गरी आमाको सम्झना गर्ने गर्छन् । यसो गर्नाले वर्षभरि आमा खुसी भएर आशीर्वाद दिन्छिन् भन्ने हाम्रो धार्मिक विश्वास छ ।

यसको अर्थ वर्षको एक दिन मात्र आमाको सम्झना गर्ने र अघिपछि जे गरे पनि हुन्छ भन्ने होइन । वर्षैभरि यसैगरी आमाको सम्मान र सम्झना गर्नुपर्छ भन्ने सन्देश दिनका लागि यस्तो पर्वको चलन चलेको हो । धार्मिक ग्रन्थहरूमा आमालाई देवतासरह मान्नुपर्छ भनिएको छ । त्यो भनेको पनि आमालाई पनि देवतालाई जस्तै भ्याएको बेला फूल अक्षता चडाउने भन्ने होइन । हरेक दिन आमालाई मन पर्ने काम गरेर खुसी राख्नुपर्छ भन्ने हो । यस पर्वले हामीलाई यस्तै गर्न सिकाएको छ अर्थात् भनौ प्रेरणा दिने गरेको छ ।

आमालाई तीर्थको संज्ञा

धर्मशास्त्रमा आमालाई तीर्थको संज्ञा दिइएको छ । तीर्थ भनेको पवित्र नदी वा स्थानको नाम हो । संसारमा यस्ता तीर्थ धेरै छन् । तिनमा आमाको स्थान पनि आएको छ । अन्य तीर्थ भावनाका तीर्थ हुन्, भावनामै सीमित हुन्छन् तर आमा भनेका त्यस्ता तीर्थ हुन्, जो जीवित तीर्थमा पर्छिन् र प्रत्यक्ष फल दिनेमा पनि पर्छिन् ।

जीवनमा आमाको महत्त्व कति छ भनिरहनु पर्दैन । आमा नहुनु भएको भए न हामी यो दुनियाँमा आउन सक्थ्यौँ, न संसारको सुन्दर दृश्यलाई हेर्न र भोग्न पाउँथ्यौँ । संसारमा स्वार्थ छ, दुनियाँ स्वार्थी छ । प्रकृतिको हर चिजमा स्वार्थ भेटिन्छ । पानीमा पनि स्वार्थ छ । माटोमा स्वार्थ छ । हावामा स्वार्थ छ । पशुपन्छीमा स्वार्थ छ । रुखबिरुवा वनस्पतिमा स्वार्थ छ । सबैले केही पाएपछि मात्र केही दिने हुन्, दिनसक्ने हुन् । हावा, पानी, माटोलाई शुद्ध राख्न सके जीवन दिन्छन् । रुखबिरुवा वनस्पतिले पनि स्यहारसुसार पाएपछि मात्रै फलफूल दिने हुन् । पशुपन्छीका कुरा त्यस्तै हो, अन्य जीवजन्तुका कुरा पनि त्यस्तै हो तर आमामा भने कुनै स्वार्थ छैन, हुँदैन ।

आमाहरू वृद्धाश्रममा भेटिनुहुन्छ । सानो छँदा तिनै आमाले त्यत्रो स्याहार गरिन्, सुसार गरिन्, दिसापिसाब सोरिन्, खाइनखाई हुर्काइन्, बढाइन्, पढाइन् तिनै आमालाई सहायता चाहिने बेला वृद्धाश्रममा छाडिदिनु भनेको त्यस्तो अपराध हो, जसलाई जीवनभर आँसुले धोए पनि पखाल्न सकिन्न ।

आमाहरूलाई आफू भोको हुन्छु कि भन्ने चिन्ता होइन, नानीहरू भोका हुन्छन् भन्ने चिन्ता हुन्छ । आफू बिरामी परिन्छ कि भन्ने चिन्ता छैन, नानीहरू बिरामी पर्छन् कि भन्ने चिन्ता छ । आफू नाङ्गो भएकोमा चिन्ता छैन, बालबच्चा नाङ्गो हुन्छन् भन्ने चिन्ता छ । आफूले निद्रा नपाएकोमा चिन्ता छैन, बालबच्चाले निद्रा पाउँदैनन् कि भन्ने चिन्ता छ । यी केही उदाहरण हुन् । हेर्दै जाने हो भने हर कुरामा यस्तै भएको पाउन सकिन्छ ।

धार्मिक ग्रन्थहरूमा भगवान्ले सबै काम आफैँले गर्न नभ्याएकाले प्रतिनिधिका रूपमा आमालाई पठाएका हुन् भनिएको छ । हुन पनि रात दिन नभनी मन, वचन र कर्मले अरूको हित चाहने भगवान्पछि कोही छन् भने आमा नै हुन् । जसरी भगवान्लाई दुनियाँ खुसी भए केही चाहिन्न । दुनियाँका खुसी नै उनका लागि खुसी बनिरहेका हुन्छन् । आमा पनि त्यस्तै हो । उनलाई छुट्टै कुनै खुसी चाहिन्न । आफ्ना नानीहरू खुसी भए भने त्यसैबाट खुसी भइरहेका हुन्छन् ।

आमालाई दुःख दिए ‘पाप’

भाइबहिनीहरू स्कुल जान्छौँ । ध्यान दिएर पढ्छौ, जाँच दिन्छौ, पास हुन्छौ, कक्षा चड्दै गएका हुन्छौ र एक दिन देशको सुयोग्य नागरिक बन्न पुग्छौ । यहाँ तिमीहरूलाई लाग्नसक्छ यी सब आफ्नै प्रयासले भएका हुन् तर त्यो लागेको मात्र हो । वास्तविकता होइन । वास्तविकता त यही हो कि आमाको माया मिसिएकाले नै ती सब भएका हुन् । तिमीहरूले पढ्ने पुस्तकमा, लगाउने लुगामा, बस्ने टेबुलमा, होस्टेलमा र यहाँसम्म कि तिमीहरूले खाने टिफिनमा समेत आमाको माया मिसिएको हुन्छ, गाँसिएको हुन्छ ।

तिमीहरू स्कुलमा गएका हुन्छौ तर घरमा आमाहरू भने आफूले त खाजा खाइयो नानीहरूले खाए कि खाएनन्, टिफिन खान पो बिर्से कि भन्ने नै सोचिरहेका हुन्छन् । कुनै दिन तिमीहरूले खान बिर्सेर टिफिन त्यसै लग्यौ भने बेलुका आमा कति नरमाइलो मान्नुहुन्छ । यो कुुरा तिमीहरूले पनि थाहा पाएको हुनुपर्छ । यही हो आमाको माया, यही हो आमाको निःस्वार्थ मायाको नमुना ।

एक पटक कुनै कुपुत्रको आमा बिरामी परिछिन् । केही दिन त उसले स्याहारसुसार गरेको जस्तो ग¥यो । टोल छिमेकीलाई देखाउनै भए पनि औषधि उपचार गरेको जस्तो पनि ग¥यो तर आमा धेरै नै बिरामी भएपछि भीरबाट लडाएर फाल्न उचित ठान्यो र लिएर गयो तर आमा भने त्यतिबेला पनि भनिरहेकी थिइन्, “धेरै तल नजाउ बाबु ! लडौला । नभए पनि भरे तिमीलाई फर्किन गाह्रो पर्नसक्छ ।”

कतै पढेको यस भनाइमा कति सत्यता छ थाहा छैन तर आमाको माया भने जहाँ पनि यस्तै  हुन्छ । उनलाई आफू लड्छु कि भन्ने चिन्ता छैन, यहीँबाट लडिदिन्छु भनिरहेकी छिन् तर त्यतिबेला पनि आफ्नो छोरो लड्छ कि भन्ने चिन्ता भने लागिरहेको हुन्छ ।

हिजोआज कैयौँ आमा वृद्धाश्रममा भेटिनुहुन्छ । सानो छँदा तिनै आमाले त्यत्रो स्याहारसुसार गरिन्, दिसापिसाब सोरिन्, खाइनखाइ हुर्काइन्, बढाइन्, पढाइन् तिनै आमालाई सहायता चाहिने बेला वृद्धाश्रममा छाडिदिनु भनेको त्यस्तो अपराध हो, जसलाई जीवनभर आँसुले धोए पनि पखाल्न सकिन्न ।

आमाले पाउने भनेको जीवित छँदा नै हो । त्यसैले जे दिने हो जीवित छँदै दिनुपर्छ, जे गर्ने हो जीवित छँदै गर्नुपर्छ । मरेपछि कसले देखेको छ र । मरेपछि खिरको पिण्ड दिएर तृप्त पार्न खोज्नुभन्दा ज्यँुदैमा तृप्त पार्ने प्रयास गर्नु उत्तम हुन्छ । बरु मरेपछि दिए पनि हुन्छ, नदिए पनि हुन्छ । संस्कार हो दिँदा राम्रै हुन्छ तर जीवित छँदा भने गच्छेअनुसार आमालाई तृप्त पार्ने र खुसी राख्ने प्रयास गर्नैपर्छ ।

त्यस्तै आमालाई अनावश्यक किचकिच गरेर दुःख दिन र दिक्क पार्नु पनि राम्रो होइन । रुवाउन त झनै हुँदैन । अन्यथा आमाको आत्मा रुन्छ । आमाको आत्मा रोयो भने उनको आँसुले पिर्छ, कहीँ गएर पनि सुख पाइन्न । मातातीर्थ औँसी र यस दिन गरिने आमाको सम्मान कृत्यले हामीलाई यही सन्देश दिएको छ । á