• १२ पुस २०८१, शुक्रबार

निर्विकल्प गन्तव्य

blog

साँझपख म बगैँचामा आफ्नो विगत, वर्तमान र भविष्यतका थुप्रै कुरा खेलाएर कोठाको बरन्डामा धुमधुमती बसिरहेको हुन्छु मौनतासित कानेखुसी गर्दै ।बगैँचातिर मेरो दृष्टि दौडिन्छ ।

यौवनको उन्माद छरेर सुगन्धित रङ्गीचङ्गी फूल परिवेशमा सुगन्ध फैलाइरहेका थिए भने फलफूलका अग्ला अग्ला बोट आकाशतिर फर्की मानौँ आँखा जुधाइरहेका झैँ देखिन्थे । अनि चराका चिरबिरले वातावरणलाई रमाइलो बनाइरहेको थियो ।

आहा ! कति रमाइलो परिवेश । मन त्यसै पुलकित भयो ।

पश्चिकतिर दृष्टि फेरेँ– आकाश सूर्यले सिन्दुरे रङ पोतेर पहाडको ओतबाट मुन्तिर पाइला चाल्दै थिए– भोलि फेरि उदाउने बाचा गरी ।

... प्राकृतिक मनोरम दृश्यले मलाई आनन्दित पारे पनि मन त खाली खाली छ । उदास उदास छ । तर मनका खालीपनालाई धपाएर आफूसित आफैँ रमाउने प्रयत्न गर्नु मेरो दैनिकी भित्र पर्दछ । 

आजकाल मेरो मनको खुसी कतै बास बस्न गए झैँ लाग्छ मलाई । एक्लै बाँच्न कति गाह्रो छ– त्यो पनि ढल्किँदै गएको यो उमेरमा ।

कहिलेकाहीँ सुख र आनन्दले यसो मनाकाशमा चिहाए पनि बिहानपख झरिएका पातहरूमा शीतको थोपा बिलाए झैँ एकैछिनमा कता बिलाउँछ कता... ।

मनको संसार पनि कति विचित्रको हुँदो रहेछ... । कहिले झरी पर्छ, कहिले आँधी चल्छ, कहिले झलमल्ल घाम लाग्छ भने कहिले झिलिमिली तारा उदाउँछ ।

मनले मलाई साउती ग¥यो बाहिरको संसारभन्दा मनको संसार कति बेग्लै छ । मन त खुला आकाश हो, गहिरो सागर हो– अनि पीडाले भरिएको सगरमाथा हो । कहिले मन खुला आकाशमा उड्छ– कति गहिरो सागरमा डुबुल्की मार्छ त कहिले पीडाको सगरमाथा चड्छ ।

आज मनभरि व्यथा छचल्किएर पोखिएको छ । एउटी नारीलाई आफ्नो कोखको घमण्ड हुन्छ । कोख हुनाले नै नारीको जीवन सिजनात्मक भएको छ । नारीले मानवको सिर्जना गर्छन् यही कोखभित्र । यही कोखमा भ्रूणको विकास हुन्छ र मानवलाई जन्माएर नारीलाई सिर्जनशील बनाइदिन्छ । मलाई पनि मेरो कोखको घमण्ड छ किनकि विवाहोपरान्त छिटो छिटो म गर्भवती हुन चाहन्थेँ । 

छिटो सन्तान जन्माएर आमाको पदवीले विभूषित हुन चाहन्थेँ ।

तर नियतिले अर्कै खेल खेल्यो ।

मैले आफूलाई चालिस वर्षअगाडि धकेलेँ ।

त्यो साँझ एउटा ठुलो चट्याङ खस्यो हाम्रो सललल बगिरहेको वैवाहिक जीवनमा ।

पङ्कज अवाक थिए, त्यस्तै म पनि ।

रिपोर्ट खिल्ली उडाएर हाँसिरहेको थियो हामी मभित्रको मातृत्वले अट्टाहास ग¥यो । 

म शून्य दृष्टिले झ्यालबाट चुपचाप हेर्न थालेँ ।

पङ्कज बिछ्यौनामा लम्पसार परेर ढली मतिर हेरिरहेका थिए ।

त्यो दिनलाई सम्झिन मन नलागे पनि सम्झेँ मैले । त्यही बेला मोबाइलको रिङ टोन बज्यो ।

म झस्किएर वर्तमानमा फर्किएँ ।

“मामु के गर्दै हुनुहुन्छ ?”

“छोरा, त्यसै बसिरहेकी ।”

छोराको बोली कानमा पर्नासाथ म खुसीले फुरुङ भएँ ।

“हजुरको सधैँ मलाई पिर लाग्छ । हजुरको सुगर र प्रेसर ठिक छ ?” 

“ठिक छ बाबु, पिर नगर राम्ररी पढ् र छिटै पढाइ सकेर फर्क है ।”

छोरा आकृतलाई मैले बात्सल्य पोखेर भनेँ ।

आकृत मेरो एक मात्र सन्तान मेरो मुटुको धुकधुकीको मभन्दा टाढा छ । अस्ट्रेलियालाई कर्मक्षेत्र बनाएर उतै बसाइँ सरेको छ । झन् ढल्किँदो उमेरमा एक्ली आफ्नो सन्तानबाट टाढा भएर बस्नु कति कहाली लाग्दो छ त्यो त म जस्तै भोग्ने वृद्धवृद्धालाई थाहा होला । आज समयले वृद्धवृद्धालाई यो पीडा भोग्न बाध्य पारेको छ । यो समयले ल्याएको असहनीय पीडा हो ।

के गर्नु, उता गएर बस्न सकिन्नँ । जत्तिकै कष्ट भोग्नुपरे पनि हामीलाई देश छोडेर जान मन लाग्दैन । गएर पनि के गर्नु... ?

उताको रहन सहन, जीवनैलीमा हामी टिक्नै सक्दैनौँ । त्यहाँको व्यस्त जीवन, छोरा बुहारीको व्यस्तता सही नसक्नु छ । बरु यता नै जीवन बाँच्न सजिलो छ । एक प्रकारले भनौँ भने । मैले सोचलाई लम्याउँदै गएँ । पखेटा चाल्दै मन चालिस वर्ष अगाडि गएर विश्राम लियो ।

आकृतिको जन्मको कथा पनि कम घतलाग्दो छैन । 

त्यो साँझ सम्झिन मन नलागे पनि सम्झिएँ । रिपोर्ट हातमा लिएर युद्ध हारेको सिपाही झैँ पङ्कजहरू फर्किएका थिए ।

उनले रिपोर्ट फ्याट्ट टेबलमा फ्याँकेर लुगै नफुकाली बिछ्यौनामा डङ्ग्रङ्ग लडे ।

के भो... ? मैले आशङ्कित हुँदै रिपोर्ट हातमा लिएर पढ्न थालेँ ।

मेरो पनि हंसले ठाउँ छोड्यो । रिपोर्टमा मेरो पनि ...को सबै कुरा राम्रो थियो भने पङ्कजको एकदम नराम्रो अर्थात् उनको शुव्रmकिट एकदम थोरै र कमजोर हुनाले उनी गर्भाधान गराउन असक्षम छ भनी लेखिएको थियो ।

पाँच वर्षदेखि हामी सन्तानको मुख हेर्न आतुर भई त्यस सुखद् घडीको प्रतीक्षा गरिरहेका थियौ । बिहे गरेदेखि नै हामी दुवैले सकेसम्म सन्तान जन्माउने योजना बनाएका थियौँ । तर पाँच वर्षसम्म पर्खिएर आजित भई हामीले हामी दुुवैको शारीरिक परीक्षण गराएका थियौँ ।

मन एकदम चिसियो र निराशाको बादलभित्र मन फनफन्ती घुम्न थाल्यो ।

“के अब म कहिल्यै आमा बन्न पाउँदिनँ ?” एउटा ठुलो प्रश्नले मेरो मनलाई चिथोर्न थाल्यो ।

मैले पतितिर दृष्टि फ्याकेँ– उनी उदास तथा निराश भई दलिन ताकिरहेका थिए । मलाई हास्नु कि रुनु जस्तो भइरहेको थियो । परीक्षण गर्न जानुअघि उनले भनेका एक एक शब्द कानमा गुन्जिन थाले ।

“अमुदा, ममा त कुनै खोट छैन । म एकदम स्वस्थ्य छु । खोट भए तिमीमा नै होला ।”

“त्यो त रिपोर्टले देखाइहाल्छ नि ।” मैले पनि निसङ्कोच भनेकी थिएँ । यदि तिमीमा खोट भएर म सन्तानविहीन हुने स्थिति आएमा म त ...उनी बोल्दा बोल्दै रोकिए ।

“म त के ... ?” मैले आश्चर्य उनको अनुहार ताकेँ ।

“अर्थात् बाबु बन्नका लागि म कुनै कदम चाल्न पछि पर्दिनँ ।”

“अनि तपाईंमा खोट रहेछ भने नि,” मैले पनि प्रश्न उनैतिर तेस्र्याएँ । “तिमीले पनि आफू खुसी कदम चाल्नु ।”

उनले निस्फिव्रmीसाथ त्यसो भने ।

अब स्थिति उनको पक्षमा थिएन, मेरो पक्षमा थियो ।

“ओहो ! अब के गर्ने ?”

मनभित्र आँधी चल्यो ।

एउटी महिलालाई आमा बन्नु जीवनको सबैभन्दा पहिलो प्राथमिकता हो । आइमाई त आफ्नो कोखको साह्रै घमण्ड हुन्छ । कोख त ईश्वरीय.. हो । आइमाई जातिका लागि ।

कोखकै भ्रूणले आफूलाई विकसित गरी मानव जातिको सिर्जना गर्छ । त्यसैले आइमाईलाई मानव जातिको सृष्टिकर्ताको रूपमा पूजनीय र सम्माननीय बनाइदिएको छ प्रकृतिले नै... ।

मलाई पनि आफू आइमाई हुन पाएकोमा गर्व छ । म पनि मानवको सिर्जना गर्न एक सिर्जनशील र सन्तानवती भएर समाजमा आफ्नो वर्चस्व कायम गर्न चाहान्थेँ तर... अब त्यो मेरो रहरमा तुषारापात भयो । रहर मात्र कहाँ हो र... । आमा बन्न पाउनु मेरो नैसर्गिक अधिकार पनि हो ।

यदि पतिबाट सन्तान जन्माउन सकिएन भने सन्तान प्राप्तिका लागि कुनै पनि कदम चाल्नु जायज हुन्छ ।

अब मेरो मनले यसरी सोच्न थाल्यो । म कदापी सन्तानविहीन र बाँझो भएर बाँच्न चाहान्न । सन्तानलाई जन्म दिएर म आफ्नो जीवनलाई सार्थक बनाउन चाहान्छु ।

अब त्यो कसरी सम्भव हुन्छ... ?

कैयौँ प्रश्नले मलाई एकैचोटि प्रहार गरे । हामी दुवै चुपचाप आआफ्ना विचारमा डुबुल्की मारिरहेका थियौँ ।

शून्यताले कोठामा डेरा जमाइरहेको थियो । म त्यही शून्यतामा शून्य भई हराइरहेकी थिएँ ।

त्यसपछि हाम्रो वैवाहिक जीवनमा चट्याङ प¥यो । हाम्रो सम्बन्धमा धमिरा लाग्यो । मलाई उनको स्पर्श असहनीय लाग्न थाल्यो । हाम्रो दाम्पत्य जीवन बाँझो खेत झैँ भइदियो ।

उनीसित शरीर तथा मनले म टाढा हुन थालेँ । म आफ्नो नैराश्यता र मानसिक तनावसित युद्ध गरेर असन्तुष्ट जीवन जिउन थालेँ ।

तर कतिन्जेल... । मैले पङ्कजलाई छोड्ने निर्णय गरेँ । उनी एक असल पतिको नाताले म उनलाई माया गर्छु । छोडेर जान पनि सक्दिनँ तर के गर्नु ... ।

मेरो मातृत्वको चाहनाले मलाई दिनरात चिथोर्न थालेपछि मैले एउटा निर्णय लिनै पर्ने भयो । मेरो मनले अब उनलाई छाड्ने अठोट ग¥यो ।

धर्मपुत्र वा पुत्री पाल्ने विकल्प नि थियो । तर जब ममा सन्तान उत्पादन गर्ने क्षमता छ भने किन अरूका सन्तानलाई आफ्नो बनाउने– दोष त समाजले मलाई दिन्छ । बाँझी आइमाई भनेर जिन्दगीभर औँला ठड्याएर मेरो कोखको अपमान गर्ने छ । म कदापी आफ्नो कोखको अपमान हुन दिन्नँ । मैले सन्तान जन्माएर समाजका अगाडि आफ्नो कीर्तिमानको झन्डा गाड्न चाहान्छु ।

जब फूलको बोटमा फूल फुलाउने क्षमता हुँदैन भने त्यो बोटलाई किन गोडमेल गर्ने ? बरु त्यसलाई ढालिदिए नै बेस । यस्तो विचारले मनलाई आफ्नो वशमा पारेपछि मैले हामीबिचको असहज सम्बन्धलाई फुकाउन मुख खोलेँ ।

“पङ्कज हामीले यस्तो असहज सम्बन्धलाई समातिरहनुभन्दा चुँडाएर आफूखुसी बाँच्नु पर्छ ।”

उनले केही जवाफ दिएनन् । निरिह बनेर मलाई हेरिरहे ।

“हो, पङ्कज अब हामीले आआफ्नो गन्तव्य रोज्नु पर्छ ।”

हामी दुवैविच सम्बन्ध विच्छेद गर्ने सहमति भयो ।

त्यसपछि मैले आफ्नो आत्मबललाई बलियो बनाएर निर्विकल्प गन्तव्यतिर आफ्नो कदम चालेँ ।

त्यसपछि मेरो जीवनले ठुलो फड्को लियो ।

उनीसित सम्बन्ध गाँस्दा मैले आफ्नो निर्णय सुनाएँ ।

“म तिम्रो विवाहित भएर बस्ने होइन है । हामी लिभिङमा बस्ने । तबसम्म बस्ने जबसम्म मैले गर्भाधान गर्दिनँ । गर्भाधान भएपछि म तिमीसित छुट्टिन्छु । मेरो सन्तानप्रति तिम्रो कुनै अधिकार हुँदैन । मेरो जीवनमा तिमीले कुनै बाधा तेस्र्याउने छैनौँ ।”

सहमतीले हामी लिभिङमा बस्यौँ । तर भाग्यले दुई वर्षमै मेरो गर्भ रह्यो । सहमति अनुसार म केही महिनापछि उनीसित छुट्टिएँ र एक्लै सन्तान जन्माएँ, पालनपोषण गरी हुर्काएँ ।

“के यो मेरो दुस्साहास होइन ?” यसरी मैले आफ्नै कोखबाट सन्तान जन्माएर सन्तान सुख प्राप्त गरेँ । हरेक हुरी बतासको सामना गरी आकृत छोरालाई शिक्षादीक्षा दिएर योग्य बनाएँ । मलाई लाग्छ सन्तान जन्माएर मैले मेरो कोखलाई न्याय दिएँ ।

आफूखुसी बाँच्ने अधिकार सबैलाई छ । त्यस अधिकारको मैले सदुपयोग गरेँ ।

“किन एक्लै धुमधुम्ती बसिरहनु भा’को मुमा ।” जमुनीले कोठाको बत्ती बाल्दै सोधी ।

“ए... !” मैले पश्चिमतिर दृष्टि फ्याँकेँ ।

कतिखेर सूर्य डुबेर अँध्यारोले साम्राज्य जमाइसकेछ ।

विगतमा म यस्तरी डुबेँकी राति भएको पनि मैले चाल पाइनँ । म बिस्तारै बरन्डामा राखेको मेचबाट उठेँ । मलाई लाग्यो मैले मेरो छोरा आकृतलाई जन्माएर कुरुक्षेत्रको युद्ध नै जितेकी छु ।

समाजको दोषी आँखाले मलाई जुनै उपाधि दिए पनि म निष्कलङ्क छु, सामथ्र्यवान छु र अपराजिता छु ।

तर यति हुँदा हुँदै पनि म सन्तानबाट टाढा छु । जुन सन्तानलाई जन्माउन त्यत्रो लडाइँ लडेँ– ऊ नै मबाट टाढा छ ।

केही छैन मेरो एक्लो जीवनलाई सलाम छ ।  मधुपर्क