• २९ कात्तिक २०८२, शनिबार

प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत

blog

सम्मान कार्यक्रम ।

काठमाडौं, कात्तिक २९ गते । प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानले आफ्नो दोस्रो साधारण सभामा विभिन्न व्यक्तित्वलाई पुरस्कृत गरेको छ । त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक उर्मिला प्याकुरेलको स्मृतिमा गठित प्रतिष्ठानले प्राज्ञिक क्षेत्रका चार र साहित्यिक क्षेत्रका एक जनालाई पुरस्कृत गरेको हो । 

पुरस्कृत हुनेमा त्रिवि गणित विभागबाट स्नातकोत्तर तहमा उत्कृष्ट छात्र गङ्गाराम जोशी र छात्रा विद्या पोखरेल रहनु भएको छ । उहाँहरुलाई जनही २५ हजार र प्रमाणपत्रले पुरस्कृत गरियो । 

त्यस्तै, उर्मिलाले अध्ययन गरेको सिन्धुपाल्चोकको बाघ भैरव मावि ठोकर्पाबाठ २०८१ को एसइई परीक्षामा उत्कृष्ट सबिना बुढाथोकी र कालिका आधारभूत विद्यालय उखुबारीबाट २०८१ को परीक्षामा उत्कृष्ट दीपेश विश्वकर्मालाई व्रmमशः १५ हजार र १० हजार नगद तथा प्रमाणपत्रले पुरस्कृत गरियो । 

त्यसैगरी, उर्मिलाको साहित्यिक व्यक्तित्वको सम्मानमा दिइने साहित्यिक पुरस्कार महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेलाई प्रदान गरियो । पुरस्कारको राशि २० हजार नगद र प्रमाणपत्र रहेको छ । 

सबै पुरस्कार समारोहका प्रमुख अतिथि त्रिवि गणित केन्द्रीय विभागका प्राडा शैलेन्द्रकुमार मिश्र, प्रतिष्ठानका अध्यक्ष प्राडा टङ्कनाथ धमला र सचिव उद्धवप्रसाद प्याकुरेलले प्रदान गर्नुभयो । 

साधारण सभामा प्रतिष्ठानका सचिव उद्धवप्रसाद प्याकुरेल र कोषाध्यक्ष नवराज सापकोटाले आआफ्नो प्रतिवेदन प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । 

समारोहमा प्रमुख अतिथि प्राडा मिश्र, पुरस्कृतमध्येबाट विद्या पोखरेल र चन्द्रप्रसाद न्यौपाने, त्रिवि गणित केन्द्रीय विभागका सहप्राध्यापक तुलसी नेपाल, बाघभैरव माविका शिक्षक छत्रप्रसाद न्यौपाने, नेपाल जर्मन प्राज्ञिक संघका अध्यक्ष बबिता पौडेललगायतले प्राडा उर्मिलाले सानै उमेरमा गरेको उच्च प्राज्ञिक र साहित्यिक योगदानको चर्चा गर्नु भएको थियो । 

४२ वर्षमै प्राध्यापक हुनु भएकी प्याकुरेलको दुईवर्षअघि निधन भएको थियो । उहाँको उपचारका लागि सङ्कलित रकममा परिवारका सदस्यहरुबाट समेत थप गरेर ५० लाख रुपियाँसहित प्रतिष्ठान गठन गरिएको हो ।