• १३ साउन २०८१, आइतबार

इनरुवामा चुनावी घरदैलो

blog

सुनसरीको इनरुवा नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट नगरप्रमुखका उम्मेदवार केदार भण्डारी ।

इनरुवा समाचारदाता 

इनरुवा, वैशाख १८ गते । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकामा प्रमुख चार दलका उम्मेदवार चुनावी घरदैलो अभियानमा छन् ।नगरप्रमुख र उपप्रमुखसहित वडाध्यक्षसम्मले आफ्नो पार्टी र आफूलाई मतदानका लागि आग्रह गर्दै चुनावी प्रचारप्रसार तथा घरदैलो अभियानलाई तीव्र पारेका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सुनसरीको इनरुवा नगरपालिका १, ५ र ३ नम्बर वडामा नेपाली काँग्रेसका नगरप्रमुखका उम्मेदवार केदार भण्डारी र उपप्रमुखका उम्मेदवार विनिताकुमारी मेहतासहितले घरदैलो कार्यक्रम गर्नुभएको छ । 

घरदैलो कार्यक्रम गर्नुहुँदै भण्डारीले इनरुवाको विकास, सुशासन र जवाफदेहिताका लागि आफूलाई मतदान गर्न आग्रह गर्नुभएको छ । त्यसैगरी इनरुवा नगरपालिकामा नेकपा (एमाले)बाट नगरप्रमुखका उम्मेदवार सरोज पोखरेल र उपप्रमुखका उम्मेदवार सहजादी प्रविणले पनि घरदैलो कार्यक्रम तीव्र पार्नुभएको छ । पोखरेलले घरदैलो कार्यक्रम गर्नुहुँदै विगतमा हुन नसकेका विकासलाई गरेर देखाउने प्रतिबद्धतासहित प्रचारप्रसारलाई तीव्र बनाउनुभएको छ । 

त्यसैगरी जनता समाजवादी पार्टीका नगरप्रमुखका उम्मेदवार दिलीपचन्द साहु र उपप्रमुखका उम्मेदवार सरिताकुमारी यादव घरदैलो कार्यक्रममा व्यस्त हुनुहुन्छ । परिवर्तन र सबैका सम्मानका लागि जसपालाई मतदान गर्न अपिल गर्दै घरदैलो जारी राख्नुभएको छ ।

उता नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका उम्मेदवार विमला पोखरेल र उपप्रमुख पदका उम्मेदवार ओके दाहालले इनरुवा–३ र ४ मा घरदैलो कार्यक्रम गरिरहनुभएको छ । त्यसैगरी अन्य दलले पनि आआफ्ने प्रमुख, उपप्रमुख र वडाध्यक्ष तथा सदस्य पदका उम्मेदवारसहित घरदैलो कार्यक्रमलाई तिव्र पारिएको छ । 

उता राजनीतिक दलको निर्वाचन चिह्न पहिला नै थाहा भएकाले मनोनयन दर्ता गरेको भोलिपल्टबाटै चुनावी प्रचारप्रसारमा जुटेको थिए तर स्वतन्त्रका उम्मेदवारलाई शनिबार मात्र आधिकारीक चुनाव चिह्न दिएकाले आइतबारदेखि प्रचारमा जुटेका छन् । 

प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी, राप्रपा र राप्रपा नेपालसहितका दलका उम्मेदवार दैनिक बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म प्रचारप्रसार र चुनावी कार्यक्रममा व्यस्त बनेका छन् ।

निर्वाचन आयोगको निर्वाचन आचारसंहिताअनुसार वैशाख २७ गते रातको १२ बजेपछि प्रचारप्रसारका कार्यक्रम गर्न नपाइने भएकाले मनोनयन दर्तासँगै प्रचारप्रसारमा जुटेको नेपाली काँग्रेसका जिल्ला सभापति तथा इनरुवा नगरप्रमुख पदका उम्मेदवार केदार भण्डारीले बताउनुभयो ।