• १३ साउन २०८१, आइतबार

ढुङ्गा हटाउँदा जोगियो बस्ती

blog

नेपाली सेनाले ब्लास्टिङद्वारा ढुङ्गा फूटाएपछिको अवस्था ।तस्बिर : नेपाली सेना

गोरखापत्र समाचारदाता 

काठमाडौँ, वैशाख १८ गते । नेपाली सेनाले बस्तीमाथि रहेको ढुङ्गा हटाएपछि सिङ्गो बस्तीमा हुन सक्ने विपत् टरेको छ । नुवाकोटको दुप्चेश्वर–१ घ्याङफेदीस्थित नेगी गाउँको बस्तीमाथि रहेको ठूलो ढुङ्गा हटाउन नेपाली सेनाले ‘अपरेसन दुप्चेश्वर’ सञ्चालन गरेको थियो ।

अपरेसनमार्फत नेपाली सेनाले दुई महिना लगाएर झन्डै २० हजार घनमिटर ढुङ्गा विस्फोट गरी हटाएको जनाएको छ । यससँगै एक सामुदायिक विद्यालयसहित सिङ्गो बस्तीमा हुन सक्ने सम्भावित जोखिम टरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार २०७२ को भूकम्प र त्यसपछिका पराकम्पनबाट सो ढुङ्गा बस्तीतर्फ थोरै–थोरै गरी चिप्लिइरहेको पाइएको थियो ।

उक्त ढुङ्गा हटाउन गत फागुन १४ गते सेनाको कालीभञ्जन गणबाट सहसेनानी सुरेन्द्र थापाको कमान्डमा प्राविधिकसहितको विस्फोट टोली परिचालन गरिएको थियो । गत बिहीबारमात्र २५औँ विस्फोटपछि ‘अपरेसन दुप्चेश्वर’ पूरा गरी बस्ती सुरक्षित गराएको सेनाले जनाएको छ ।

वर्षाका कारण जमिनी सतह कमजोर हुँदा उक्त ढुङ्गा बस्तीतर्फ पल्टिन थालेको भन्दै स्थानीयवासी त्रसित बनेका थिए । ढुङ्गाको तल्लो भेग अर्थात् पूर्व–दक्षिण र दक्षिण–पश्चिममा एक आधारभूत विद्यालयसहित ४७ घरधुरी रहेको छ । दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जोखिमयुक्त ढुङ्गा हटाएपछि स्थानीय आ–आफ्ना पुख्र्यौली बस्तीमा भयरहित रूपमा बस्ने अवस्था भएको बताउनुभयो । 

नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद रिसालले ढुङ्गा हटाएसँगै सम्भावित विपत् टरेको बताउनुभयो । साथै उहाँहरूले यसले सेना तथा नागरिकबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।