• १७ असार २०८१, सोमबार

दार्चुलामा सञ्चार र विद्युत सेवा अवरुद्ध

blog

नेपाल विद्युत प्राधिकरण विद्युत वितरण केन्द्र दार्चुला । तस्बिर : लोकेन्द्र जोशी

दार्चुला, वैशाख १७ गते । दार्चुलामा शुक्रबार बेलुकीदेखि सञ्चार सेवा अवरुद्ध बनेको छ । दार्चुलासहित सुदूरपश्चिमका तीन पहाडी जिल्लामा नेपाल टेलिकमको सेवा पूर्ण रुपमा अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । 

हावाहुरीले डडेल्धुराको भालुमारेमा नेपाल टेलिकमको फाइबर चुडिएपछि दार्चुला, बैतडी र बझाङ जिल्लामा टेलिकमका सम्पूर्ण सेवा अवरुद्ध भएको बताइएको छ । हावाहुरीले विद्युतका पोल ढलेपछि फाइबर ब्रेक भएको नेपाल टेलिकमले जनाएको छ । फाइबर ब्रेक हुँदा नेपाल टेलिकमले प्रदान गर्ने भ्वाइस कल सेवा र इन्टरनेट सेवा अवरुद्ध भएको छ । टेलिकमको अवरुद्ध सेवा सुचारु गर्नका प्राविधक टोली खटिएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बेलाबेला नेपाल टेलिकमको सेवा अवरुद्ध हुने गरेको छ । सञ्चारसेवा अवरुद्द भएपछि उपभोक्ताहरु सञ्चारविहीन बनेका छन् । निर्वाचनको बेला भएकोले सम्पर्क र समन्वयमा समेत समस्या भएको नेताहरुले बताएका छन् । उपभोक्ताका साथै कार्यालयहरुको सेवा र सञ्चारमाध्यमहरुको कामकाज समेत प्रभावित बनेको छ ।

विद्युत अवरुद्ध हुँदा सेवाग्राही समस्यामा

दार्चुलामा बिहीबारदेखि विद्युत अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन् । बिजुली नआउदा दैनिकी कामकाज प्रभावित भएको र अन्धकारमा बस्नुपरेको सेवाग्राहीको गुनासो छ । दार्चुला सदरमुकाम खलंगासहित जिल्लाभरीको विद्युत सेवा तीन दिनदेखि अवरुद्ध भएको विद्युत वितरण केन्द्र दार्चुलाले जनाएको छ । 

विद्युत लाइनमा मर्मतको काम चलिरहेको भएपनि सञ्चार सेवा समेत अवरुद्ध हुँदा ढिलाइ भइरहेको विद्युत कार्यालयका प्राविधिक कर्मचारी सुरेश भट्टले बताउनुभयो । तीन दिनदेखि बिजुली नआउँदा मोबाइल चार्ज गर्नसमेत समस्या भएको लेकमका स्थानीय प्रेम बिष्टले जानकारी दिनुभयो ।

राष्ट्रिय प्रसारण लाइन अवरुद्ध हुदा उज्यालो बाल्न, मोबाइल चार्ज गर्न, खाना पकाउन, विद्युतबाट चल्ने मेसिनहरु चलाउन पाइएको छैन, लेकमकै अर्का स्थानीय कृष्णदेव जोशीले भन्नुभयो । विद्युत अभावमा छापाखाना, सञ्चारमाध्यम र विद्युतिय पसलहरुको सेवा बन्द छ । बिजुली अभावमै अस्पतालका बिरामीहरुलाई  समस्या भएको छ । फ्रिजमा राख्नुपर्ने कतिपय औषधी बिग्रिने अवस्थामा छन् ।

विद्युत उत्पादनको धनी जिल्ला दार्चुलाको झण्डै ६० प्रतिशत घरधुरीमा राष्ट्रिय प्रशारणको पहुँच नहुँदा सोलार र टुकीको भरमा सरकारी कार्यालयदेखि व्याक्तिगत कामकाज गर्नुपर्ने बाध्यता रहेको छ । विद्युत लाइन विस्तार भएको क्षेत्रमा अनियमित र कम क्षमताको विद्युतका कारण सधैं समस्या भोग्नुपरेको छ । दार्चुलामा ३० मेगावाटको चमेलिया जलविद्युतसहित सहायक र ग्रामीण लघु जलविद्युतहरु उत्पादन भएपनि समयमै ग्रामीण विद्युतिकरण नहुदा जिल्लावासीले बिजुलीबत्ती बाल्न पाएका छैनन् । 

कुल उत्पादनको दुई प्रतिशत विद्युतले जिल्लाभरि झिलिमिली हुने अवस्थामा समयमै ग्रामीण विद्युतीकरण, सवस्टेशन निर्माण र लाइन विस्तारको कार्य सम्पन्न नहुँदा जिल्लाका आधा नागरिकले विद्युतको तारपोल समेत देख्न पाएका छैनन् । ग्रामीण विद्युतीकरणका लागि हरेक वर्ष करोडौ बजेटमा ठेक्का सम्झौता भएपनि समयमै विद्युत प्राधिकरणले उपकरण उपलब्ध गराउन नसक्ने, सडक पहुँचको अभावमा ढुवानी समस्या हुने र निर्माण व्यवसायीको लापरवाही र ढिलासुस्तीका कारण विद्युतीकरणमा लक्ष्य अनुसार प्रगति हुन सकेको छैन ।