• २९ वैशाख २०८१, शनिबार

विश्व नृत्य दिवस : नृत्य विधा सृष्टिकै सुन्दर उपहार

blog

यलु जोशी 

काठमाडौँ, वैशाख १७ गते । नृत्य एक कला हो, जसले लयबद्ध वा सङ्गीतको तालमा शरीरको चाललाई दर्शाउँछ । भनिन्छ– नृत्यबिना संसार नै अधुरो हुन्छ । अन्तर्राष्ट्रिय तथा विश्व नृत्य दिवस वर्ष अप्रिल महिनाको २९ तारिखमा संसारभर नृत्यसम्बन्धी विभिन्न कार्यक्रम गरी मनाइन्छ । नेपालमा पनि नृत्य दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्घ युनेस्कोसँग सहकार्य गरेको इन्टरनेसनल थिएटर इन्स्टिच्युटको अन्तर्राष्ट्रिय नृत्य समितिले सन् १९८२ मा पहिलो पटक यो दिवस मनाएको थियो ।

अभिनेत्री तथा नृत्याङ्गना मिथिला शर्मा भन्नुहुन्छ, “नृत्य विधा सृष्टिकै अभिव्यक्ति शैलीका लागि सुन्दर उपहार हो ।” नृत्य विधामा प्राणी मात्र होइन सारा प्राकृति नै आ–आफ्नो भाव व्यक्त गरी नाचिरहेका हुन्छन् । 

नाचबिना यो संसार अस्थिर छ । हामीले दैनिक गर्ने कार्य पनि एक नृत्य नै हो भने हिँडाइ पनि नृत्य हो । शर्माले यस्तो सुन्दर विधालाई आफ्नो जीवनयात्राको सारथि बनाउँदै हिँड्न पाएकोमा आफूलाई भाग्यमानी ठानेको बताउनुभयो । 

उहाँका अनुसार नृत्य भावना र मानवीय संवेदनाको अभिव्यक्ति हो । नृत्य उत्साहको प्रतीक हो । नृत्य दर्शन पनि हो । बिहे व्रतबन्धलगायत कुनै पनि जीवन उन्मुख क्रियाकलाप नृत्यबिना परिपूर्ण मानिँदैन शर्माले थप्नुभयो, “नृत्यको परिभाषा अपार छ यसलाई परिभाषित गर्न नै सकिँदैन ।” 

नृत्यको लोकप्रियता बढेसँगै स्वास्थ्यलाई पनि राम्रो गर्ने भएका कारण अहिले जुम्बा, हिपहप, ब्रेक डान्स, बालेट, साल्सालगायतका नाच प्रचलनमा देख्न पाइन्छ । समयको विकासक्रमसँगै नृत्य पेसा व्यावसायिकतातर्फ उन्मुख हुन थालेको छ । नाच्न सिकाउने प्रशिक्षक भएर वा कार्यक्रममा नृत्य प्रस्तुत गरेर पनि मानिसले रोजगारी पाएका छन् । नृत्यनिर्देशक सङ्घका अध्यक्ष सञ्जय राजोपाध्यायले नृत्य गरेर नै अहिले जीविका चलाउन सकिने भएका कारण यसको लोकप्रियता बढेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “नेपालमा पनि नृत्यकलाको संस्कृति, परम्परा एवं संस्कार विकसित भएको छ ।” अझ विकास गर्न जरुरी भएको प्रस्ट पार्दै विभिन्न लोकनृत्य लोप हुने अवस्थामा भएकाले यसको अनुसन्धान हुन जरुरी भएको तर्क दिनुभयो । 

उहाँले लोकनृत्यलाई जात्रा, पर्वको नृत्य नभई यसलाई पनि पाठ्यक्रममा समावेश गर्नुपर्छ । नवदुर्गा, चर्या, लाखे, धिमे, तामाङ सेलो जस्ता लोकनृत्यलाई विकास गर्नुपर्ने पनि उहाँले जोड दिनुभयो ।

यस्तै नृत्य प्रशिक्षक रोहिया महर्जनले नृत्य भनेको कला मात्र नभएर स्वास्थ्यका हिसाबले पनि राम्रो हुन्छ । नृत्य भनेको सबै व्यक्तिले गर्नुपर्ने उहाँको जोड छ । 

नृत्यको अनेक फाइदा भएकाले यसलाई उपयोगी कसरतका रूपमा लिन सकिने योगगुरु सागर आचार्यले बताउनुभयो । उहाँले अचेल बिहान योगको अभ्यास गर्ने मानिसले पनि केही समय नृत्यको अभ्यास गर्ने गरेको पाइने प्रस्ट पार्दै केही समय नाच्नाले हृदय तथा फोक्सोको अवस्थामा सुधार आउने जानकारी दिनुभयो । नृत्यले मानिसको मांसपेशी बलियो बनाउन सहयोग गर्छ । साथै यसले हड्डी पनि बलियो बनाउन महŒवपूर्ण भूमिका खेल्दछ । यसर्थ नृत्यका अनेक फाइदा रहेका छन् ।