सिराज खान
नेपालगन्ज, कात्तिक १२ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले स्वरूप परिवर्तन ‘मोडिफाइड’ गरेर चर्को ध्वनि निकाल्ने मोटरसाइकल चलाउनेविरुद्ध कारबाही सुरु गरेको छ ।
त्यस्तो, मोटरसाइकल र तिनका चालकलाई नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याउन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी निरीक्षक कनकबहादुर शाहीले बताउनुभयो ।
उहाँले सो प्रकारका १२ वटा मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही गरिएको जनाउँदै ‘मोडिफाइड’ गरेर चर्को ध्वनि निकाल्ने सबै मोटरसाइकल नियन्त्रणमा लिइने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी चौकी र ट्राफिक प्रहरी कार्यालयले स्वरूप परिवर्तन गरिएका र ध्वनि प्रदूषण गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिने कार्यलाई निरन्तरता दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख शाहीले बताउनुभयो ।
उहाँले मोटरसाइकलमा होहल्ला गर्दै हिँड्ने, ध्वनि प्रदूषण गर्ने र स्वरूप परिवर्तन गरेर चर्को आवाज निकाल्ने मोटरसाइकल देखिएमा तत्काल सूचना दिन पनि सर्वसाधारणसँग आग्रह गर्नुभएको छ ।
शाहीले भन्नुभयो, ‘मोडिफाइड गरी ध्वनि प्रदुषण गर्ने एक दर्जन मोटरसाइकल नियन्त्रणमा लिइसकेका छौं, अन्यलाई पनि नियन्त्रणमा लिनेछौं ।’ स्वीकृति नलिइ सवारी साधनको साइलेन्सर, सिट, रङ, स्वरूप, नम्बरप्लेट, लुकिङ ग्लास, सक, ह्यान्डल, इन्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनि प्रदूषण हुनेखालका पार्टपूर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को बमोजिम १५ हजार रुपियाँ जरिवाना हुने व्यवस्था रहेको छ ।
पछिल्लो समयमा बाँकेका सहरी क्षेत्रमा मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल कुदाउने प्रवृत्ति बढ्दै गएको छ । यस्ता गतिविधिले सडक दुर्घटनाको जोखिम बढाउनुका साथै ध्वनि प्रदूषणले समाजमा असर गर्ने प्रहरीको भनाइ छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले केही इभी गाडीहरूले समेत नम्बर प्लेट परिवर्तन गरी चलाइरहेको फेला पारेको जनाएको छ । केही इभी गाडीले नियम विपरित नम्बर प्लेटको कलर परिवर्तन गरेर चलाइरहेको पाएपछि नियन्त्रणमा लिइ कारवाही गरिएको बाँके ट्राफिक प्रहरी प्रमुख शाहीले बताउनुभयो ।
रातो नम्बर प्लेटलाई यातायात व्यवस्था कार्यालयमार्फत कालो बनाएर चलाउनु पर्नेमा आफुखुसी कालो प्लेट बनाएर चलाएको पाइएपछि कारबाही गरिएको उहाँको भनाइ छ ।