• १८ असार २०८१, मङ्गलबार

अतिक्रमित सोह्र हेक्टर जग्गा फिर्ता

blog

चरीकोट समाचारदाता,चरीकोट, असार १६ गते । गाई फार्म सञ्चालनका लागि १५ वर्षअघि दिएको भीमेश्वर नगरपालिका–८ को १६ हेक्टर जग्गा फिर्ता भएको छ । २०६६ माघ १४ गते दक्षिण एसियाकै ठुलो गाई फार्म सञ्चालन गर्ने भन्दै भीमेश्वर नगरपालिका–८ र ९ (तत्कालीन बोच र लाकुरीडाँडा गाविस) का छ वटा सामुदायिक वनसँग कालिञ्चोक गाई फार्म तथा रिसर्च सेन्टरले सम्झौता गरेको थियो ।

डिभिजन वन कार्यालयमा सामुदायिक वन उपभोक्ता समूह र वडा कार्यालयले कारबाही गर्न निवेदन दिएपछि कार्यालयले सम्झौता भए बमोजिम गाई फार्मले कार्य गरेको वा नगरेको विवरण उपलब्ध गराउन वन उपभोक्ता समूहलाई पत्राचार गरेको थियो । उपभोक्ता समूहले वन कार्यालयले माग गरे अनुसार विवरण उपलब्ध गराएपछि वन कार्ययोजना र विधान बमोजिम गाई फार्मले कार्य नगरेको पाइएपछि वन समूहलाई वन कार्यालयले सम्झौता रद्द गर्न र कारबाही गर्न पत्राचार गरेको होे । 

जग्गा सम्झौता गरेर लामो समयसम्म गाई पाल्ने तयारीसमेत नभएपछि डिभिजन वन कार्यालयले वन नियमावली २०७९ को नियम ११९ मा व्यवस्था भए बमोजिम जिल्ला वन क्षेत्र अतिव्रmमण नियन्त्रण समितिले जग्गा फिर्ता लिने निर्णय गरेको होे । फिर्ता लिएको जग्गामा वन कार्यालयले एक हजार पाँच सय बिरुवा रोपेको छ । 

भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धर, प्रमुख जिल्ला अधिकारी टुवाराज पोखरेल दोलखा प्रहरी प्रमुख युवराज खड्का र सशस्त्र प्रहरी प्रमुख द्वारिका केसी डिभिजन वन कार्यालय दोलखाका प्रमुख कृष्णराज न्यौपानेलगायत स्थानीयको सहभागितामा वृक्षरोपण गरिएको थियो । 

भौतिक संरचना निर्माण गरिए पनि हालसम्म गाई फार्म सञ्चालन गरिएको छैन । सामुदायिक वन कब्जा गरेर ठुला परिमाणमा वन फँडानी भएको सोही वडाका वडाध्यक्ष काजीबहादुर बुढाथोकीले बताउनुभयो । वन क्षेत्रमा घाँस रोप्ने र साबिकको वन क्षेत्र नचलाउने सम्झौता भए पनि फार्म सञ्चालकले ठिग्रे सल्लालगायतका रुख फँडानी गरेको वडाध्यक्ष बुढाथोकीले बताउनुभयो । वर्षौंदेखि स्थानीयले प्रयोग गर्दै आएको वनमा उपभोक्तासमेत जान नपाउने अवस्था भएपछि वन फिर्ता लिइएको उहाँको भनाइ छ । वन समूहले सम्झौता अनुसारको अहिलेसम्म भाडासमेत नपाएको गुनासो गरेको छ  ।

कार्ययोजनामै नभएको विषय राखेर स्थानीय सामुदायिक वनले भोगाधिकार दिने सम्झौता गर्नु नै गैरकानुनी भएको डिभिजन वन कार्यालय दोलखाका प्रमुख कृष्णराज न्यौपानेले जानकारी दिनुभयो । सम्झौता खारेजीसँगै डिभिजन वन कार्यालयले वृक्षरोपण गर्न सुरु गरेको उहाँले बताउनुभयो । गाई फार्मले जङ्गलका बिचका निजी जग्गा खरिद गरेर गाईगोठलगायतका संरचना बनाएको छ । नापी कार्यालयसँग समन्वय गरेर वन र निजी जग्गा छुट्याएर वनले आफ्नो क्षेत्र आफैँ संरक्षण गर्ने योजना बनाएको छ । 

फार्मले सामुदायिक वनको १५ हेक्टर जङ्गल वन उपभोक्ता समूहसँग सामान्य सम्झौताका भरमा १५ वर्षदेखि भोगचलन गर्दै आएको छ । फार्मले आलु, च्याउ र विभिन्न तरकारी खेती तथा बाख्रापालन गर्दै आएको छ । डिभिजन वन कार्यालयमा भितेरी पाखा सामुदायिक वन उपभोक्ता समितिका दुई सय बढी उपभोक्ताले वन फँडानीसहित कब्जामा लिएको उजुरी दिएपछि मात्रै फँडानी भएको खुलेको हो । स्थानीयसँगको साझेदारीमा (पिपिपी मोडल) मा फार्म सञ्चालन गर्ने भन्दै तत्कालीन समयमा वनमा घाँस रोप्न र खर्क प्रयोग गर्ने मात्रै सम्झौतामा उल्लेख छ । अनुमानित ५० हजार क्युफिटभन्दा बढी काठ कटान भएको वन कार्यालयको अनुमान छ । 

फार्मका सञ्चालकसमेत रहेका प्रविन खड्काले चीनबाट गाई ल्याएर फार्म चलाउने तयारी गरेकाले झन्झटिलो प्रव्रिmयाले गाई ल्याउन नसकेको बताउनुभयो । गाई फार्ममा २२ करोड रुपियाँ लगानी भइसकेको र तत्काल सञ्चालन गर्न करिब सात करोड रुपियाँ लगानी आवश्यक पर्ने बताउँदै उहाँले फार्म सञ्चालनका लागि अन्तिम तयारीमा लागेको बताउनुभयो । पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन जिल्ला आयोजना संयोजक विनोद थापाले आयोजनाले जिल्लाभित्र फँडानी भएका र क्षयीकरण भएका जग्गामा वृक्षरोपण गर्न सुरु गरेको बताउनुभयो । आयोजनाले वन क्षेत्र क्षयीकरण भएका र पहिरोले वन क्षेत्रमा क्षति पुगेका जग्गामा बिरुवा रोप्ने काम गर्दै आएको छ ।  डिभिजन वन कार्यालय दोलखाका अनुसार बोचको गाई फार्मले गरेको अतिक्रमणबाहेक नै ४४.८४ हेक्टर वनक्षेत्र अतिक्रमण भएको छ । संस्थागत रूपमा ३९.२६ हेक्टर र निजी क्षेत्रबाट ५.५८ हेक्टर अतिक्रमण भएको जनाइएको छ ।