बबई समाचारदाता
बबई (बर्दिया), साउन ६ गते । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभन्दा सामुदायिक वनक्षेत्र र आसपासका बस्तीमा मानव–वन्यजन्तु द्वन्द्वका घटना बढी भएका छन् । जसले गर्दा मानव–वन्यजन्तु द्वन्द्वबाट मृत्यु हुनेको सङ्ख्या बढी भएको पाइएको छ । गत आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्कमा बर्दिया राष्ट्रिय निकुञ्जमा मानव–वन्यजन्तु द्वन्द्वमा तीन जनाको मृत्यु भएको छ भने सामुदायिक वनक्षेत्रमा छ जनाको मृत्यु भएको छ । यो तथ्याङ्कले पनि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभन्दा सामुदायिक वनक्षेत्र र आसपासका क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या बढेको देखिएको हो ।
आव २०८१/८२ मा डिभिजन वन कार्यालयमातहतको सामुदायिक वनक्षेत्रमा गैँडाको आक्रमणबाट एक जना, हात्तीको आक्रमणबाट एक जना र चितुवाको आक्रमणमा चार जनाले ज्यान गुमाएका छन् । मानव–वन्यजन्तु द्वन्द्वका विभिन्न घटनामा परी १३ जना घाइते भएका छन् । डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामकुमार चौधरीले मृतकलाई डिभिजन वन कार्यालयले ६० लाख रुपियाँ क्षतिपूर्ति उपलब्ध गराएको र घाइतेको उपचारमा पाँच लाख ८७ हजार रुपियाँ खर्च भएको बताउनुभयो ।
त्यसै गरी गत आव बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गतको वन वा आसपासका क्षेत्रमा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने एक जनाको बाघको आक्रमणमा परी मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोककुमार रामले तीन जनाको मृत्यु हुँदा छ जना घाइते भएको बताउनुभयो ।
बर्दिया राष्ट्रिय निकुञ्जले मात्र मृतकका आफन्त र घाइतेका लागि उपचार खर्चबापत एक करोड ४९ लाख रुपियाँ खर्च भएको देखिन्छ ।