धनगढी समाचारदाता
धनगढी, साउन ६ गते । जनताको घरदैलोसम्म विकासको जिम्मेवारी बोकेका कैलालीको स्थानीय तह विकास अर्थात् पुँजीगत बजेट खर्च गर्नमा पछाडि देखिएका छन् । चालु बजेट खर्च प्रगति राम्रो गरेका स्थानीय तहले पुँजीगत बजेट भने चालुको तुलनामा कम खर्च गरेका हुन् । पालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रगति विवरण अनुसार प्रायः सबै स्थानीय तहको चालु बजेट खर्च प्रगति बढी र पुँजीगत बजेट खर्च प्रगति कम रहेको छ । पालिकाले बजेट पनि चालुमा बढी र पुँजीगतमा कम विनियोजन गरेका थिए ।
पुँजीगत बजेट एक अर्ब १६ लाख विनियोजन गरेको धनगढी उपमहानगरपालिकाले ६२ करोड ९९ लाख (६२.८९ प्रतिशत) खर्च गरेको छ । यो पालिकाले चालुतर्फ एक अर्ब २१ करोड ६१ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये एक अर्ब एक करोड ६२ लाख खर्च भई वित्तीय प्रगति ८३.५६ प्रतिशत पुगेको छ । कुल दुई अर्ब २१ करोड ७८ लाख बजेट धनगढी उपमहानगरपालिकाको थियो । जसमध्ये एक अर्ब ६४ करोड ६२ लाख (७४.२२ प्रतिशत) खर्च भएको छ ।
२२ करोड ५८ लाख पुँजीगत बजेट विनियोजन गरेको मोहन्याल गाउँपालिकाले १७ करोड ७० लाख (७८.३७ प्रतिशत) खर्च गरेको छ । चालुतर्फ भने ३२ करोड ७५ लाख रुपियाँ विनियोजन गरिएको थियो । जसमध्ये २९ करोड ४३ लाख (८९.८६ प्रतिशत) बजेट खर्च गरिएको छ ।
बर्दगोरिया गाउँपालिकाले पुँजीगत बजेट १३ करोड ९३ लाख (७५.१४ प्रतिशत) खर्च गरेको छ । पुँजीगततर्फ १८ करोड ५३ लाख विनियोजन गरेको यो पालिकाले चालुतर्फ भने ३१ करोड ६९ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । चालु बजेट २९ करोड ४५ लाख (९२.९५ प्र्रतिशत) खर्च गरिएको छ ।
त्यस्तै २१ करोड ७३ लाख पुँजीगततर्फ विनियोजन गरेको गौरीगङ्गा नगरपालिकाले १३ करोड ३८ लाख (६१.६१ प्रतिशत) मात्रै बजेट खर्च गरेको छ । चालुतर्फ भने विनियोजित कुल ५२ करोड ५९ लाखमध्ये ४५ करोड ८८ लाख (८७.२५ प्रतिशत) बजेट खर्च गरिएको छ ।
यसै गरी जोशीपुर गाउँपालिकाले १८ करोड ४५ लाख पुँजीगत बजेटमध्ये १३ करोड चार लाख (७०.६७ प्रतिशत) खर्च गरेको छ । यो पालिकाले चालु बजेट भने २९ करोड ६८ लाख (८६.२२ प्रतिशत) खर्च गरेको छ । चालुतर्फ कुल ३४ करोड ४२ लाख रुपियाँ बजेट विनियोजन भएको लेखा अधिकृत दिपेश तिमिल्सिनाले जानकारी दिनुभयो । टीकापुर नगरपालिकाले पुँजीगततर्फ ४२ करोड ४६ लाख विनियोजन गरेकामा ५७.८५ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । चालुतर्फ भने कुल ६१ करोड चार लाखमध्ये ८६.०६ प्रतिशत रुपियाँ बजेट खर्च गरिएको छ ।
लम्कीचुहा नगरपालिकाले चालुतर्फ ७२ करोड दुई लाख रुपियाँ विनियोजन गरेकामा ८४.४३ प्रतिशत र पुँजीगततर्फ ३९ करोड ६२ लाख विनियोजन गरेकामा ७७.६४ प्रतिशत बजेट खर्च गरेको छ । गोदावरी नगरपालिकाले चालुतर्फ ७८ करोड ९१ लाख रुपियाँ विनियोजन गरेको थियो ।
जसमध्ये ८५.९८ प्रतिशत बजेट खर्च गरेको छ । गोदावरीले पुँजीगततर्फ ४४ करोड ७० लाख विनियोजन गरेको थियो, जसमध्ये ७७.३ प्रतिशत खर्च गरेको जनाइएको छ । भजनी नगरपालिकाले चालुतर्फ ४९ करोड २८ लाख रुपियाँ बजेट विनियोजन गरेकामा ८६.५६ प्रतिशत खर्च गरेको छ । पुँजीगततर्फ भने २२ करोड २७ लाख रुपियाँ मात्रै बजेट रहेको थियो । जसमध्ये ७१.५१ प्रतिशत बजेट खर्च भएको लेखापाल रवीन्द्र देउवाले जानकारी दिनुभयो ।
यसै गरी जानकी गाउँपालिकाले चालुतर्फ विनियोजित ४२ करोड चार लाखमध्ये ९२.५२ प्रतिशत बजेट खर्च गरेको छ । पुँजीगततर्फ १९ करोड ४१ लाख रुपियाँ बजेट छुट्याइएको थियो । जसमध्ये ७४.७८ प्रतिशत खर्च गरिएको छ । गाउँपालिकाको कार्यालयले गत वर्षको तुलनामा बजेट खर्च प्रगतिमा सुधार गरेको प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले बताउनुभयो ।