• १८ असार २०८१, मङ्गलबार

आत्मनिर्भर बन्न धान दिवसको महत्त्व

blog

काठमाडौँ, असार १६ गते । सरकारले यो वर्ष ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नारासहित २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयलगायत कृषिसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाहरूले शनिबार देशैभर धुमधामका साथ सो दिवस मनाएको हो । 

धानको उत्पादनमा वृद्धि गरी परनिरर्भरता हटाउने उद्देश्यले नेपालमा २०६१ सालदेखि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरेको हो । यो दिवसमा धान रोपाइँसँगै दही चिउरा खाने चलन छ । त्यसैले यसलाई दही चिउरा खाने दिनका रूपमा पनि मनाइन्छ । नेपालका लागि धान मुख्य बाली हो । यसको उत्पादनमा सरकारले विशेष ध्यान दिएको छ तैपनि आत्मनिर्भर हुन सकेको छैन । 

खाद्यका लागि कृषि अभियान, कालीदेवी उच्च मावि काभ्रेस्थली र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्ट (अनाज) ले शनिबार तारकेश्वरको काभ्रेस्थलीमा आयोजना गरेको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा आफ्नो धारणा राख्नु हुँदै अभियानका संयोजक उद्धव अधिकारीले करिब २० वर्षदेखि सरकारले यो धान दिवस मनाउँदै आएको हो तर उत्पादनको अवस्था जस्ताको त्यस्तै रहेको टिप्पणी गर्नुभयो । धान उत्पादनमा सरकार तथा निजी क्षेत्रले जति मेहनत गरे पनि अझै परनिर्भरताको अवस्था रहेको बताउँदै उहाँले सरकारले धानको समर्थन मूल्य तोके पनि त्यो मूल्य नपाएको गुनासो गर्नुभयो । 

आत्मनिर्भर हुनका लागि सरकारले विभिन्न उन्नत जातका धान तथा चैते धानको उत्पादनमा जोड दिएको बताउँदै उहाँले उत्पादन भएकै धानलाई व्यवस्थित गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । किसानले उत्पादन गरेको धानलाई व्यवस्थित ढङ्गले बजारसम्म पु¥याउन सकेको छैन, बरु विदेशी धानमा जोड दिएको उहाँको आरोप थियो ।

नेपालीसँग पाँच सय जातका रैथाने धान लोप हुने अवस्थामा पुगेको बताउँदै उहाँले ती रैथाने जातलाई जोगाउने  बताउनुभयो । 

अनाजका अध्यक्ष किरण आचार्यले अर्थतन्त्र र संस्कारसँग जोडिएको धानको निकै महत्व रहेको बताउनुभयो । धानसँग खाद्य स्वच्छता तथा सुरक्षाको पनि कुरा जोडिएको हुनाले यस्ता दिवस तथा महोत्सवमा ती कुरामा पनि ध्यान दिनुपर्ने बताउनुभयो । धान दिवसले धान उत्पादनमा कति योगदान दिन्छ थाहा छैन तर धानप्रति चेतना र यसको महìवका बारेमा अवश्य सबैले थाहा पाउने विश्वास व्यक्त गर्दै उहाँले सुरुमा धान दिवसलाई त्यति महìव नदिए पनि यो एउटा ठुलो महत्वका रूपमा मनाउन थालिएको बताउनुभयो । 

धान दिवसमा दही चिउरा खाने भएकाले एक दिन मात्र एक अर्ब रुपियाँभन्दा बढीको दही बिक्री हुन्छ । त्यही हाराहारीमा चिउरा पनि बिक्री हुने गरेको बताउँदै उहाँले सरकारले पनि धान दिवसलाई महìव दिन थालेको छ । यसपालि सरकारले धान दिवसको मुख्य कार्यव्रmम चितवनमा मनाएको छ, जसको प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुनुहुन्थ्यो । राष्ट्रपति रामचन्द्र पौडेललगायत विभिन्न दलका शीर्ष नेता तथा कलाकारले पनि धान रोपेर, दही चिउरा खाएर यो दिवस मनाउनुभएको छ, त्यसैले पनि यसको महìव दिनदिनै बढ्दै गएको उहाँले बताउनुभयो । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार असार ११ गतेसम्म देशभर ९.८ प्रतिशत रोपाइँ मात्र भएको छ । जिल्लाबाट प्राप्त तथ्याङ्क अनुसार यस पटक वर्षा कम भएको कारण रोपाइँमा ढिलाई भएको देखिएको छ । 

बाँकेमा दुई प्रतिशत मात्र रोपाइँ 

नेपालगन्ज समाचारदाताका अनुसार बाँकेका अधिकांश खेत खडेरीलो सुक्खा हुँदा जिल्लाका किसान चिन्तामा छन् । खडेरीकै कारण जिल्लामा हालसम्म दुई प्रतिशत मात्र रोपाइँ हुन सकेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । केन्द्र बाँकेका प्रमुख सकिल अहमद खाँले यस वर्ष असार १५ सम्ममा पनि जिल्लामा पानी नपरेकाले अधिकांश किसानले बिउसमेत राख्न नपाएकाले दुई प्रतिशत मात्र रोपाइँ भएको जानकारी दिनुभयो । 

उहाँले गत वर्ष यतिबेलासम्म ४५ प्रतिशत रोपाइँ भइसकेको थियो । अझै पनि वर्षा हुने हो भने ढिलै भए पनि जिल्लामा शतप्रतिशत रोपाइँ हुने र उत्पादनसमेत राम्रो हुने अपेक्षा खाँको छ । बाँके डुडुवा–६ का किसान रतिराम कुम्हारले खडेरीका कारण राखेको बिउ पनि गरामै धाँजा फाटेर सुकेको बताउनुभयो । 

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख खाँले यो वर्ष साबिकको वर्षमा भन्दा बढी जमिनमा धान खेती हुने र उत्पादन पनि वृद्धि हुने अपेक्षा गरिएकोमा खडेरीले उत्पादन निकै कम हुने हो कि भन्ने चिन्ता बढाएको बताउनुभयो । 

लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले बाँकेमा सिँचाइको अभावका कारण किसान मर्कामा परेको बताउँदै सिक्टा सिँचाइ आयोजनाको निर्माण समयमा पूरा नहुँदा खडेरीबाट किसान पीडित भएको बताउनुभयो । बाँकेमा धान रोपाइँ हुने कुल ३६ हजार पाँच सय हेक्टर खेतीयोग्य जमिन छ ।  

काभ्रेमा ३४ प्रतिशत मात्रै  

बनेपा समाचारदाताका अनुसार कृषि विकास कार्यालयका अनुसार हालसम्म काभ्रेपलाञ्चोक जिल्लामा ३४ प्रतिशत खेतमा मात्रै धान रोपाइँ भएको छ । कार्यालय प्रमुख कुलप्रसाद दवाडीका अनुसार जिल्लामा ११ हजार हेक्टर जमिनमा धान खेती हुने गरेको र त्यसमध्ये करिब १० हजार हेक्टरमा बर्खे धान खेती गरिएको छ । बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री डा. राजेन्द्रमान श्रेष्ठले प्रदेश सरकारले किसानलाई यान्त्रिकीकरणतर्फ आकर्षित गर्न, उत्पादन लागत घटाउनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाइबाले नगरपालिकामा नयाँ प्रविधिबाट धान रोप्ने काम नयाँ भएको बताउनुभयो । उहाँले धान रोप्न प्रयोग गरिएको मेसिनले किसानको उत्पादन लागत र श्रममा हुने खर्चसमेत घटाउने बताउनुभयो । उहाँले नगरपालिकाले किसानलाई यान्त्रिकीकरणतर्फ आकर्षित गर्नका लागि नयाँ नयाँ प्रविधिका कार्यक्रम अघि बढाउने बताउनुभयो ।

म्याग्दीमा पनि ढिला रोपाइँ

म्याग्दी समाचारदाताका अनुसार हमाली जिल्ला म्याग्दीमा अहिलेसम्म २० प्रतिशतभन्दा धेरै रोपाइँ हुन सकेको छैन । मङ्गला गाउँपालिका–३, बरञ्जा र बेनी नगरपालिका–४ को अर्जेखोला क्षेत्रमा जेठबाटै रोपाइँ थालिएको भए पनि जिल्लाको समग्र धान रोपाइँ हुने क्षेत्र हेर्दा अहिलेसम्म २० प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

आकाशे पानीको भरमा रोपाइँ हुने म्याग्दीका हरेक क्षेत्रका लागि समयमै पर्याप्त पानी नपर्दा रोपाइँ प्रभावित बनेको हो । म्याग्दीमै सबैभन्दा पहिला रोपाइँ हुने अर्जेखोला क्षेत्रमा जेठबाटै रोपाइँ सुरु गरे तर सिँचाइको पर्याप्त स्रोत नभएका कारण आकाशको पानीकै भर पर्नुपर्ने भएकाले रोपाइँ पर्याप्त हुन नसकेको केन्द्र प्रमुख सञ्जीव बाँस्तोलाको भनाइ छ ।

जिल्लाभित्र सिँचाइ सुविधा भएका क्षेत्रमा धान रोपाइँ सकिए पनि आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने कृषकले अहिलेसम्म पनि पानीको मूल नफुट्दा रोपाइँ गर्न नपाएका हुन् ।  

जिल्लामा करिब एक हजार आठ सय हेक्टर जमिनमा मात्रै सिँचाइको पहुँच पुगेको छ । म्याग्दीमा कुल ३० हजार ८५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये १९ हजार ४१९ हेक्टरको जमिनमा मात्रै खेती हुँदै आइरहेको छ । खेतीयोग्य जमिनमध्ये १३ हजार ३५४ हेक्टर जमिन बाँझो रहेको छ । खेती गरिएको मध्ये जिल्लामा तीन हजार ८९० हेक्टरको जमिनमा धान खेती हुने कृषि ज्ञान केन्द्रका प्रमुख बाँस्तोलाको भनाइ छ ।

रुपन्देहीमा २५ प्रतिशत रोपाइँ

बुटवल समाचारदाताका अनुसार रुपन्देहीमा अहिलेसम्म २५ प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको छ । केही दिनअघि मात्रै वर्षा भएपछि रुपन्देहीका विभिन्न ठाउँमा रोपाइँ सुरु भएको छ । कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रमुख शिवप्रसाद अर्यालले जिल्लाका विभिन्न पालिकाबाट आएको विवरण अनुसार २५ प्रतिशत खेतमा रोपाइँ भएको जानकारी दिनुभयो । 

रुपन्देहीमा रहेको कुल ८५ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ६५ प्रतिशत खेतमा मात्रै धान खेती हुने गरेको छ । जिल्लाको सैनामैना, बुटवल, देवदह, रोहिणी, सियारी, गैडहवा र शुद्धोधन गाउँपालिकामा धेरै खेतमा रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार मर्चबारी र लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रमा रोपाइँ केही कम भएको छ । 

गुल्मीमा १५ प्रतिशत मात्रै धान रोपाइँ

तम्घास समाचारदाताका अनुसार गुल्मीमा असार १५ सम्म १५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । समयमै पानी नपरेका कारण धान रोपाइँमा कमी आएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । यस वर्ष गुल्मीमा सात हजार नौ सय हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान छ । जिल्लामा हालसम्म करिब ११ हजार ७२० हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा पुगेको छ । 

जिल्लामा ८५ हजार ६७० हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन छ । जसमध्ये ३४ हजार ३९५ हेक्टर जमिन सिँचाइयोग्य रहेको कार्यालयले जनाएको छ । खेतीयोग्य जमिन पछिल्लो समयमा बाँझिँदै गएको छ । युवाको विदेश पलायन, गाउँमा वृद्धवृद्धा मात्रै रहनु र बढ्दो बसाइँसराइका कारण पनि जमिन बाँझिँदै गएको ज्ञान केन्द्रका प्रमुख भण्डारीे बताउनुभयो । 

जिल्लामा उन्नत जातका खुमल–४, खुमल–६, खुमल–१०, मकवानपुर–१, रामधान, लोकतान्त्रिक, हिमाली धान लगाइन्छ । स्थानीय जातका हंशराज, मानोमुरी, हावा, मार्सी, लामी, जडन, जुवा, अनदी, काठे मार्सी जातको धान कृषकले लगाउँदै आएका छन् । त्यस्तै हाइब्रिड अन्तर्गत युएस–३१२ र शङ्कर जातको धान लगाउँदै आएका छन् ।