हुम्ला समाचारदाता
हुम्ला, साउन ६ गते । उत्तरी हुम्लाका उच्च पाटनमा स्थानीयले पशुपालन र होटेल व्यवसाय सँगसँगै गर्दै आएका छन् । पर्यटकीय सिजन सुरु भएकाले लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्नका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने भएका कारण खर्कालुले पशुपालनका साथै होटेल व्यवसाय गरेका हुन् ।
नाम्खा गाउँपालिका–२ को नावालथाङमा पशुपालन र होटेल सञ्चालन गर्दै आएकी च्यामा लामाले यस वर्षबाट खर्कमा होटेल व्यवसाय पनि सुरु गरेको बताउनुभयो । होटेलका साथै उहाँले किराना पसल पनि सञ्चालन गर्नुभएको छ । लाप्चा जाने पर्यटकको आग्रहमा आफूले होटेल सञ्चालन गरेको बताउँदै उहाँले ठाउँ र भूगोल अनुसार आम्दानी पनि राम्रै भइरहेको बताउनुभयो । पशुपालन गरेर आम्दानी नहुने बताउँदै उहाँले होटेल सञ्चालन गरेपछि ‘एक काम दुई पन्थ’ भएको उल्लेख गर्नुभयो ।
लाप्चा र लिमी जाने आन्तरिक तथा बाह्य पर्यटक खाना, खाजा खानका लागि उपयुक्त स्थान नभएकाले आउने जति सबै त्रिपालमा सञ्चालन गरिएका होटेलमा बस्ने गर्दछन् ।
यस्तो उजाड स्थानमा पनि दैनिक १५ देखि २० जना पर्यटक आउने र आफ्नो होटेलबाट दैनिक आठदेखि १० हजार रुपियाँ कमाइ भइरहेको जानकारी उहाँले दिनुभयो । खर्कमा सञ्चालन गरिएका होटेलबाट दुध, दही, मही, छुर्पी र घिउ पनि बिक्री हुने गरेको छ ।
नावालथाङमा मात्र यस्ता पाँच वटा त्रिपाल हालेर होटेल सञ्चालन गरिएका छन् । उक्त स्थानभन्दा चार किलोमिटरमाथि छुसामा खर्कसँगै होटेल सञ्चालन गर्दै आएकी पेमाबुटी लामाले पनि आम्दानीबाट सन्तुष्ट रहेको बताउनुभयो । पशु चराउने खर्कमा बस्ने काम विगतमा हुँदै आएकामा यस वर्षदेखि होटेल पनि सञ्चालन गर्दा अतिरिक्त आम्दानी पनि हुने थालेको उहाँको भनाइ छ ।
सो स्थानमा उहाँको मात्र होटेल रहेको छ । लगानी पनि धेरै गर्नु नपर्ने तर आम्दानी भने भइरहने यो मौसमी व्यापारबाट फाइदा लिन सकिने उहाँले बताउनुभयो । यसअघि यी स्थानमा खर्क हुने गर्थे । यहाँ यसरी होटेल सञ्चालन गर्नुको कारण भने नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्ने कार्यले नै भएको हो ।