• १३ साउन २०८१, आइतबार

सडक विस्तारमा सेना : एक हजार चार सय किमी सडक र ३५ बेलीब्रिज हस्तान्तरण

blog

नेपाली सेनाले निर्माण गर्दै गरेको दार्चुला–तिङ्कर सडक आयोजना । तस्बिरः सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय

 मित्र भण्डारी 
काठमाडौँ, वैशाख १६ गते।
नेपाली सेनाले एक हजार ४१२ किलोमिटर सडक तथा ३५ वटा बेलीब्रिजको निर्माण सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरेको छ।  नेपाल सरकारको प्राथमिकतामा परेका राष्ट्रिय गौरवका सडक आयोजना अन्तर्गत २०६ किलोमिटर सडक निर्माणको चरणमा रहेको सेनाले जनाएको छ। 

भौगोलिक विकटताका कारण सडक विस्तार हुन नसकेको तथा मौसमी प्रतिकुलता र कडा चट्टानयुक्त क्षेत्रको सडक विस्तारको काम सेनाले गर्दै आएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार काठमाडौं तराई/मधेस/द्रुतमार्ग सडक आयोजना (फास्ट ट्रयाक) तथा अन्य तीनवटा राष्ट्रिय गौरवका आयोजना निर्माणको जिम्मा सेनाले लिएको छ। 

 जसअनुसार उत्तर/दक्षिण करिडोर सडक आयोजनाअन्तर्गत चीनको सिमाना जोड्ने राष्ट्रिय प्राथमिकताका दुई वटा परियोजना निर्माणको जिम्मासमेत सेनाले पाएको छ।

राष्ट्रिय गौरवका सडक आयोजनामध्ये, कोशी करिडोरअन्तर्गत खाँदवारी-किमाथाङ्का सडकमा पर्ने च्याम्ताङ्ग/घोघङ्पा सडकखण्डको करिब १०.५ किमी चट्टानयुक्त भू-भागको सडक, कर्णाली करिडोर सडकअन्तर्गत खुलालु-लैफु-सलिसल्ला सडकखण्डको एक सय २२.७५ किमी सडक निर्माण सम्पन्न भइसकेको छ।

  त्यस्तै कालिकोटस्थित घाटपारी-भुक्काखोला र हुम्लाको लालिबगर–दुल्लीकुना खण्डको करिब २४.५ किमी कडा चट्टानयुक्त भू-भागको सडक विस्तार जिम्मा सरकारले सेनालाई दिएको छ। 

कालिगण्डकी करिडोर अन्तर्गतको सडक सेनाले निर्माण पुरा गरेर गत माघमा सडक विभागलाई हस्तान्तरण गरेको थियो। सरकारले पहिलो प्राथमिकतामा राखेको बेनीघाट–आरुघाट–लार्केभन्ज्याङ्ग सडक खण्डको करिब ९२ किमी र  दार्चुला-टिङ्कर सडकखण्डको करिब ७९ किमी सडक निर्माणाधीन अवस्थामा रहेको सेनाले जनाएको छ। 

सडक विस्तारको प्रगति

राष्ट्रिय गौरवका आयोजना मध्ये चालु आर्थिक वर्ष २०७८/८९ मा च्याम्ताङ्ग-घोघङ्पा सडक खण्ड अन्तर्गत २.५ किमि सडक निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको र करिब दुई किमी सडकको ट्रयाक खोलिएको छ। 

कर्णाली करिडोर सडक खण्ड अन्तर्गत घाटपारी-भुक्काखोला र लालिबगर–दुल्लीकुना खण्डको तीन किमी ट्रयाक खोल्ने लक्ष्य रहेकोमा हालसम्म डेढ किमी  ट्रयाक खुलेको सेनाले जनाएको छ।

त्यस्तै बेनिघाट-आरुघाट-लार्केभन्ज्याङ्ग सडक खण्ड अन्तर्गत हालसम्म ३१.५ किमी सडक ट्रयाक तयार भएको र १७ किमी सडक निर्माण सम्पन्न भएर   सार्वजनिक यातायात सञ्चालन भइसकेका छन्।

उक्त सडक अन्तर्गत यस वर्ष थप डेढ किमी सडकको ट्रयाक तयार गर्ने लक्ष्य  रहेको सेनाले जनाएको छ। सेनाले निर्माण सुरु गरेको दार्चुला-टिङ्कर सडकखण्ड यसवर्ष सात किमी ट्रयाक खोल्ने सेनाले जनाएको छ।


सडक विस्तारका चुनौती 

नेपाली सेनाद्वारा निर्माणाधीन सडक आयोजना भौगोलिक विकटता, मौसमी प्रतिकूलता र कडा चट्टानयुक्त भू-बनोट भएको स्थानमा रहेका छन्। साथै, निर्माण प्रारम्भ गर्नुपर्ने कतिपय स्थान जिल्ला सदरमुकामबाट अति नै टाढा र पहुँचमार्ग जीर्ण रहेको हुनाले आवश्यक निर्माण सामग्री तथा निर्माण उपकरण एस्काभेटर मेसिन, कम्प्रेसर मेसिन लगायतका सामग्री  हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने अवस्था छ।

 भौगोलिक रुपमा विकट स्थान र प्रतिकूल मौसम रहेका क्षेत्रमा खटिएर काम गर्ने सेनालाई विगतमा उपलब्ध गराउँदै आइरहेको जोखिम भत्ता रोकिएको छ। नेपाली सेनाले संघीय संसद् विकास तथा प्रविधि समितिमा रोकिएको जोखिमभत्ता उपलब्ध गराउन पत्राचार गरेको छ।

भौगोलिक रुपमा कठिन तथा चट्टानयुक्त भौगोलिक भू-बनोट तथा प्रतिकुल मौसमका कारण निर्माण व्यवसायीले सम्पन्न गर्न नसकेका सडक आयोजना सरकारले निर्माणको जिम्मेवारी सेनालाई दिने गरेको छ।