• १३ असोज २०८१, आइतबार

जाजरकोट–जुम्ला सुरुङमार्ग अध्ययन

blog

फाइल तस्बिर ।

रजनीकुमारी योगी 

सुर्खेत, असार १३ गते । जाजरकोटदेखि जुम्ला जोड्ने सुरुङमार्गको प्रिफिजिबिलिटी (पूर्वसम्भाव्यता) अध्ययनको काम सकिएको छ । करिब एक वर्ष लगाएर आयोजनाको ‘प्रिफिजिबिलिटी’ अध्ययनको काम सकिएको सडक विभागले जनाएको छ । २०८० साल जेठमा सुरुङमार्ग निर्माणका लागि प्रिफिजिबिलिटी अध्ययनको काम सुरु गरिएको हो । २०७८ सालमा सुरुङमार्ग निर्माण गर्ने योजना अघि सारिएको थियो । सडक डिभिजन कार्यालय चौरजहारी रुकुमपश्चिमले त्यसका लागि स्थानसमेत उपयुक्त रहेको भन्दै रिपोर्ट तयार गरेको थियो । 

विभागले २०८० जेठमा इटिको–टिएमएस–रेज जेभीसँग सुरुङमार्गको प्रिफिजिबिलिटी अध्ययन सम्झौता गरेको हो । पाँच महिनामा अध्ययन सम्पन्न गर्ने गरी सम्झौता भएको विभागले जनाएको छ । तर एक वर्षमा मात्र अध्ययनको काम सकिएको छ । भौगोलिक विकटता, जाजरकोट भूकम्प र अविरल वर्षाका कारण सुरुङमार्ग अध्ययनको काममा ढिलाइ भएको जनाइएको छ । प्रिफिजिबिलिटी अध्ययनको काम सकेर फाइल सडक विभागमा पेस गरिएको टिएमएस रेज जेभीका प्रमुख राजीव झाले बताउनुभयो । 

उहाँका अनुसार अविरल वर्षा र जाजरकोट भूकम्पका कारण स्थलगत अवलोकन गरेर काम गर्न समस्या भएको थियो । उहाँका अनुसार प्राविधिक टोलीले सुरुङमार्गका लागि टनेल निर्माण, माटोको परीक्षणलगायत अनुमान अध्ययन गरेको हो । प्रिफिजिबिलिटीको अध्ययन प्रतिवेदन बुझाएसँगै विस्तृत अध्ययनको काम सुरु हुने भएको छ ।

विस्तृत सम्भाव्यता अध्ययन

सुरुङमार्गको प्रिफिजिबिलिटी अध्ययनले सुरुङमार्ग निर्माणका लागि स्थान उपयुक्त रहेको जनाएको छ । सडक विभागले अब विस्तृत सम्भाव्यता अध्ययनको काम अघि बढाउने छ । प्राविधिक टोलीले फिल्डमै गएर सुरुङ निर्माण गर्ने क्षेत्रको अध्ययन गरेर प्रतिवेदन पेस गरिएको हो । सुरुङमार्ग निर्माणका लागि स्थान उपयुक्त रहेको प्रिफिजिबिलिटी अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । 

सोही रिपोर्टका आधारमा विस्तृत सम्भाव्यता अध्ययन गरिने सडक विभागले जनाएको छ । इटिको–टिएमएस–रेज जेभीले विभागमा प्रतिवेदन पेस गरेको र सोहीबमोजिम विस्तृत अध्ययनको काम अघि बढाइने सडक विभागका इन्जिनियर दीपक एकामीले बताउनुभयो । उहाँका अनुसार सामान्य अध्ययनको काम सकिएको छ भने विस्तृत अध्ययनको काम अब सुरु हुने छ । प्रिफिजिबिलिटी अध्ययन अनुसार अन्य काम अघि बढाइने विभागले जनाएको छ ।

लागत करिब ३५ अर्ब 

जाजरकोट साङ्टाबाट जुम्लाको इमिल्चाघारीसम्मको लम्बाइ करिब १० किलोमिटर छ । पर्यटन प्रवर्धन गर्ने उद्देश्यले सुरुङमार्ग निर्माणको काम थालिएको हो । सो अध्ययन अनुसार करिब ३५ अर्ब लागत अनुमान छ । स्रोत जुटाएर अध्ययनको काम थालिने सडक विभागले जनाएको छ । प्रस्तावित सुरुङमार्गले जाजरकोटको कुसे गाउँपालिका–८, साङ्टादेखि जुम्लाको तातोपानी गाउँपालिका–८, इमिल्चाघारी जोड्ने छ । सुरुङमार्ग निर्माण भएमा लुम्बिनी, दाङ, सल्यान, जाजरकोट, जुम्ला हुँदै रारा जोड्ने छोटो सर्किट हुने छ । 

गौरवको आयोजनाका रूपमा सुरुङमार्ग निर्माण योजना अघि सारिएको बताइन्छ । दुरी र व्यापारका हिसाबले सुरुङमार्ग नै उपयुक्त विकल्पका रूपमा लिइएको छ । कर्णाली प्रदेशको पर्यटन प्रवर्धनका लागि उक्त सुरुङमार्ग निर्माण गर्न लागिएको हो । 

सुरुङमार्ग निर्माणसँगै कर्णालीको व्यापारमा वृद्धि हुने अपेक्षा राखिएको पूर्वसांसद तथा नेकपा (माओवादी केन्द्र) का नेता नरेश भण्डारी बताउनुहुन्छ । सुरुङमार्ग निर्माणमा प्रदेश तथा स्थानीय सरकारले समेत सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।