• १२ असोज २०८१, शनिबार

फरक भूगोल उस्तै पीडा : मुस्कान र नतालिया

blog

काठमाडौँ, असार ७ गते । सन् २०२० मा एसिड आक्रमणमा परेकी नेपालकी १८ वर्षीया मुस्कान खातुन आफू जस्तै किशोरीलाई त्यस्ता हिंसाको मारबाट बचाउन अग्रसर हुनुहुन्छ । यस कार्यमा उहाँलाई साथ दिन सन् २०१४ मा एसिड आक्रमणमा पर्नुभएकी कोलम्बियाकी ४३ वर्षीया नतालिया पोन्से डे लियोनले काठमाडौँसम्म आएर हौसला बढाउने काम गर्नुभएको छ । 

फरक भूगोल र देश तर दुई जनाको पीडा उस्तै छ । आफूजस्तो पीडा अरूले भोग्न नपरोस् भन्ने सन्देश दिन मुस्कानसँगै नतालियाले विश्वभर हुने एसिड आक्रमणविरुद्ध अभियान सञ्चालन गर्न अग्रसर हुने प्रतिबद्धता जनाउनुभयो । 

एसिडका कारण मुस्कानको अनुहारको आधा र शरीरका ५५ प्रतिशत भाग जलेर बिरूप भएको छ । यस्तै नतालियाको पूरै अनुहार र शरीरका अन्य भाग जलेको छ । यसअघि कहिल्यै देखभेट नभए पनि दुई यसरी अँगालिए कि हेर्नेको आँखा रसाए । निकैबेर अँगालोमा रहेर उनीहरूले एक–अर्काको पीडा र साहस महसुस गरे । 

भेटपछि नतालियाले भन्नुभयो, “मुस्कान उमेरले धेरै सानी छन् तर निकै बलियो मानसिकता छ उनीसँग ।” मुस्कानलाई कोलम्बिया लगेर त्यहाँका एसिड प्रभावितलाई मनोबल बढाउने इच्छा पनि नतालियाले जाहेर गर्नुभयो ।  

मुस्कानले भन्नुभयो, “मैले उहाँलाई पाँच महिना अघिदेखि फलो गरिरहेकी थिएँ । आज म बस्ने ठाउँमै आइपुग्नुभएको देखेर छक्कै परेँ ।” एक–अर्काको खबर बुझेपछि दुवै जनाले फोटो खिच्नुभयो । नतालियाले मुस्कानकै कोठा र आसपासमा धेरै फोटो र भिडियो बनाउनुभयो । दुई जनालाई नेपालमा भेट गराउने मेसो भने नेपालस्थित अमेरिकी दूतावास तथा रिसर्च इन्टरनेसनलले मिलाएको थियो । 

नतालियालाई सन् २०१४ मार्च २७ मा पछ्याउँदै घरसम्म आइपुगेको एक पुरुषले घरभित्रै एसिड प्रहार गरेका थिए । नतालिया विगत सम्झनुहुन्छ, “मैले चिनेकी थिइनँ । ऊ मेरो केटा साथी पनि होइन तर मलाई एसिड छ्यापेर भाग्यो ।” 

शरीरको ३७ प्रतिशत भाग जलेकाले उहाँले दुई महिना अस्पतालको आइसियूमा बस्नुप¥यो । अनुहार, छाती र हातलाई पुरानै ढाँचामा फर्काउन उहाँको ४६ वटा शल्यक्रिया भइसकेका छन् । उहाँले नयाँ जीवनलाई आफूजस्तै पीडामा परेकाको उद्धार र न्यायका लागि समर्पित गर्नुभयो । 

नेपालकी मुस्कान खातुन पनि १५ वर्षको उमेर विद्यालय जाँदै गर्दा एसिड आक्रमणमा पर्नुभएको थियो । कुनै युवकको प्रेम प्रस्ताव अस्वीकार गरेकै कारण उहाँमाथि एसिड आक्रमण भएको थियो । 

उहाँले तीन महिना कीर्तिपुरको बर्न वार्डमा बिताउनुभयो । जलेका अङ्गको अहिलेसम्म १५ पटक शल्यक्रिया भइसकेको छ । अझै चिकित्सकले धेरै शल्यक्रिया गर्नुपर्ने सुझाएका छन् । 

उहाँले भन्नुभयो, “पीडा परेपछि थाहा हुँदोरहेछ । मैले अस्पतालकै बेडबाट कडा कानुन ल्याउनुपर्ने आवाज उठाएकी थिएँ ।” उहाँलाई जसले एसिड हान्यो, उसलाई फाँसीको सजाय नभए पनि कम्तीमा आजन्म काराबास हुनुपर्ने आवाज उहाँले बुलन्द पार्नुभयो । 

दुवै जनाले एसिड प्रभावितका पक्षमा कानुन र सामाजिक दृष्टिकोणमा परिवर्तनका लागि जोड दिँदै आउनुभएको छ । महिलामाथि भएका जघन्य हिंसा र एसिड आक्रमण पीडितको अधिकारको वकालत गर्ने उहाँहरूको योगदानको कदर गर्दै नतालियाले २०१७ मा युएस सेक्रेटरी अफ स्टेटको इन्टरनेसनल वुमन अफ करेज अवार्ड प्राप्त गर्नुभयो । मुस्कानले सन् २०२१ मा सोही अवार्ड प्राप्त गर्नुभएको हो ।