• १६ चैत २०८०, शुक्रबार

बाँकेका चार पालिकामा आफ्नो अनुकूलका गठबन्धन

blog

बाँकेको खजुरामा गरिएको काँग्रेस माओवादी गठबन्धनका उम्मेदवार । तस्विर - सिराज खान । नेपालगञ्ज

नेपालगञ्ज, वैशाख १५ गते । केन्द्रमा सत्ता साझेदार दलहरुले पाँच दलबीच गठबन्धन गरेर निर्वाचनमा जाने सहमति गरे अनुरुप दलहरुले आफ्नो अनुकूल गठबन्धन बनाएका छन् । सो अनुसार २०७४ सालको निर्वाचनमा कुनै पनि पालिका प्रमुख जित्न नसकेको नेकपा माओवादी केन्द्रले यस पटक जिल्लाका चारवटा पालिकामा एक–एकवटामा काँग्रेस र जनता समाजवादी पार्टीसँग र दुईमा नेकपा एससँग गठबन्धन गरेको छ । 

माओवादी केन्द्रले गत निर्वाचनमा एमालेले जितेको खजुरा गाउँपालिकामा नेपाली काँग्रेससँग गठबन्धन गरेर अध्यक्षमा माओवादी केन्द्र बाँकेका संयोजक डम्बर विक र उपाध्यक्षमा नेपाली काँग्रेसका मन्जु मल्ललाई उम्मेदवार बनाएको छ । 

यसैगरी, गत निर्वाचनमा एमालेले जितेको कोहलपुर नगरपालिकामा माओवादीले नेकपा एससँग गठबन्धन गरेर प्रमुखमा नेकपाका पूर्व विद्यार्थी नेता नरेन्द्र न्यौपाने र उपप्रमुखमा नेकपा एसका नारायणी वलीलाई उम्मेदवार बनाएको छ । सो गठबन्धनका कारण कोहलपुरमा निर्वाचनको माहोल तात्दै गएको छ । 

सोही प्रकारले गत निर्वाचनमा एमालेले जितेको जानकी गाउँपालिकामा पनि माओवादीले जसपासँग गठबन्धन गरेर जसपाबाट अध्यक्षमा राजीव बर्मा र उपाध्यक्षमा माओवादीका रक्षाराम बर्मालाई उम्मेदवार बनाएको छ । सो पालिकामा २–२ वडामा गठबन्धन र २ वडामा मित्रवत् प्रतिस्पर्धा गरिने निर्णय गरिएको छ । 

यस्तै,  बैजनाथ गाउँपालिकामा पनि माओवादी र नेकपा एसबीच गठबन्धन गरेर उम्मेदवार उतारिएको माओवादी केन्द्र बाँकेले जनाएको छ ।  

जिल्लाका आठ पालिकामध्ये माओवादी केन्द्रले एमालेले जितेका चार पालिकामा गठबन्धन गरेर निर्वाचनमा होमिएकाले ती सबै पालिकामा जित्ने सम्भावना अत्यधिक बढेको नेकपा माओवादी केन्द्र बाँकेका निवर्तमान अध्यक्ष आइपी खरेलले बताउनुभयो । 

उहाँले माओवादी केन्द्रले बाँकेमा गरेको गठबन्धन सत्तासाझेदार गठबन्धन दलबीच केन्द्रमा गरिएको गठबन्धनको उद्देश्यसँग मेल खाएको बताउनुभयो । 

जिल्लाका अन्य पालिकामध्ये नरैनापुर, राप्तीसोनारी र डुडुवा गाउँपालिकामा भने सबै दलले आ–आफ्ना उम्मेदवार उतारेर प्रतिस्पर्धा गरिरहेका छन् ।  


Author
सिराज खान

उहाँ नेपालगञ्जबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।