• १ साउन २०८१, मङ्गलबार

‘गाउँ आएको बाटो’ गाउँको यथार्थ कथा

blog

काठमाडौँ, असार ३ गते । अन्ततः माइलाले गाउँ नै छाडे । भोजपुरको ग्रामीण बस्तीमा चोयाका चित्रा र अन्य सामग्री बनाएर बेच्ने माइला (दयाहाङ राई) ले विदेश र सहरभन्दा गाउँमै जीविका चलाउन खोजे । रैथाने ज्ञान, सिपमा स्वरोजगारी खोज्दै गरेका माइलाको जीवनका उचारचढाव नै चलचित्र, ‘गाउँ आएको बाटो’ हो ।

‘गाउँ आएको बाटो’ ले सामाजिक चरित्रमा फेरबदल ल्यायो । गाउँलेको खानाको स्वाद र तरिकामा परिवर्तन ल्यायो । बालबालिकाको रुचि बदलिदियो । रैथाने ज्ञान र सिपलाई थिलथिलो बनाइदियो । अन्ततः रैथाने ज्ञान र सिपको व्यापार डामाडोल बनाइदियो । चलचित्रको साङ्गोपाङ्गो यही कथाका पात्र र प्रवृत्तिलाई माइलाकी श्रीमती पशुपति राई र छोरा प्रसन्न राई (बिन्द्रे) ले राम्रो ढङ्गले प्रस्तुत गरेको पाइन्छ । 

चलचित्रले राई समुदायको सामाजिक चरित्रको पृष्ठभूमि बोकेको छ । राई समुदायका बाबुछोराको स्नेही सम्बन्ध र खुसीलाई गाउँमा मोटर आएपछि दुईबिच देखिएका सङ्कटका पाटालाई चलचित्रमा उतारिएको छ । बिन्दे्र र बाबु माइला वरिपरि घुमेको चलचित्रले सडकमा मोटरसँगै गाउँ देखिने स्मार्ट फोन, कालो चस्मा मुख्य गरेर टेलिभिजन र त्यहाँभित्रको समाजसँगको सम्बन्धमा आउने चतारचढावलाई दर्साउन खोजेको छ । चलचित्र किराँत राई समुदायमा आधारित भए पनि बुवाले छोरालाई हुर्काउन गरेको सङ्घर्षको कथा हो । ‘नेपाली समाजमा सन्तान हुर्काउन बुवाले गरिरहेको सङ्घर्षमा कस्ता मोड आउँछन् भन्ने कुरा चलचित्रमा छ । बुवाले बच्चालाई हुर्काउन सङ्घर्ष गर्दै गर्दा गाउँमा मोटर आउँछ । त्यही मोटरले माइलाको जीवनमा ठुलो उतारचढाव ल्याउँछ ।  चलचित्र मोटरबाटोसँगै धेरै कुरा जोडिएका छन् । पछिल्लो समय गाउँ रित्तिँदै गएको छ । पूर्वी नेपालका पहाडी जिल्ला छाडेर तराई बसाइँ सर्ने व्रmम बढिरहेको छ । गाउँ रित्तिएकोमा चिन्ता मात्रै छ, गाउँमै टिकिरहने वातावरण बनाउन समाज र राज्यको ध्यान पुगेको छैन । सिनेमामा गाउँ छाड्ने दृश्यलाई प्राथमिकता दिएको पाइन्छ । आर्थिक रूपमा सबल बन्न नसक्दा माइला र उनको परिवारलाई गाउँलेले हेर्ने दृष्टिकोणलाई भिन्न तरिकाले चलचित्रभित्र चित्रण गरिएको छ । 

अभिनयको हिसाबले यस पटक दयाहाङको अभिनयमा कतै खोट लगाउने ठाउँ देखिँदैन । उनीसँगै पशुपति राई र उनीहरूको छोरा बनेका प्रसन्न राई चलचित्रमा जमेका छन्  यीमध्ये पनि बाल कलाकार प्रसन्न राईको अभिनय पूरै अग्र्यानिक छ । दयाहाङको संवाददेखि लिएर सबै कुरामा निर्देशक नवीन सुब्बाको मेहनत देखिन्छ । त्यसमाथि पनि राई समुदायको संस्कृति र संस्कार देखाउन निर्देशकले निकै मेहनत गरेको पाइन्छ । निर्देशकको सबैभन्दा बढी मेहनत बाल कलाकार बिन्द्रेले गरेका छन् । उनको हिँडाइ, बोलाइले नै दर्शकको ध्यान केन्द्रित गराउँछ । चलचित्रभित्र निर्देशक सुब्बाको सबैभन्दा राम्रो पक्ष भनेको सिनेमाटोग्राफी कलाकारको अभिनय र सङ्गीतमा देखिएको मेहनत नै हो । 

‘नुमाफुङ’ जस्तो फरक धारको चलचित्र निर्माण गरेर प्रशंसा बटुलेका सुब्बाको यो तेस्रो चलचित्र हो । उनको दोस्रो चलचित्र ‘गुडबाई काठमाडौँ’ प्रदर्शनमा आएको छैन । ‘गाउँ आएको बाटो’ क्यानडाको ‘टोरोन्टो’, दक्षिण कोरियाको ‘बुसान’, ब्राजिलको ‘साउ पाउलो’, भारतको ‘मुम्बई’ स्विडेनको ‘गोटेबर्ग’, चीनको ‘बेइजिङ’ लगायत महोत्सवमा प्रदर्शन भइसकेको छ ।