• १० असार २०८१, सोमबार

बर्थिङ सेन्टर सञ्चालनमा आएपछि महिला खुसी

blog

बर्थिङ सेन्टर । संकेतिक तस्बिर

जलेश्वर (महोत्तरी), असार २ गते । जिल्लाको महोत्तरी गाउँपालिकामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि यहाँका महिला खुसी भएका छन् । वर्षौँदेखि प्रसूति सेवा लिन महिला छ किमी टाढा रहेको जिल्ला सदरमुकाम जलेश्वर तथा १८ किमी टाढा रहेको जनकपुर जाने गरेकामा स्थानीयस्तरमा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि सहज भएको हो ।

शनिबार महोत्तरी-३ स्थित डाम्हीमडै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा आएको हो । आफ्नै गाउँठाउँमा प्रसूति सेवा पाउनुपर्ने स्थानीय महिलाको वर्षौँको माग सम्बोधन भएको गाउँपालिकाका अध्यक्ष दिलीपकुमार पाण्डेले बताउनुभयो । यहाँ आयोजित कार्यक्रममा बर्थिङ सेन्टर उद्घाटन गर्दै उहाँले प्रसूति सेवा लिन अब मधेस प्रदेशको राजधानी जनकपुर वा अन्यन्त्र जाने बाध्यता अन्त्य भएको जानकारी दिनुभयो । 

अध्यक्ष पाण्डेले असार १ गतेदेखि असार मसान्तसम्म यस बर्थिङ सेन्टरमा जन्मिने शिशुलाई प्रतिशिशु पाँच हजार एक सयका दरले उपहार दिने घोषणा गर्नुभयो । उक्त बर्थिङ सेन्टरमा गर्भवतीका लागि नियमित गर्भजाँच, सुत्केरी जाँच तथा प्रसूति सेवा उपलब्ध गराइएको छ । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भ जाँचसम्बन्धी सामान्य सुविधाबाट वञ्चित रहेका यहाँका स्थानीय महिलाले नियमित गर्भजाँचसम्बन्धी सम्पूर्ण सेवा पाउने अध्यक्षको पाण्डेको भनाइ छ । रासस