• १० असार २०८१, सोमबार

नदीमा बेपत्ता दुवै जनाको शव निकालियो

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार २ गते । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदीमा बेपत्ता भएका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको छ । असार १ गते शनिबार नुहाउने क्रममा भूपेन्द्र केसी र विनोद केसी नदीमा बेपत्ता भएका थिए । 

आइतबार सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेशबहादुर थापाको कमाण्डमा गएको १० जनाको गोताखोर टोलीले १२ः३५ बजे भूपेन्द्र केसीको र १२ः४० बजे विनोद केसीको शव ३० फिट गहिराइबाट निकालेको हो । 

त्यस्तै, कास्कीको पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्टोमा खसेका बालकको शव आइतबार सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ । सोही ठाउँ बस्ने ९ वर्षीय गणेश बिक शनिबार साँझ ५ बजे पुल बनाउन खनेको खाल्डोमा खसेका थिए । 

सोबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट खटिएको गोताखोरसहितको फौजले बालकको शव अन्दाजी २० फिट गहिराइबाट निकालेको हो । 

त्यस्तै कञ्चनपुरको बेदकोट नगरपालिका–५ बछेलास्थित झरनाबाट खसेका व्यक्तिको शव नं ३५ गण कञ्चनपुरको टोलीले फेला पारेको छ । शनिबार साँझ झरनाबाट व्यक्ति खसेको जानकारी प्राप्त भएपछि खटिएको सुरक्षा फौजले रातको १० बजे उनको शव निकालेको डिएसपी शैलेन्द्र थापाले बताउनुभयो ।