• ४ असार २०८१, मङ्गलबार

बैजनाथ गाउँपालिकामा ‘डिजिटल नागरिक वडापत्र’

blog

बैजनाथमा जडान गरिएको डिजिटल वडा पत्र हेर्दै सेवाग्राही लगायत। तस्बिर : सिराज खान।

सिराज खान 

नेपालगन्ज, असार १ गते। स्थानीय सरकारले आफ्नो क्षेत्रमा रहेका जनतालाई छिटो छरितो र गुणस्तरीय सेवा प्रवाहका लागि विभिन्न नयाँ नयाँ उपायहरु अपनाउन थालेका छन्। 

सो क्रममा बाँकेको बैजनाथ गाउँपालिकाले आफ्नो सेवा सुविधालाई ‘पूर्ण डिजिटल’ बनाएर जनतालाई छिटो छरितो सेवा प्रवाह गर्ने अभियान सुरु गरेको छ।

बैजनाथले गाउँपालिकाको कार्यालयलाई मात्रै नभएर पालिकाभित्र रहेका आठैवटा वडाहरुलाई समेत ‘डिजिटल’ बनाउन लागेको गाउँपालिकाका अधयक्ष प्रकाश बहादुर शाहीले बताउनुभयो। उहाँले सोही क्रममा बैजनाथ गाउँपालिकाका सबै वडाहरुमा ‘डिजिटल वडापत्र’ जडान गरेर त्यसको शुरुवात गरिएको बताउनुभयो। 

पालिकाले टेक वर्क ग्रुप अफ कम्पनी र निन्जा इफोसिसको ‘टेक्निकल’ सहयोगमा पालिकामा ‘डिजिटल नागरिक वडापत्र’ र वडाहरुमा ‘नागरिक वडापत्र’ जडान गरी संचालनमा ल्याएको अध्यक्ष शाहीले बताउनुभयो। 

पालिकामा नागरिक वडापत्र जडान गर्ने कार्य पालिकाको १ नम्बर वडाबाट सुरु गरिएको र उक्त कार्यको उदघाटन गाउँपालिकाका अध्यक्ष शाही तथा वडा नम्बर १ का वडाअध्यक्ष रुपबहादुर मल्लले संयुक्त रुपमा गर्नुभयो। 

सो क्रममा अध्यक्ष शाहीले बैजनाथले पालिकालाई पूर्ण ‘डिजिटल’ बनाउन पहिलो चरणको कार्यक्रमको सुरुवात वडाहरुमा डिजिटल वडा पत्र र पालिकामा डिजिटल नागरिक वडापत्र जडान गरेर सुरु गरेको बताउनुभयो। 

पालिका र वडामा जडान गरिएका डिजिटल वडापत्रले बैजनाथ गाउँपालिकाले के के गरिरहेको छ भन्ने कुरा प्रत्येक दिन स्थानीय वासिन्दाले हेर्न सक्ने पालिकाले जनाएको छ।