• १२ साउन २०८१, शनिबार

कृषि अनुसन्धानमा परिणाम देखिने गरी काम नभएको गुनासो

blog

काठमाडौँ, जेठ ३२ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले राम्रो नतिजा दिने गरी कृषिमा अनुसन्धान नभएको गुनासो गर्नुभएको छ । कृषि वैज्ञानिकहरूले कृषि अनुसन्धानका लागि बजेटको अभाव भइरहेको गुनासो गरिरहेका बेला मन्त्री साहको यस्तो भनाइ आएको हो । 

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रले बिहीबार आयोजना गरेको ११ औँ राष्ट्रिय बागवानी कार्यशाला गोष्ठीलाई उद्घाटन गर्दै मन्त्री साहले नार्कका वैज्ञानिकले कृषिमा राम्रो रिजल्ट दिने गरी कार्य नगरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “नार्कका वैज्ञानिकले परिणाम आउने गरी काम गर्नु प¥यो तर त्यस्तो देखिएको छैन । राम्रो काम गर्न र गराउनका लागि सरकार वा मन्त्रालयले के गर्नु पर्छ भन्नूस् तर तपाईंहरूले नतिजा दिने गरी काम गर्नूस् ।” 

कृषि क्षेत्रमा अनुसन्धान गर्न छोटो अवधिका लागि योजना बनाएर काम गर्न सुझाव दिँदै उहाँले तपाईंहरूले कार्ययोजना बनाएर ल्याउनूस्, तीन महिनामा यो काम, छ महिनामा यो यो काम गर्न सकिन्छ, त्यस्तो योजनासहितको काम गर्नुभयो भने त्यसमा मन्त्रालयले सहयोग गर्ने बताउनुभयो । परिणाम देखिने गरी काम गर्नुभयो भने त्यसमा सहयोग गर्न, लगानी गर्न पनि सजिलो हुन्छ, त्यतातिर ध्यान दिन उहाँले पटक पटक आग्रह गर्नुभएको थियो । 

दुई दिनसम्म चल्ने सो राष्ट्रिय गोष्ठीमा विभिन्न ५५ वटा कार्यपत्र प्रस्तुत हुन्छ । गोष्ठीमा ९० जना वैज्ञानिकले भाग लिएका छन् । उहाँहरूले आआफ्नो क्षेत्रबारे कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ । उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्ने उद्देश्यले यस्ता कार्यव्रmम गर्दै आएको बागवानीका वैज्ञानिक अमर पुनले बताउनुभयो । यस्तो गोष्ठीमा कृषि क्षेत्रमा भएका अध्ययन अनुसन्धानको समीक्षा हुनुका साथै आगामी दिनमा के कस्ता कार्य गर्नु पर्छ, त्यसबारे पनि योजना तयार हुने उहाँले बताउनुभयो । उहाँले कृषि अनुसन्धानका लागि बजेट अभाव भएका कारण गर्नुपर्ने कार्य पनि गर्न नसकेको बताउनुभयो ।