• ११ वैशाख २०८१, मङ्गलबार

एसियाडका लागि धमाधम खेलाडी छनोट गर्दै सङ्घहरु

blog

सागमा पदक विजेता साइक्लिङ खेलाडी । फाइल तस्बिर

काठमाडौँ, वैशाख १४ गते । चीनमा आगामी भदौ २५ देखि असोज ९ गतेसम्म आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) का लागि नेपालबाट सहभागि खेलका खेलाडी छनोट गर्न खेल सङ्घहरुलाई अहिले चटारो परेको छ । एसियाडका लागि मे पहिलो साताभित्र खेलाडीको दर्ता गरिसक्नुपर्ने प्रावधान भएकोले सङ्घहरुले भकाभक खेलाडी छनोट प्रतियोगिता आयोजना गरेका हुन् ।

एसियाडमा नेपालले २३ खेलमा सहभागिता जनाउने निर्णय गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एसियाडका लागि खेलाडी छनोट गर्न सम्बन्धित सङ्घलाई नै जिम्मा दिएको छ । सोही अनुसार एथलेटिक्स, कराँते, पौडी, साइक्लिङ, बक्सिङ, आर्चरी लगायत सङ्घहरुले खेलाडी छनोटका लागि प्रतियोगिता आयोजनाको मिति सार्वजनिक गरेका हुन् ।

साइक्लिङ सङ्घले एसियाडका लागि शुक्रबार खेलाडीको प्रारम्भिक छनोट गर्ने सङ्घले जनाएको छ । जगडोल गोकर्णमा हुने साइक्लिङको छनोट खेलमा क्रस कन्ट्रीतर्फ पुरुष एलिट तथा महिला एलिट साथै डाउनहिलतर्फ पुरुष एलिट तथा महिला एलिट स्पर्धा राखिइको छ । सङ्घले प्रारम्भिक छनोटका लागि १३औँ दक्षिण एशियाली खेलकुद (साग) मा पदक विजेता खेलाडी, सागपछिका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि भई पदक विजेता खेलाडी र सागका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई समेत समावेश गर्ने जनाएको छ । 

एसियाडमा नेपालले तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारोत्तोलन, जुडो, पौडी, ट्रायथोलन, उशु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्यान्डबल, टेबलटेनिस, महिला भलिबल, पुरुष टी–२० क्रिकेट, सुटिङ र ब्याडमिन्टन खेलमा भाग लिने निर्णय गरेको छ ।