• ६ असार २०८१, बिहिबार

मनाइयो सिथि नखः मध्यपुरमा खट जात्रा

blog

काठमाडौँ, जेठ ३१ गते । वर्षायाम सुरुसँगै ज्येष्ठ शुक्ल पक्ष षष्ठी तिथिका दिन पानीका परम्परागत स्रोतको सरसफाइ गरी बुधबार सिथि नखः पर्व मनाएको छ । नेवार समुदायले मनाउने यो पर्व वर्षाअघिको अन्तिम चाडका रूपमा समेत लिइन्छ ।

यो समयमा पानीको सतह पूरै घट्ने भएकाले स्रोत सरसफाइ गर्न सजिलो हुने बताइन्छ । सिथि नखः का दिन पानीका मुहान, इनार, कुवा र घरटोल वरपर सरसफाइ गरिन्छ । भाषा तथा संस्कृतिविद् गणेशराम लाछीका अनुसार सिथि नखः पर्वसँगै वर्षा सुरु हुने र सिन्या ज्याः (धान रोपाइँ) सुरु हुने गर्छ । यस चाडलाई वर्षाअघिको अन्तिम चाडका रूपमा लिइन्छ ।

किसानलाई जात्रा पर्व सबै थाँती राखेर अन्न उत्पादनका लागि मानसिक र शारीरिक रूपले तयार पार्ने चाडका रूपमा सिथि नखः को विशेष महत्व रहेको लाछीको कथन छ । नेवार समुदायले सिथि नखः को दिन मास र मुगीका बारा, चामलको चटामरी, पापड, गहुँको मालपुवालगायत परिकार खाने चलन रहेको लाछीले बताउनुभयो । सिथि नखः का दिन काठमाडौँको जैसीदेवलमा सिथिद्यः (कुमार देवता) प्रदर्शन गर्ने तथा भक्तजनले समेत चिउरा राखी पूजा गर्ने चलन रहेको छ । त्यसको भोलिपल्ट सिथिद्यः लाई रथमा राखेर काठमाडौँ सहर परिक्रमा गरी जात्रा मनाइन्छ । 

मध्यपुर थिमिमा सिसथ नखः को दिन लोकेश्वरको खट यात्रा गरी मनाइन्छ । रातो मत्स्येन्द्रनाथ अर्थात् लोकेश्वरको मूर्तिलाई वस्त्र र गरगहनाद्वारा सजाई सानो खटमा राखेर स्थानीय गणेशपाटीमा विराजमान गराई जात्रा गरिन्छ । त्यहाँ यो देवतालाई थिमि, बोदे, नगदेश क्षेत्रका स्थानीयवासीले यसै वर्ष आआफ्नो खेतबारीमा उब्जनी भएका तरकारी, खाद्यान्न आदि चढाउने गर्छन् । जात्रामा रातो र सेतो मत्स्येन्द्रनाथको जस्तो ठुलो रथ तान्ने गरिँदैन । देवतालाई सानो खटमा राखी बोकेर थिमिको बालकुमारीसम्म परिक्रमा गराइन्छ । यसमा विभिन्न बहालबाट आउने बाजागाजा पनि सहभागी भएका हुन्छन् । भजन गुरु गणेशराम प्रजापतिका अनुसार सिथि नखः का दिन जात्रा हुने भएकाले यो देवतालाई स्थानीय थिमिवासीले ‘सिथिद्यः’ भन्ने गरेका छन् ।