• ७ साउन २०८१, सोमबार

सँझ्याः (कथा)

blog

ड्याम्म... । आँगनमा केही खसेको र फुटेको आवाज आयो । जोगलाल धेवाजूले हतार गरेर सँझ्याः बाट तल नियाले । धुरीबाट टायल झरेको रहेछ । के भएछ भन्दै उनी हतारिँदै खुरुरुरु भ¥याङ ओर्लेर तल गए । आँगनमा उभिएर घाँटी ठाडो पारेर घरको छानोतिर हेरे । उनका भाइ बाबुलाल आफ्नो भागको छानो भत्काउँदै रहेछन् । उनलाई सघाउने अरू कामदारहरू छन् । त्यो देखेर जोगलाल धेवाजूको छातीमा सुइरोले घोचे जस्तो चसक्क गरेर दुख्यो । 

जोगलाल धेवाजूले धेरैबेर घरको छानोतिर हेरिरहन सकेनन् । उनलाई आफ्नो घरको छानो होइन, कुलको इज्जत नै उदाङ्गो हुन लागे जस्तो महसुस भयो । त्यो घरको छानो छाउन जोगलालका बाबु कृष्णलालले कम्ता दुःख गरेका थिएनन् । दुःखले एक एक पैसा गरी जोगाड गरेको पैसाले त्यो घर बनाएका थिए । छानो छाएको दिन खुसीले घर बनाउने अवाल, डकर्मी, सिकर्मीलगायत छरछिमेकीलाई समेत भोज खुवाएका थिए । भोजमा कृष्णलाल धेवाजूकी जहान विष्णुमाया धेवाजूको आफ्नै हातले घरमै बनाएको रक्सी खुवाएका थिए । रक्सीले मातेर भोज खानेहरू आँगनमै नाचेका थिए । जोगलाल धेवाजू आफैँ पनि जहानसँगै खुसीले घुमी घुमी नाचेका थिए ।

घरको छानो छाउनु भनेको कुलको इज्जत राख्नु र मान बढाउनु पनि हो । आज त्यही घरको छानो भाइ बाबुलालले बङलङ बङलङ भत्काउन लागेको देखेर जोगलालको आँखामा आँसु आयो । आँसुले आँखा धमिलो भयो । घरी घरी छाती पनि चस्केर दुखिरह्यो । धमिलो आँखाले उनले सँझ्याःतिर हेरे । उनलाई त्यहाँ आफ्नो बाबु कृष्णलालले निकै दुःखी भएर आँगनतिर हेरिरहे जस्तो आभास भयो । उनलाई एकैछिनमा आफू निकै कमजोर भए जस्तो महसुस भयो । उभिनै गाह्रो भएर जोगलाल धेवाजू भुइँमा थचक्क बसे । अनि दौराको फेरले आँखाको आँसु सरक्क पुछे ।

छानोबाट टायल, झिँगटी, धुलो र माटो झर्ने व्रmम निरन्तर चलिरह्यो । भुइँमा ठोक्किएर टायल र झिँगटी फुटेको आवाज पनि आइरह्यो । जोगलाल धेवाजूलाई चाहिँ आफ्नै भाग्य फुटे जस्तो लागिरह्यो । आफ्नो भाग्य सम्झेर जोगलाल धेवाजू टोलाउन थाले ।

त्यो टोलमा सँझ्याः भएको घर जोगलालकै मात्र थियो । त्यसैले कसैले ठेगाना बताउनुपर्दा ‘सँझ्याः भएको घरनेर’ भन्थे । जोगलाल धेवाजूका बाबु कृष्णलाल धेवाजू बिहानै उठेर त्यो सँझ्याःबाट बाहिरी संसार हेर्थे । उनको संसार चाहिँ त्यही सँझ्याःभित्रै थियो । उनी त्यही सँझ्यामा बसेर तमाखु खान्थे । उनलाई तमाखु चाहिँ उनकी श्रीमती विष्णुमाया धेवाजूले भरिदिन्थिन् । कृष्णलाल धेवाजू चोकतिर हेर्दै तमाखु खान्थे । चोकमा कोही चिनेका मान्छे ओहोरदोहोर गरेको देखे झ्यालबाटै ‘भगवान् शरण’ भन्थे । चोकमा ओहोरदोहोर गर्ने चिनेका मान्छेले पनि उनलाई हेरेर उसै गरी ‘भगवान् शरण’ भन्थे । कृष्णलाल बोलेको र उनको हुक्काको ट्वार्र ट्वार्र आवाज सुनेर छिमेकीहरू पनि बिहान भइसकेछ भन्दै उठ्थे र आआफ्नो काममा लाग्थे । 

तमाखु खाइसकेर कृष्णलाल धेवाजू पनि खर्पन बोकेर मनोहरातिर लाग्थे । त्यहाँ उनको जग्गाजमिन थियो । उनी तरकारी खेती गर्थे । तरकारी बेच्न खर्पनमा बोकेर बिहानै सहरसम्म पनि जान्थे । फर्केर फेरि मनोहरामा आउँथे । त्यहाँ उनकी विष्णुमाया धेवाजूले भात ल्याइदिएकी हुन्थिन् । उनी तरकारी लगाएको खेतमै बसेर भात खान्थे । ससाना छोराछोरी पनि खेतमै आएका हुन्थे । दिनभरि खेतमा काम गरेर साँझमा घर फर्कन्थे । फर्कंदा खर्पनको दुईतिर छोराछोरीलाई बोकेर लान्थे । खर्पनमा बस्न पाउँदा छोराछोरी खुप रमाउँथे ।

समय बित्दै गयो । कृष्णलाल बुढा हुँदै गए । छोराछोरी हुर्किए । जेठो छोरा जोगलाल, छोरी गुनमाया र कान्छो छोरा बाबुलाल खेतमा जाँदा कृष्णलाल दिनभरि त्यही सँझ्याःमा बसेर चोकतिर हेरिरहन्थे । कृष्णलालको जिन्दगीको धेरै समय त्यही सँझ्याःमा बसेरै बित्यो । त्यसो हुँदा त्यो सँझ्याःसँग कृष्णलालको आत्मीयता जोडियो । कृष्णलालको पर्याय जस्तै भयो त्यो सँझ्याः । चोकमा ओहोरदोहोर गर्ने मान्छेहरू त्यो सँझ्याःलाई सम्झिन्थे र कृष्णलाललाई सम्झिन्थे । कृष्णलाललाई सम्झिन्थे र त्यो सँझ्याःलाई सम्झिन्थे । कहिलेकाहीँ छोराछोरी आँगनमा बसेर तरकारी मुठा पार्दै गर्दा कृष्णलाल त्यही सँझ्याःबाट कराउँथे– यसो गर, उसो गर, यो भएन, त्यो भएन भनेर । 

एक पटक लामो खोकी लाग्यो कृष्णलाल धेवाजूलाई । डाक्टर, वैद्य, झारफुक यताउता सबथोक सकेजति गरे छोरा जोगलालले । तर बुढा बाँचेनन् । खोकीकै निहुँमा बुढा बिते । अब त्यो सँझ्याःमा धेरैबेर बस्ने कोही भएनन् । कहिलेकाहीँ जोगलाल आफैँ बस्थे । तर बाबुको सम्झना आएपछि मन उदास हुन्थ्यो र त्यहाँबाट उठेर हिँड्थे । 

बुढा बितेको एक वर्षपछि नै विष्णुमाया धेवाजू पनि जन्डिस बिग्रिएर बितिन् । बाबु र आमा दुवै बितेपछि घरको जिम्मेवारी जोगलालमाथि नै आइप¥यो । कहिलेकाहीँ निनी आएर जोगलाललाई घरव्यवहारबारे सम्झाउँथिन् । निनीले नै थिमितिरकी केटी खोजेर जोगलालको बिहे गरिदिए । निनीले नै भक्तपुरतिरको केटा खोजेर जोगलालकी बहिनी गुनमायाको पनि बिहे गराइदिए । अलि पछि जन्मिएको हुँदा जोगलालको भाइ बाबुलाल भने सानै थियो ।

जोगलाल बिहानै मनोहरा जान्थे । जाँदाखेरि भाइलाई खर्पनमा हालेर लान्थे । आउँदाखेरि पनि उसै गरी खर्पनमा हालेर ल्याउँथे । खर्पनमा बस्न पाउँदा भाइ खुप रमाउँथ्यो । भाइ रमाएको देखेर जोगलाललाई सन्तोष लाग्थ्यो । जोगलालले बाबु र दाजु दुवैको माया दियो बाबुलाललाई । बाबुलाललाई बाबुको कमी कहिल्यै महसुस भएन । तैपनि ऊ कहिलेकाहीँ मरेको बाबुलाई सम्झेर एक्लै टोलाउँथ्यो । भाइ टोलाएको देखेर जोगलाल आफैँ टोलाउँथ्यो । त्यतिखेर उनको आँखामा सँझ्याःमा बसेर तमाखु खाइरहेको बाबुको झझल्को आउँथ्यो । 

एक दिन जोगलाल भाइलाई खर्पनमा बोकेर मनोहरातिर जाँदै गर्दा स्कुलतिर जाँदै गरेको तेजमान सरसँग जम्काभेट भयो । तेजमान सरले खर्पनमा बसिरहेको बाबुलालतिर हेरेर भने, “ओहो, भाइलाई किन यसरी खेतमा लैजान्छौ जोगलाल । भाइलाई पनि खर्पनै बोकाउने विचार हो कि क्या हो ? खुरुक्क स्कुलमा भर्ना गरिदेऊ । पढेर पछि अरू नै केही पेसा–व्यवसाय गर्ला । कति खर्पने मात्रै बनिरहन्छौ तिमीहरू !”

तेजमान सरले भनेको कुरा मनासिब लाग्यो जोगलाललाई । भोलिपल्टै उनले भाइ बाबुलाललाई स्कुलमा भर्ना गरिदिए । तर सधैँ दाजुको खर्पनमा बसेर घर–खेत गर्न पल्केको भाइ स्कुल जान मानेन । जोगलालले खर्पनमै हालेर स्कुलसम्म पु¥याइदिए । बिस्तारै बानी लागेपछि बाबुलाल साथीहरूसँगै आफैँ स्कुल जान थाल्यो ।

बाबुलालले एसएलसी हुँदै आइए, बिए र एमए पनि पास ग¥यो । भाइले यति धेरै पढेको देखेर नपढेको जोगलाल भाइभन्दा बढ्ता खुसी हुन्थ्यो । उसको टोलमा यति धेरै पढ्ने बाबुलाल एक्लो थियो । त्यसैले बाबुलाल सबैको आकर्षण र आशाको केन्द्र बन्यो ।

भाइले जागिर पायो । जोगलाल झन् खुसी भयो । आफू खर्पन बोकेर बाटोमा लखरलखर हिँडिरहेको बेला भाइ मोटरसाइकलमा सररर गुडेको देख्दा जोगलालले साथीभाइलाई भन्ने ग¥यो, “मेरो भाइ अफिस गयो । मेरो भाइ अफिसबाट फक्र्यो ।” बाबुलाल हाकिम भयो । जोगलाल अझ बढी खुसी भयो । भाइको उन्नतिमा गर्व गर्दै जोगलालले टोलछिमेकमा भन्दै हिँड्यो, “मेरो भाइ हाकिम भयो ।” 

एउटा ज्यापु–किसानको छोरा हाकिम भयो । यसमा टोल र छिमकीलाई पनि स्वाभाविक रूपमा गर्व लाग्ने कुरा थियो । सबैले गर्व गरे । टोल–छिमेकमा जोगलाललाई हाकिम बाबुलालको दाजु भनेर चिन्न थाले । हाकिम बाबुलाललाई जोगलालको भाइ भनेर चिन्न थाले । दाजुभाइ दुवैले टोल–छिमेकमा इज्जत पाए । परिवारको सान बढ्यो । मान बढ्यो । प्रतिष्ठा बढ्यो । सबैले बितिसकेका कृष्णलाल धेवाजूलाई सम्झे र कृष्णलाल बस्ने त्यो सँझ्याःलाई सम्झे । सँझ्याः छ तर त्यहाँ बसेर तमाखु खाने कृष्णलाल चाहिँ छैन । तर कृष्णलालको पर्याय बनेको त्यो सँझ्याः एकतमासले चोकमा हिँड्नेहरूलाई हेरिरहेछ ।

एमए पास गरेको र जागिरसमेत भएको बाबुलाललाई छोरी दिनेहरूको ताँती लाग्यो । बाबुलालले छानी छानी काठमाडौँको लगनतिरकी एउटी आफू जस्तै पढेकी केटी रोजेर बिहे ग¥यो । अब जोगलालको परिवार ठुलो भयो । एउटा आफ्नै परिवार अर्को भाइको परिवार । तैपनि सानो परिवार । जोगलालको परिवारमा लोग्नेस्वास्नी र छोराछोरीसहित चार जना । बाबुलालको परिवारमा लोग्नेस्वास्नी मात्रै अर्थात् दुई जनाको सानो परिवार । परिवार दुई वटा तर भान्सा एउटै । कहिले जोगलालकी स्वास्नीले पकाउने । कहिले बाबुलालकी स्वास्नीले पकाउने । 

जोगलालका बुढाबुढी खेतीकिसानीका लागि दिनहुँ मनोहरा धाउने । उता बाबुलालका बुढाबुढी चाहिँ जागिरका लागि अफिस धाउने । थाकेर आएपछि स्वाभाविक रूपमा बेलुकी आराम गर्न पाए हुन्थ्यो भन्ने चाहना जोगलालकी बुढी र बाबुलालकी बुढीलाई पनि हुन्थ्यो । यही चाहनाले गर्दा कहिलेकाहीँ भान्सामा भात पाक्न ढिला हुन थाल्यो । जोगलालकी बुढीले सोच्ने– देउरानीले पकाइहाल्छिन् नि । बाबुलालकी बुढीले सोच्ने– जेठानीले पकाइहाल्छिन् नि । यस्तै सोचले गर्दा कहिलेकाहीँ बेलुकी भातै पाक्न छोड्यो । बेला बेलामा बाबुलालका लोग्नेस्वास्नी अफिसबाट फर्कंदा बाटैबाट खानेकुरा किनेर ल्याउन थाले र कोठामा बसेर खान थाले । तर दिनभरि खेतमा काम गरेर फर्कने जोगलालका लोग्नेस्वास्नीले त्यसरी बाटैबाट खानेकुरा किनेर ल्याउने कुरा कहिल्यै सोचेनन् । आफू मात्रै होइन, छोराछोरी पनि भोकै सुत्नुप¥यो । तैपनि जोगलालको मनमा कहिल्यै कुविचार आएन । व्यभिचार आएन । उनले भाइ बाबुलाललाई हिजो जस्तो सोच्थे, त्यस्तै नै सोचिरहे । न भाइ, न बुहारी, कसैलाई पनि उनले कुनै खोट लाएनन् । कहिलेकाहीँ यस्तै हुन्छ भनेर मन बुझाइरहे ।

एक दिन बेलुकी भात खाँदै गर्दा बाबुलालले बिस्तारै अंशबन्डाको कुरा झिक्यो । सुनेर जोगलाल झसङ्ग भए । उनी तर्से जस्तै भए । उनको मनमा कहिल्यै नआएको अकल्पनीय कुरा सुनेर खाँदाखाँदै टक्क रोकिए । हातको गाँस हातैमा रह्यो । मुखको गाँस मुखैमा । निर्निमेष भाइलाई हेरिरहे । तर भाइले दाइको मुख हेर्न सकेनन् । दाइसँग आँखा जुधाउन सकेनन् । जोगलालले मनमनै सोचे अब चाहिँ भाइ बदलिएछ । नबदलिएको भए उसले यस्तो कुरा गर्ने थिएन । जसले बाबु र दाजु बनेर उसलाई प्रेम दियो र जीवनको मार्ग देखायो, उसैसित छुट्टिएर बस्ने कुरा बाबुलालले कसरी सोच्न सक्यो ? जोगलालको मनमा प्रश्नको बाढी उर्लियो ।

अन्ततः अंशबन्डा हुनु थियो, भयो । एउटै परिवार थियो, दुई वटा भयो । एउटै भान्सा थियो, त्यो पनि दुई वटा भयो । एउटा परिवारको भान्सा तल । अर्को परिवारको भान्सा माथि । पहिलेभन्दा चर्को आवाजमा भाँडाकुँडा बज्न थाले । टोल–छिमेकीका कान ठाडा हुन थाले । यता जोगलालको छाती बेसरी पोल्न थाल्यो । उनलाई सधैँ झैँ खर्पन बोकेर मनोहरासम्म जाने जाँगरै हराउन थाल्यो । मन नलागी नलागी गए पनि खेतमा बसेर काम गर्नै मन लाग्न छोड्यो । अलि अलि तरकारी खर्पनमा हालेर घरमै ल्याएर मुठा पार्न थाले । चोकमा बसेर तरकारी मुठा पारुन्जेल पनि घरी घरी सँझ्याःतिर हेरेर टोलाउन थाले । स्वर्गीय बाबुले सँझ्याःमा बसेर “ए बाबुहरू, तिमीहरूले के गर्न आँटेको ? यो सँझ्याःलाई पनि आधा पार्न लागेको ?” भने जस्तो लाग्न थाल्यो । सँझ्याःतिर हेर्दाहेर्दै उनका आँखा रसाउन थाले । त्यो टोलभरिमा त्यही एउटा त थियो सँझ्याः । अब त्यो पनि आधा हुने भयो । यो सोचेर जोगलालको मुटुमा भक्कानो फुट्ला जस्तो भयो । 

एक दिन बेलुकी जोगलालको परिवार भात खाइरहेको बेलामा बाबुलाल लुसुक्क माथि दाइको भान्सामा गयो । उसले कपाल कन्याउँदै खुसुक्क भन्यो, “दाइ, अब यो घर भत्काएर नयाँ बनाऔँ ।”

जोगलालको मुटुमा दर्शनढुङ्गाले हाने जस्तो भयो । अब त बाबुको निसानी नै मेटिने भयो भनेर उनलाई पिर पर्न थाल्यो । त्योभन्दा बढ्ता पिर त उनलाई घर कसरी बनाउने भन्ने थियो । खेतीकिसानीको कमाइले खानलाउनै मात्र ठिक्क थियो । उनले भोलिका लागि भनेर केही साँच्नै सकेनन् । कमाए जति घरव्यवहार र बाबुलालकै पढाइमा खर्च गरे । अलि अलि आफ्नै छोराछोरीको पढाइमा खर्च गरे । अब घर कसरी बनाउने ? 

बाबुलालले उपाय सिकायो । त्यही मनोहराको एक टुव्रmा जग्गा बेच्ने । तर जोगलालले मानेनन् । पुस्तौँदेखि प्रेमले खेल्दै र खेलाउँदै आएको माटो सर्लक्क बेच्न जोगलालको मनले मानेन । भने, “म चाहिँ त्यो बाबुबाजेको छाला बेचेर घर बनाउन सक्दिनँ ।” “त्यसो भए म आफ्नो भागमा बनाउँछु ।” यसो भनेर बाबुलाल गयो । जोगलालको मनमा ठुलो भुइँचालो गयो । पहिरो गयो । आँधीबेरी चल्यो । छाती भित्रभित्रै पीडाको ओइरो लाग्यो । उनी भित्रभित्रै धेरै बेरसम्म थर्थर कामिरहे । पिरले । चिन्ताले । भयले । डरले । आँखामा भने त्यो सँझ्याः र बाबुको मलिन अनुहार घुमिरह्यो फनफन्ती । 

बाबुलालले आफ्नो भाग घर भत्कायो । अरू भत्काउन र निकाल्न सजिलै भयो । तर त्यो सँझ्याः एउटा चाहिँ घरको भित्ताको बिचमा परेकाले निकाल्न मिलेन । आधा जोगलालको भाग थियो भने आधा बाबुलालको । सिङ्गै निकाल्न जोगलालले मानेन । ननिकाल्दा बाबुलालको घरको गारो लाउन मिलेन । अन्ततः बाबुलालले आफ्नो भागको आधा काटेर निकाल्ने निर्णय ग¥यो ।

उनीहरूका बाबु कृष्णलालले घर बनाउँदा थाम, निदाल र झ्यालहरू बनाउन ठुल्ठुला मुढा आराले चिर्न लगाएका थिए । आज भने बाबुलालले घरको सौन्दर्यको रूपमा रहेको त्यो सँझ्याःलाई नै आरा लगाएर आधा पारेर चि¥यो । त्यो सँझ्याः चिर्दै गरेको देखेर जोगलाल धेवाजूलाई भने आफ्नो मुटु नै कसैले चिरा पारे जस्तो पीडा भयो । आफ्नो कुलदेवतालाई नै चिरेर आधा पारे जस्तो छटपटी भयो । आफ्नो बाबुको शरीर नै आधार पारेर चिरे जस्तो पीडा भयो । उनले हेर्न सकेनन् भाइले त्यो सँझ्याः चिर्दै गरेको दृश्य । उनी भक्कानिएर रोए । रुँदै भुइँमा थचक्क बसे । टोलका मान्छेले चुपचाप त्यो सुन्दर सँझ्याः आधा भएर कुरूप बनेको दृश्य हेरिरहे । कसैले रोक्न सकेनन् । रोक्ने अधिकार कसैलाई थिएन । त्यो जोगलाल र बाबुलालको निजी मामिला थियो । हेर्दाहेर्दै त्यो सुन्दर सँझ्याः दुई फग्ल्याँटो भयो । एक फक्ल्याँटो जोगलालको अर्को फग्ल्याँटो बाबुलालको ।

बाबुलालको नयाँ घर तयार भयो । एउटै जगमा दुई वटा घर बन्यो । आधा नयाँ आधा पुरानो । एउटा सुन्दर अर्को विरूप । अर्धनारीश्वर जस्तो बन्यो जोगलाल र बाबुलालको घर । 

अचेल चोकबाट हिँड्नेहरूले भन्ने गर्छन्, यसरी आधा नपारेको भए पनि हुन्थ्यो त्यो सँझ्याःलाई । सुनेर जोगलाल झसङ्ग हुन्छन् । निद्राबाट ब्युँझे जस्ता हुन्छन् । अनि सम्झिन थाल्छन्, बाबु कृष्णलालले त्यो सँझ्याःमा बसेर तमाखु खाएको । त्यहाँ बसेर सुस्ताएको र जिन्दगी बिताएको । आफूले पनि बेलाबेलामा त्यो सँझ्याःमा बसेर चोकतिर नियालेको । अनि भाइ बाबुलाललाई खर्पनमा बोकेर प्रसन्न भएर हिँडेको । दुःख गरी गरी उसलाई पढाएको– लेखाएको । हाकिम बनाएको । हाकिम भएको भाइले पुरानो घरलाई आफ्नो आधा भाग भत्काएर नयाँ घर बनाएको र बाबुको निसानी सँझ्याःलाई निर्दयतापूर्वक आराले चर्चरी आधा पारेर चिरेर दुई फग्ल्याँटो बनाएको । 

जोगलाल धेवाजू बुढा भएका छन् । उनका छोराछोरी ठुला भएका छन् । पहिले जस्तो खर्पन बोकेर मनोहरासम्म पनि जान सक्दैनन् । चोकमा बसेर आफ्नो पुरानो भइसकेको घरलाई हेरेर टोलाइरहन्छन् । आधा पारेको सँझ्याःलाई देखेर उनलाई रुन मन लाग्छ । मुटुमा भक्कानो फुटेर आउँछ । तुरुक्क आँसु झार्छन् । धेरै बेर हेरिरहन पनि सक्दैनन् । स्वर्गीय बाबुले ‘तिमीहरूले मेरो शरीर पनि आधा पारेर लियौ होइन ?’ भने जस्तो लाग्छ । अनि फरक्क फर्केर आँखा अन्तै डुलाउँछन् । तैपनि मनमा शान्ति हुँदैन । चैन हुँदैन । अनि छटपटिँदै सोच्छन्, बरु छोराले छिट्टै यो पुरानो घर भत्काएर नयाँ घर बनाए पनि हुन्थ्यो ।