• १२ साउन २०८१, शनिबार

प्राइम सहकारी ठगी प्रकरणः ६६ जनाविरुद्ध मुद्दा दायर

blog

फडिन्द्र अधिकारी
लेखनाथ, जेठ २८ गते ।
पोखराको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा आइतबार मुद्दा दायर भएको छ । जिल्ला सहकारी वकिलको कार्यालयले एक अर्ब ५७ करोड १५ लाख आठ हजार एक सय २४ रुपियाँ बिगो माग दाबीसहित ६६ जनाविरुद्ध अभियोगपत्र दायर गरेको हो ।

सहकारीका विज्ञको वित्तीय विश्लेषण र प्रहरीको अनुसन्धान प्रतिवेदनपछि प्राइमका सञ्चालक, सरकारी कर्मचारी र लेखा परीक्षकविरुद्ध मुद्दा दायर भएको हो । यो गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सहकारी ठगीको प्रकरण हो ।

जिल्ला सहकारी वकिलको कार्यालयका सहन्यायाधीवक्ता विपिनराज तिवारीले प्राइमका दुई पूर्व अध्यक्ष, वर्तमान अध्यक्ष, आठ जना नेपाल सरकारका कर्मचारी, लेखा परीक्षक लगायतमाथि अभियोगपत्र दर्ता भएको जानकारी दिनुभयो ।

प्राइम सहकारीमा सर्वसाधारणको बचत र सेयरधनीको सेयर रकम हिनामिना गरेको अभियोगमा कास्की प्रहरीले जेठ १ गते अध्यक्षसहित आठ जनालाई पक्राउ गरेको थियो । सहकारीका अध्यक्ष शङ्कर कार्की, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल, पूर्वअध्यक्ष नितेशप्रसाद कोइराला, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा विभाग प्रमुख सुनील थापा, सञ्चालक मनबहादुर गुरुङ, सहकारीका कानुनी सल्लाहकार अधिवक्ता इन्द्रप्रसाद बराल लगायतलाई पक्राउ गरेको थियो ।

मुद्दा दायर भएका ६६ जनामध्ये ५६ जना फरार छन् । कानुनी सल्लाहकार बराल उच्च अदालत पोखराको आदेशले तारेखमा रिहा हुनुभएको छ भने अभियुक्त सन्तोष घिमिरे अर्कै अभियोगमा कास्की कारागारमा हुनुहुन्छ । पोखरा महानगरपालिका वडा नम्बर ४, गैह्रापाटनमा मुख्य कार्यालय रहेको प्राइमको कार्य क्षेत्र कास्की जिल्लाभर छ ।

यसअघि नै कास्कीका मित्रमिलन सहकारी, सूर्य दर्शन बचत तथा सहकारी, बलिदानी बहुउद्देश्यीय सहकारी, विन्दवासिनी सहकारी, शिवशिखर सहकारी र इमेज सहकारीले बचतकर्ताको रकम अपचलन गरी अनियमितता गरेपछि केहीको मुद्दा कास्की जिल्ला अदातलतमा छ भने केही सहकारीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।