• १२ साउन २०८१, शनिबार

नेपालगन्ज-१५ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

blog

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न आयोजित कार्यक्रम । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, जेठ २४ गते । नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १५ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । बिहीबार एक कार्यक्रमकाबिच वडा नम्बर १५ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

पिप्रहवा स्वास्थ्य चौकीको आयोजना र वडा कार्यालयको सहयोगमा आयोजित कार्यक्रममा स्वास्थ्य संस्था प्रमुख जयराम पाण्डेले सो सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। 

वडा अध्यक्ष मदन विक्रम शाहको अध्यक्षता एवम् नेपालगन्ज उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। 

स्वास्थ्य संस्था प्रमुख पाण्डेका अनुसार वडा नम्बर १५ मा कुनै पनि खोप नलगाएका ८ जना र आंशिक खोप लगाएका ५३ जना बालबालिकालाई खोप लगाएर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । वडाका सबै २४३ बालबालिकालाई पूर्ण खोप दिएपछि बिहीबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । त्यसक्रममा महिला स्वास्थ्य स्वयंसेविकहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले बालबालिकालाई विभिन्न रोगबाट जोगाउन नियमितरुपमा सबै प्रकारका खोप अनिवार्य लगाउनुपर्ने बताउनुभयो । उहाँले प्रत्येक वर्ष खोप लगाउन छुटेका बालबालिकालाई पहिचान गरेर खोप लगाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुपर्ने बताउनुभयो। 

२०७६ सालमा नेपालगन्ज उपमहानगरपालिकालाई पूर्ण खोप नगर घोषणा गरिएको थियो । हरेक वर्ष सबै वडा र नगरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुपर्दछ।