• ४ जेठ २०८१, शुक्रबार

स्थानीय तहको निर्वाचन

भक्तपुरमा ३४ दलबीच प्रतिस्पर्धा हुने

blog

काठमाडौं, वैशाख १३ गते । वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचन आयोगको कार्यतालिकाअनुरुप वैशाख ११ र १२ गते उम्मेदवार मनोनयन दर्ता सकिएकाे छ ।

भक्तपुर जिल्लामा भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, मध्यपुर थिमि र सूर्यविनायक नगरपालिका गरी जम्मा चार स्थानीय पालिका छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरका अनुसार स्थानीय निर्वाचनमा भक्तपुर जिल्लाबाट एक लाख ८४ हजार पाँच सय ८९ मतदाता सङ्ख्या छ ।

चाँगुनारायण नगरपालिकामा पुरुष २१ हजार ९८ र महिला २२ हजार सात गरी जम्मा ४३ हजार एक सय पाँच मतदाता छन् । भक्तपुर नगरपालिकामा २७ हजार छ सय ५६ पुरुष र २९ हजार छ सय १४ महिला गरी जम्मा ५७ हजार दुइ सय ७० मतदाता छन् ।

मध्यपुर थिमीमा २० हजार पाँच सय ३१ पुरुष, २१ हजार तीन सय आठ महिला र अन्य तीन जना गरी ४१ हजार आठ सय ४२ मतदाता छन् भने सूर्यविनायक नगरपालिकामा २२ हजार नौ सय ८० पुरुष, २४ हजार तीन सय ८५ महिला र अन्य दुई गरी जम्मा ४७ हजार तीन सय ६७ मतदाता छन् ।

यसैगरी, चाँगुनारायणमा नौ वडा अन्तर्गत ५३ मतदान केन्द्र, भक्तपुरमा दश वडा अन्तर्गत ६२, मध्यपुर थिमीमा नौ वडामा ४६ र सूर्यविनायक नगरपालिकामा दश वडाभित्र ५८ गरी जिल्लाभरमा दुई सय १९ मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिनुभयो । अन्तिम मतदाता नामावली प्रकाशन, निर्वाचन कार्यालय स्थापना भइसकेको छ ।

मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्तिदेखि आवश्यक सामग्री खरिद गरी मतदान केन्द्रमा पठाउने काम भएको बिसी बताउनुहुन्छ । निर्वाचन सुरक्षाका विषयमा उहाँले महानगरीय प्रहरी प्रभाग भक्तपुरद्धारा सुरक्षाकर्मीहरु खटाइने उहाँको भनाइ छ । ३४ दलबीच प्रतिस्पर्धा हुने भक्तपुरमा छ वटा राष्ट्रिय मान्यताप्राप्त दल र अरु २८ गरी जम्मा ३४ राजनीतिक दल स्थानीय निर्वाचनमा सहभागी हुँदैछन् ।

नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) जुन राष्ट्रिय मान्यता प्राप्त छन् यसबाहेक २८ दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएको बिसी बताउनुहुन्छ ।

सामाजिक एकता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मौलिक जरोकिलो पार्टी, जनमत पार्टी, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), नेपाल परिवार दल, उन्नत लोकतन्त्र पार्टी, झा पार्टी नेपाल, विवेकशील साझा पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाः राष्ट्रिय पार्टीबाट विभिन्न पदमा उम्मेदवारी दिएका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली काँग्रेस (विपि), आधुनिक नेपाल समाजवादी पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाली जनता दल, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, नेपाल सुशासन पार्टी, माओवादी कम्युनिष्ट पार्टी नेपाल, नेपाल विवेकशील पार्टी, जनसमाजवादी पार्टी, समाजवादी केन्द्र नेपाल पनि चुनावमा उत्रेका छन् । 

यहाँकाे स्थानीय तहको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी, आमूल परिवर्तन मसिह पार्टी नेपाल, नेपालका लागि नेपाली पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) ले प्रतिस्पर्धा गर्दैछन् ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।