• १२ साउन २०८१, शनिबार

नेपाललाई मेडिकल टुरिजमको हब बनाउन नेपाल मेडिसिटीको पहल

blog

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले नेपाल मेडिसिटी अस्पताल भ्रमण गर्नुहुँदै । तस्बिर : मन्त्री यादवको सचिवालय

काठमाडौँ, जेठ २२ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले नेपालको पहिलो एनएबिएच सर्टिफाईड तथा अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा सम्पन्न अस्पतालको अवस्था बुझ्न मङ्गलबार नेपाल मेडिसिटी अस्पताल भ्रमण गर्नुभएको छ ।

भ्रमणको क्रममा उहाँले यस अस्पतालले प्रदान गर्दै आएको उपचार सेवा, गुणस्तर सरसफाइका साथसाथै सरकारको स्वास्थ्य कार्यक्रमबारे जानकारी लिनुभएको छ ।

मन्त्री यादवले अस्पतालको हेलिप्याड, आइसियु, अपरेसन थिएटर, डायलिसिस तथा ग्यास्ट्रिक विभागको अवलोकन गर्नुभयो । विगत पाँच वर्षदेखि अस्पतालले विपन्न नागरिक औषधी उपचार योजना लागू गर्दै आएको छ । यसबाट झण्डै दुई हजार मानिसहरूले उपचार सेवा प्राप्त गरेका छन् ।


हालसम्म ३०४ जनाले मुटुसम्बन्धी उपचार तथा शल्यक्रिया गरेका छन् भने एक हजार ५४३ जनाले क्यान्सरसम्बन्धी र १४६ जनाले डाइलासिस् सेवा लिएका छन् ।

अवलोकनको क्रममा स्वास्थ्य मन्त्री यादवले अस्पतालहरूको वर्गीकरण, मेडिकल टुरिजम तथा अस्पतालमा हुनुपर्ने सेवा सुविधाको विषयमा छलफल गर्नुभयो ।

हजारौँ सङ्ख्यामा नेपालीहरू उपचारका लागि बिदेसिनुपर्ने बाध्यताको विषय उठान गर्दै नेपाल मेडिसिटीका अध्यक्ष डा. उपेन्द्र महतोले नेपालका अस्पतालहरूलाई नै अन्तर्राष्ट्रिय स्तरको सेवा सम्पन्न बनाउन सके नेपाल मेडिकल टुरिजमको हब बन्न सक्ने बताउनुभयो । 

भ्रमणकै क्रममा अस्पतालले सहज रुपमा औषधी उपलब्ध हुुनुपर्ने, औषधी निर्यातमा औषधी व्यवस्था विभागका झण्झटिला प्रक्रियालाई सहजिकरण गर्नुपर्ने, क्यान्सर रोगका लागि आवश्यक साइक्लोेट्रोन नेपालमै उत्पादन हुनुपर्ने तथा अन्तर्राष्ट्रिय स्तरको अस्पताल बनाउन विदेशी दक्ष चिकित्सकहरुलाई पनि छोटो समयका लागि नेपालमा काम गर्ने अनुमति दिइनुपर्ने जस्ता विषयमा छलफल गरेको छ ।