• ९ मंसिर २०८१, आइतबार

कोसीको सिमसार सुक्दै

blog

जयकृष्ण यादव 

कोसी (सुनसरी), वैशाख १३ गते । नेपालको सबैभन्दा सानो तर देशकै पहिलो रामसार सूचीमा सूचीकृत कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रको सिमसार सुक्न थालेको छ । प्रदेश १ र मधेस प्रदेशको सीमामा रहेको तीन जिल्लामा फैलिएको सुनसरीको कोसीटप्पु वन्यजन्तु आरक्षको पूर्वतर्फको सिमसार सुक्न थालेको हो । 

संरक्षणको अभाव, कोसीको पानीलाई वराहक्षेत्रस्थित चतरामा नै केही वर्षअघि भारतले पाइलट च्यानलमार्फत पश्चिमतर्फ मोड्नु र जलवायु परिवर्तनको असर पर्नुले सुनसरीका सिमसार क्षेत्रहरू सुक्न थालेको स्थानीयवासीले बताएका छन् । 

वराहक्षेत्र नगरपालिकाको महेन्द्रनगर, प्रकाशपुर र मधुवन तथा कोसी गाउँपालिकाको पश्चिमकुशाहा, श्रीपुरजब्दी, हरिपुरसहितका सिमसारहरू सुक्न थालेको स्थानीयवासीले बताएका हुन् । 

विगत दुई वर्षदेखि सिमसार सुक्ने क्रम बढेको कोसी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुदेव यादवले बताउनुभयो । कोसी सिमसार क्षेत्र सुनसरीवासीको प्राकृतिक सम्पत्ति भए पनि वराहक्षेत्रको महेन्द्रनगरदेखि कोसी गाउँपालिकाको हरिपुर भाण्टाबारी, कोसी ब्यारेजसम्मका सिमसार सुक्न थालेको उहाँले बताउनुभयो ।

सप्तरीको सप्तकोसी नगरपालिकादेखि कङ्कालनी हनुमाननगरसम्मको क्षेत्रका सिमसार सुक्न थालेको अर्का स्थानीय वीरेन्द्रकुमार यादवले बताउनुभयो ।

सिमसार सुकेका र सुक्न लागेका कारणले स्थानीयवासीलाई पशुपालनमा र माछा मारेर जीविकोपार्जन गर्दै आएका समुदायलाई समेत समस्या भएको बताउँदै यादवले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । कोसीटप्पु वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा रहेको कोसी नदीको पश्चिम र पूर्वतर्फको सिमसार सुक्न थालेको आरक्षका संरक्षण अधिकृत तथा प्रमुख रामचन्द्र खतिवडाले बताउनुभयो ।

प्रमुख संरक्षण अधिकृत खतिवडाका अनुसार कोसीटप्पुको मात्रै नभई देशभरका विश्वका सिमसार नै सङ्कटमा छन् । सिमसार क्षेत्रलाई सिमसारकै रूपमा कायम राख्नका लागि सिमसार नीति ल्याउनुपर्ने र सिमसारको दोहन, अतिक्रमण, जथाभावी बस्ती, प्लटिङ गर्ने काम बन्द गर्नुपर्ने प्रमुख खतिवडाको सुझाव छ । उहाँले देशमा सिमसार क्षेत्र सुकेको खण्डमा वन्यजन्तु, पशुपन्छी, जलचर, थलचर र उपयचरसमेतलाई असर पर्ने बताउनुभयो । कोसीटप्पुमा आउने पन्छीहरू पनि सिमसार सुक्न थालेकाले कम आएको र सिमसारमा जीविकोपार्जन गर्दै आएका समुदायको जीवनयापनमा असर परेको जानकारी दिनुभयो । 

प्रमुख खतिवडाका अनुसार कोसी कटानपछि सिमसार मासिने क्रम बढेको, समयमा पर्याप्त वर्षा नभएको र त्यसमा पनि केही वर्षयता भारतीय पक्षले पूर्वी तटबन्धको सुरक्षा देखाउँदै कोसीको पानीलाई माथिबाट नै पश्चिमतर्फ फर्काइएकाले पूर्वतर्फका सिमसार क्षेत्र सुक्न थालेका हुन् ।

सिमसार क्षेत्र सुक्न थालेकाले किसानलाई पशु चरनदेखि पानी खुवाउन र भैँसीलाई नुहाउन समस्या भएको कोसी ३ पश्चिम कुशाहाका किसान अशोक यादवले गुनासो गर्नुभयो । यादवले सिमसार क्षेत्र सुकेकाले केही स्थानीयवासीले खेतीपाती गर्न थालेको बताउनुभयो । 

कोसी नेपालको पहिलो सिमसार हो । नेपालले १९८७ डिसेम्बर १७ मा कोसी टप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्र घोषणा गरी रामसार महासन्धिमा प्रवेश गरेको थियो । तत्पश्चात् बीसहजारी, घोडाघोडी, गोक्या, गोसाइँकुण्ड, जगदीशपुर, शे–फोक्सुण्डो, रारा ताल र माइपोखरीलाई रामसार क्षेत्रमा समेटिएको छ । हाल नेपालमा १० वटा रामसार क्षेत्र छन् । 

सिमसार संरक्षणले ठूलो सङ्ख्याको जलचरको वासस्थानमा सहयोग पु-याउने, सिमसार वनस्पति र प्राणीको बासस्थान बचाइराख्ने मात्र होइन जल भण्डारबाट पृथ्वीमा पुनः पानी प्रवेश गराउने र स्वच्छ पानी पुनः उपलब्ध गराउने हुँदा सिमसार क्षेत्र पृथ्वीको मिर्गौलाका रूपमा रहेको भए पनि सुनसरीतर्फको सिमसार मासिने र सुक्ने रहेको बढेको शिक्षक देवकृष्ण यादवको भनाइ छ । 

सिमसारको अतिक्रमण, सिमसार सुक्ने क्रमले माछा मार्ने पेसा गर्दै आएका एक सयभन्दा बढी मलाहा तथा माझीको पेसा सङ्कटमा परेको छ । माछा मार्नेहरूले सिमसार र कोसीलाई आधार मानेकोमा पानी पश्चिमतर्फ मोडिएकाले सुनसरीका मलाहा तथा माझीको पेसा सङ्कटमा परेको मलाहा तथा मुखिया सङ्घका अध्यक्ष गुलावी मुखियाले गुनासो गर्नुभयो । 

केही क्षेत्रमा बचेको सिमसार क्षेत्रसमेत जलकुम्भी र पटेरका कारणले धराशायी हुँदै गएको स्थानीय शिक्षक बेचन यादवले बताउनुभयो । सिमसार सुकेकाले चराहरू  कम आउने गरेको उहाँले जानकारी दिनुभयो ।