• १३ साउन २०८१, आइतबार

२४ वर्षीया अनिताले दिनुभयाे उपाध्यक्षको उम्मेद्वारी

blog

शिवराज ढुङ्गाना 

अछाम, वैशाख १३ गते । चौरपाटी गाउँपालिकामा २४ वर्षीया अनिता खड्काले कान्छी उपाध्यक्षका रुपमा उम्मेद्वारी दर्ता गर्नुभएको छ । सोमबार अनिताले नेकपा (एमाले) बाट चौरपाटी गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेद्वारी दिनुभएको छ । 

चौरपाटी गाउँपालिका–५ लुङग्रा निवासी अनिताले समाजको आवश्यकता र सामाजप्रति आफ्ना सामुहिक परिकल्पनाले उम्मेद्वारी दिएको बताउनुभयो । शिक्षा, स्वास्थ्य, कृषि र महिला हिंसामा ठूलाे समस्या देख्नुभएकी अनिताले आफू निर्वाचितपछि स्थानीयवासीकै सहयोगमा नीति, कानुन बनाएर समाधानमा जाने भनाइ राख्नुभयो । “आफ्नो गाउँ-ठाउँलाई सुन्दर र विकसित बनाउन मेरा केही सपना र सङ्कल्प छन्, तिनलाई पूरा गर्न मेरो उम्मेद्वारी हो ।” आफ्नो उम्मेद्वारीको पुष्ट्याइँ अनिताको छ । “गाउँघरमै हुर्केकीले म यहाँका समस्यामा भिजेकी छु, ती समस्यालाई सामूहिक समाधानका लागि अधिकतम प्रयास गर्नेछु ।” अनिताले भन्नुभयो ।

श्रीकोटमा रहेको त्रिपुरासुन्दरी क्याम्पसमा स्नातक अध्ययन गरिरहेकी अनिता युवाको प्रतिनिधित्वमा आएको बताउनुभयो । “बुढापाकाले मात्रै समाज सेवा गर्ने हैन, युवाले पनि सार्वजनिक संस्था हाक्न सक्छन् भनेर उदाहरणका लागि साहस गरेकी छु ।” सडक, खानेपानी, सिचाइँ, कृषि उत्पादनका समस्या र सामाजिक कुरीतिका विरुद्धमा गाउँवासीसँगै अगुवा भएर लड्ने अनिताको भनाइ छ । आफूलाई उम्मेद्वारीमा उत्साहभन्दा पनि गाउँका समस्याले पिरोलेको त्यसका समाधानका लागि बाटो खोजिरहेको बताउनुभयो । 

परिवार नै राजनीतिमा रहेकोले अप्रत्यक्ष प्रेरणाले यस क्षेत्रमा क्रियाशील रहेको भनाइ अनिताको छ । “म एक्कासि राजनीतिमा आएकी हैन, गाउँका हरेक छलफल, बैठकमा गएर कुरा राख्ने गर्थे, त्यसैले मलाई सहयोग भइरहेको छ ।” युवा सङ्घको केन्द्रीय सदस्य रहेकी अनिताले भन्नुभयो । गाउँपालिका विकसित र समृद्ध बनाउन आफू पदमा रहे÷नरहे पनि क्रियाशील भइरहने भनाइ छ । 

यता रुपन्देहीको सिद्धार्थनगरमा नेकपा (एमाले) ले कान्छी उम्मेदवारलाई वडा सदस्यमा मनोनयन गराउनुभएकाे छ । नगरको वडा नम्बर ६ मा २१ वर्षीया श्वेताकुमारी हरिजनले  महिला (दलित) सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँ अहिले स्नातक तहमा अध्ययनरत हुनुहुन्छ ।