• १२ साउन २०८१, शनिबार

पोल्ट्रीको अत्याधुनिक प्रविधि देखेर किसान दङ्ग

blog

परम्परागत कुखुरापालन । फाइल तस्बिर

चितवन, जेठ २१ गते । यहाँका धेरैजसो किसानले परम्परागतरुपमा कुखुरापालन गर्दै आएका छन् । केही ठुला व्यवसायी आधुनिक प्रविधितर्फ गए पनि पछिल्लो अत्याधुनिक प्रविधि नेपालमा अझै भित्रिएको छैन । तर, यहाँ भएको अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनीमा राखिएका अत्याधुनिक प्रविधि देखेर यहाँ आएका कुखुरापालक किसान दङ्ग परेका छन् ।

कम लागतमा धेरै अण्डा र मासु उत्पादनका लागि उपयोगी यस्ता प्रविधि देखेपछि किसान र व्यवसायी उत्साहित भएका हुन् । कतिपय विद्यार्थी र यस क्षेत्रमा रुचि राख्नेहरू पनि आकर्षित भएका छन् । विश्वका विभिन्न देशका विज्ञ र प्रविधि झिकाएर प्रत्यक्ष रूपमा किसानलाई बुझाउने काम प्रदर्शनीमा गरिएको थियो । झापाबाट प्रदर्शनी हेर्न आउनुभएका सुवास खतिवडा प्रदर्शनीमा राखिएका प्रविधिहरूको अध्ययन गर्दै हुनुहुन्थ्यो । उहाँले भन्नुभयो “विदेशमा गएर हेर्नुपर्ने उपकरणहरू यही हेर्न पाउँदा खुसी लागेको छ ।”  

भरतपुर महानगरपालिका वडा नम्बर १२ का दिनेश कट्टेलले कुखुरापालन गर्नेलाई प्रदर्शनी निकै फलदायी भएको बताउनुभयो । पोल्ट्रीसँग सम्बन्धित उपकरण र औषधिका बारेमा हेर्ने र बुझ्ने अवसर पाइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “उपलब्धिमूलक प्रदर्शनी भएकाले यस्ता कार्यक्रम हरेक दुई-तीन वर्षमा हुनुपर्छ ।” कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा भेटेरिनरी सङ्काय अध्ययनरत सविना पाण्डे प्रदर्शनीले विद्यार्थीदेखि किसानसम्मलाई अध्ययनका लागि सहज बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले यस्ता सामग्रीको विषयमा अध्ययन गरेका थियौँ । तर अहिले यहीँ प्रत्यक्ष हेर्न पाइयो ।” 

कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहप्राध्यापक डा.सुवीर सिंहले प्रदर्शनीमा किसान पाठशालाको संयोजन गर्नुभएको थियो । उहाँका अनुसार तीन दिनसम्म नेपाल, भारत, क्यानडा, ताइवान र मलेसियाका विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । तीन दिनमा १९ वटा कार्यपत्र प्रस्तुत गरिएका थिए । जसमा कुखुरापालन सम्बन्धी अत्याधुनिक प्रविधिका बारेमा किसान, व्यवसायी र विद्यार्थीलाई बुझाउने प्रयास गरिएको थियो । विदेशमा जाँदा भाषाको समस्या हुने भए पनि यहाँ सहजरुपमा कतिपय विषय नेपालीमा बुझाइएको थियो ।

तीन दिनमा दुई सय ५५ जनाभन्दा बढीले  प्रविधिको बारेमा ज्ञान हासिल गरेको उहाँले जानकारी दिनुभयो । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टिकाराम पोखरेल नेपालमा यसअघि सन् २०१७ र २०१९ मा प्रदर्शनी गरिए पनि त्योभन्दा अझै राम्रो यो पटक गर्न सकिएको बताउनुहुन्छ । यही जेठ १८, १९ र २० गते गरिएको प्रदर्शनीमा विश्वका विभिन्न देशका पोल्ट्रीसँग सम्बन्धित फार्म, औषधि, दानालगायतका अत्याधुनिक उपकरण प्रविधिका बारेमा प्रदर्शन र पाठशाला सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । 

नेपाल पोल्ट्री महासङ्घ र इन्डिया पोल्ट्री ईक्यूपमेण्ट एशोसिएशनको आयोजनामा प्रदर्शनी भएको हो । प्रदर्शनीमा एक सय ५० वटा स्टल रहेका थिए । नेपालमा पहिलो पटक वि.सं.२०४८ मा प्रविधि भित्र्याएर व्यावसायिक कुखुरापालन गर्नुभएका नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट प्रदर्शनीबाट नेपाल र भारतीय किसान एवम् व्यवसायी लाभान्वित भएको बताउनुहुन्छ ।

अत्याधुनिक प्रविधि प्रयोग गर्न सक्दा थोरै लागतमा धेरै उत्पादन गर्न सकिने उहाँले बताउनुभयो । यसले किसान र कुखुरा पाल्नका लागि आवश्यक उपकरण उत्पादन गर्ने कम्पनीका बिचमा सम्बन्ध स्थापित गर्न सहयोग पुगेको उहाँको भनाइ छ । प्रदर्शनीमा नेपाल, भारत, चीन, जर्मन, बेल्जियिम, नेदरल्याण्ड, अमेरिका, टर्की, मलेसिया, सिङ्गापुर, ताइवान, इटली, इजरायल, बङ्गलादेशलगायतका देशका कुखुरासँग सम्बन्धित कम्पनी तथा विज्ञहरूको सहभागिता रहेको थियो । रासस