• १३ साउन २०८१, आइतबार

उम्मेदवारी दर्तामा अभूतपूर्व उत्साह

blog

इश्वरचन्द्र झा

काठमाडौँ, वैशाख १३ गते  । स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवारको मनोनयन पत्र दर्ता कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगले प्रकाशित गरेको निर्वाचन तालिका बमोजिम वैशाख ११ र १२ गते गरी दुई दिन मनोनयन दर्ता भएको हो । 

निर्वाचन आयोगका अनुसार केही स्थानमा सामान्य विवादबाहेक देशैभरि शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयन दर्ता भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, “मनोनयन दर्ता सकिएको छ, देशैभरिबाट प्रमाणीकरण भइआएका उम्मेदवारको सूचीलाई आयोगले एकीकृत गर्दैछ ।” उहाँले कुल उम्मेदवारको सङ्ख्या मङ्गलबार मात्रै स्पष्ट हुने बताउनुभयो । यद्दपि सोमबार राति अबेरसम्म ९५ हजार ८९० जना उम्मेदवारको नाम आयोगको एकीकृत सूचीमा प्रविष्ट भएको छ । 

आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठका अनुसार सोमबार रातिसम्म नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको प्रमुखमा दुई हजार ८८ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये ९५२ जनाले स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गराएका छन् । गाउँपालिका अध्यक्षमा दुई हजार ७६७ मध्ये ८१७ जनाले स्वतन्त्र भएर उम्मेदवारी दिएका छन् । आयोगका अनुसार उपप्रमुखमा एक हजार ६१२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये ३०३ जना स्वतन्त्र हैसियतमा छन् । 

गाउँपालिका उपाध्यक्षमा एक हजार ९१० जनाले उम्मेदवारी दर्ता गराएकोमा २८३ जना स्वतन्त्र हैसियतमा छन् । वडाध्यक्षका लागि २३ हजार २६० जनाले उम्मेदवारी दर्ता गराएका छन् । चार हजार १३३ जना स्वतन्त्र भएर वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । 

आयोगका सहसचिव श्रेष्ठले महिला सदस्यमा १६ हजार १९ जना, दलित सदस्यमा १४ हजार ३३८ र सदस्य पदका लागि ३३ हजार ३९३ जनाले उम्मेदवारी दर्ता गराएको जानकारी दिनुभयो ।  

आयोगले देशभरिबाट करिब दुई लाख पचास हजारभन्दा बढी उम्मेदवारी दर्ता हुने अनुमान गरेको छ । आयोगको तथ्याङ्क अनुसार २०७४ सालको स्थानीय चुनावमा उम्मेदवारको अन्तिम नामावलीबमोजिम एक लाख ४८ हजार ३६४ जना उम्मेदवार भएका थिए । २०७४ सालको स्थानीय चुनावको भन्दा करिब ३६ लाख मतदाता बढेका छन् । मतदाताको सङ्ख्यामा वृद्धि भएको र स्थानीय सरकारप्रतिको आकर्षणले उम्मेदवार अघिल्लो चुनावको भन्दा यस पटक उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ । 

यस पटकको निर्वाचनबाट ३५ हजार २२१ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । आयोगका अनुसार उक्त निर्वाचनपछि गाउँ र नगर कार्यपालिका तथा जिल्ला समन्वय समितिको चुनावबाट पाँच हजार ७९७ जना निर्वाचित हुनेछन् । 

निर्वाचन तालिका प्रभावित हुँदैन

स्थानीय तह निर्वाचन २०७९ का लागि आयोगले जारी गरेको निर्वाचन तालिका बमोजिम सोमबार नै उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम रहेको छ तर अबेर रातिसम्म सबै स्थानीय तहमा प्रकाशन भइसकेको छैन । आयोगका प्रवक्ता पौडेलले भन्नुभयो, “सबै स्थानीय तहमा सम्पर्क हुनसकेको छैन तर सूची आजै प्रकाशन गर्ने तयारीमा छौँ ।”

आयोगले निर्वाचन तालिका प्रभावित नहोस् भनेर दलहरूको सुझावमा दुई दिन उम्मेदवारी दर्ताको समय तोकेको थियो तर पहिलो दिन वैशाख ११ गते अपेक्षा गरिएअनुसार मनोनयन दर्ता नहुँदा उम्मेदवारी दर्ताको अन्तिम दिन वैशाख १२ गते सोमबार चाप बढेको हो । मुख्य राजनीतिक दलहरूले उम्मेदवारी दर्ताको पहिलो दिन उम्मेदवारकै टुङ्गो लगाउन नसक्दा सोमबार चाप बढेको हो । 

आयोगले चैत ४ गते सार्वजनिक गरेको निर्वाचन कार्यक्रमबमोजिम वैशाख १३ गते दाबी विरोधको कार्यक्रम हो । वैशाख १४ र १५ गते उम्मेदवारी जाँच, १५ गते नामावली प्रकाशन, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिन सक्ने तथा वैशाख १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह वितरण गर्ने कार्यक्रम छ । 

स्थानीय तह निर्वाचनमा जनमत पार्टी र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलेसमेत भाग लिँदैछन् । जनमत पार्टीले निर्वाचन आयोगमा स्थानीय चुनाव प्रयोजनका लागि दल दर्ता गराएर नै भाग लिएको हो भने नेकपा माओवादीका उम्मेदवार स्वतन्त्र हैसियतमा प्रतिस्पर्धा गर्दैछन् । चुनावमा कुल ७९ दल भाग लिँदैछन् । 

ओलाङचुुङगोलामा एकल उम्मेदवारी 

देशैभरि मनोनयन पत्र पाउन हानाथाप भइरहँदा ताप्लेजुुङको फक्ताङलुुङ गाउँपालिकाको वडा नं. ७ ओलाङचुुङगोलामा भने पाँच जनाको मात्रै उम्मेदवारी परेको छ । गाउँपालिकाको निर्वाचन अधिकृत राजकुमार दाहालका अनुसार वडाका लागि आवश्यक पाँच जना मात्रैको उम्मेदवारी परेको छ । वडाध्यक्षमा छेतेन वालुङ र सदस्यहरूमा टासी शेर्पा, वाङ्ग्या शेर्पा, महिला सदस्यमा फुपुल्हामु शेर्पा र दलित महिला सदस्यमा विपना तुम्बाहाम्फे विकको मात्रै उम्मेदवारी परेको अधिकृत दाहालले पुष्टि गर्नुभयो । 

वडाध्यक्षबाहेक चार जना सदस्यमा एकल उम्मेदवारी परेपछि उहाँहरू पाँचै जना निर्विरोध निर्वाचित हुनुहुनेछ तर निर्वाचन निर्देशिका बमोजिम निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि मात्रै निर्वाचित भएको आधिकारिक प्रमाणपत्र दिइनेछ । पाँचै जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन् । यद्दपि स्थानीयका अनुसार वडाध्यक्ष वालुङ नेकपा(एमाले)मा आबद्ध रहनुभएको छ भने चारै जना वडा सदस्य नेपाली काँग्रेससँग आबद्ध हुनुहुन्छ । 

साबिकको ओलाङचुुङगोला गाविसको एकदेखि आठ नम्बर वडा मिलाएर हाल उक्त वडा नं. ७ बनाइएको हो । उक्त वडामा ५६ घरधुरीका २७७ जना कुल मतदाता छन् । गोरखापत्र दैनिकका ताप्लेजुङ समाचारदाता चन्द्र पन्द्राकका अनुसार दुर्गम क्षेत्र ओलाङचुङगोलाका अधिकांश मतदाता वडाभन्दा बाहिर रहेको र मतदानकै लागि आउन समस्या भएकाले गाउँको भेलाबाट यस्तो निर्णय गरिएको छ । गाउँलेले भेला गरेर वडाप्रतिनिधिका लागि आवश्यक सङ्ख्या पुु¥याएर उम्मेदवारको नामावली दर्ता गराउन सहमत भएको बताइएको छ । 

मतपत्र ढुवानी सुरु हुँदै

निर्वाचन आयोगले मङ्गलबारबाट मतपत्र ढुवानी कार्य सुरु गर्दैछ । आयोगका प्रवक्ता पौडेलले दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर मतपत्र ढुवानी कार्य मङ्गलबारबाट सुरु हुने जानकारी दिनुभयो । 

आयोगले हालसम्म ६३ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मतपत्र छापिएको जनाएको छ । “छ महानगरपालिका र एक जिल्लाबाहेकको मतपत्रको छपाइ आगामी चार दिनभित्र पूरा हुनेछ,” प्रवक्ता पौडेलले बताउनुभयो । निर्वाचन आयोगले छ महानगरपालिका र भक्तपुर जिल्लाको मतपत्र वैशाख १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि छाप्ने कार्य सुरु गर्नेछ । 

मतपत्र ढुवानी कार्य नेपाली सेनाको प्रत्यक्ष निगरानी र सहजीकरणमा हुनेछ । प्रवक्ता पौडेलले भन्नुुभयो, “ढुवानी भएको मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भण्डारण गरिनेछ, लगत्तै जिल्लाका सबै स्थानीय तहमा मतदाता सङ्ख्याको आधारमा पठाइनेछ ।” हिमाली तथा दुर्गम जिल्लाहरूमा मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन अधिकृतको कार्यालय र वडासम्म मतपत्र पु¥याउन दुईदेखि तीन दिनसम्म लाग्ने भएकाले आयोगले छापिसकेको मतपत्र ढुवानी गर्न लागेको हो । 

मतपत्र अतिरिक्तका निर्वाचन सामग्री भने निर्वाचन आयोगले यसअघि नै ७७ वटै जिल्लामा पठाइसकेको छ । स्थानीय तह निर्वाचन २०७९ का लागि एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता योग्य छन् । आयोगले एक करोड ९४ लाख मतपत्र छाप्ने बताएको छ ।