• १२ वैशाख २०८३, शनिबार

दानसाँगु खोलामा पुल निर्माणपछि कुण्डाबासीको समस्या हट्दै

blog

निर्माण कार्य अन्तिम चरणमा पुगेको दानसाँगु खोलाको बेलिब्रिज पुल । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा, वैशाख १२ गते ।
बाजुराको पूर्वोत्तर क्षेत्रका कुण्डाबासीले दानसाँगु खोलामा ज्यान जोखिममा राखेर वारपार गर्नुपर्ने समस्या अब अन्त्य हुने भएको छ । मार्तडी–कोल्टी सडक खण्डको बिचमा पर्ने उक्त खोलामा लामो समयदेखि पुल नहुँदा स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समेत कठिनाइ हुँदै आएको थियो ।

गत मंसिर ४ गते जडाङ्गा खोलाको बेलिब्रिज दानसाँगुमा स्थानान्तरण गर्ने निर्णयअनुसार सोही खोलाको पुल यहाँ ल्याएर जडान गर्ने काम सुरु गरिएको हो । अहिले निर्माण कार्य तीव्र गतिमा अघि बढेपछि कुण्डाबासीले वर्षायाममा पनि सहज रूपमा आवतजावत गर्न सक्ने अपेक्षा गरिएको छ ।

बुढीनन्दा नगरपालिका–२ का स्थानीय दीपक विकले दानसाँगु खोलामा पुल निर्माण कार्य तीव्र भएपछि बुढीनन्दा, हिमाली, स्वामिकार्तिक र जगन्नाथ गाउँपालिकाका स्थानीयलाई समेत ठूलो सहजता हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मार्तडी–कोल्टी सडकको सबैभन्दा ठूलो समस्या दानसाँगु खोलामा पुल नहुनु हो । लामो समयदेखि पुल नबन्दा स्थानीयले निकै सास्ती भोग्दै आएका थिए । अहिले पुल निर्माण अन्तिम चरणमा पुगेकाले केही आशा पलाएको छ ।”

पुस्तौँदेखि दुःख भोग्दै आएका कुण्डाबासीले यस वर्ष भने सहज रूपमा खोला वारपार गर्न सक्ने भएका छन् । हाल पुल निर्माण करिब ९५ प्रतिशत सम्पन्न भइसकेको र स्थानीयमा ठुलो आशा जागेको विकले बताउनुभयो ।

सडक डिभिजन कार्यालय अछामका इन्जिनियर सुभाष साहका अनुसार जडाङ्गा खोलाको बेलिब्रिज दानसाँगुमा स्थानान्तरण गर्न डिडिए÷जनकल्याण जेभीसँग दुई करोड २० लाख रुपियाँमा सम्झौता गरिएको छ । “निर्माण कार्य अन्तिम चरणमा पुगेको छ, छिट्टै पुल सञ्चालनमा आउनेछ,” उहाँले बताउनुभयो ।

बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनकबहादुर बोहराले जडाङ्गा खोलाको बेलिब्रिज दानसाँगु ल्याउन लामो प्रयास गरिएको बताउनुभयो । उहाँका अनुसार त्यहाँको विवादका कारण पुल स्थानान्तरणमा केही ढिलाइ भएको थियो ।

उहाँले भन्नुभयो, “अहिले पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पुल सञ्चालनमा आएपछि यहाँका स्थानीयको लामो समयदेखिको समस्या समाधान हुनेछ ।”

यसअघि कुण्डाबासीलाई नागरिकता बनाउन मार्तडी जानुपर्ने, दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या हुने जस्ता कठिनाइहरू रहेका थिए । अब दानसाँगु खोलामा पुल निर्माण र अन्य प्रशासनिक सेवा नजिकै उपलब्ध भएपछि स्थानीयको समस्या धेरै हदसम्म समाधान हुने नगर प्रमुख बोहराले बताउनुभयो ।