• १२ साउन २०८१, शनिबार

कर्णालीका ३८ प्रतिशत नागरिकमा कान कम सुन्ने समस्या

blog

श्रवण क्षमता ह्रासको व्यापकता र कारणको अध्ययन नतिजा सार्वजनिक कार्यक्रम उद्घाटन गर्नुहुँदै सामाजिक विकास मन्त्रालयका सचिव दीर्घबहादुर पोखरेल । तस्बिर : नवीन सुवेदी

नवीन सुवेदी
सुर्खेत, जेठ २१ गते ।
सुर्खेत र सल्यानका ३८.९ प्रतिशत नागरिक कान कम सुन्ने समस्याले पीडित छन् । सुर्खेत र सल्यानका पाँच वर्षभन्दा माथिको उमेर समूहका ३८.९ प्रतिशत मानिसहरुमा कान कम सुन्ने समस्या देखिएको हो । अनुसन्धान अनुसार कर्णालीमा सुगम मानिने सुर्खेत र सल्यान जिल्लामै श्रवण शक्ति कमजोर भएका मानिसको अवस्था भयाभह छ भने अन्य दुर्गम जिल्लाका नागरिक झनै पीडामा छन् भन्ने पृष्टि गर्दछ । नेपालमै पहिलो पटक कर्णाली प्रदेशका सुर्खेत र सल्यानमा गरिएको श्रवण क्षमता ह्रासको व्यापकता र कारणहरुको अध्ययन (२०२४) ले यहाँका नागरिकहरुको श्रवण क्षमताको अवस्था पत्ता लागेको हो ।

जर्मन सहयोगमा सिबिएम नेपालले गरेको यस अनुसन्धानले सर्खेत र सल्यानका अधिकांश मानिसमा विभिन्न कारणले श्रवण क्षमता ह्रास हुँदै गएको देखाउँछ । नेपाल नेत्रज्योति सङ्घ एकीकृत आँखा, कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आयोजनामा श्रवण क्षमता ह्रासको व्यापकता र कारणहरुको अध्ययन नतिजा सार्वजनिक गरिएको हो ।

उक्त नजिता अनुसार सुर्खेत र सल्यानका गरी दुई हजार एक सय ४८ व्यक्ति अनुसन्धानको क्रममा सहभागी भएका थिए । जसमा ४१.२ प्रतिशत पुरुष र ५८.८ प्रतिशत महिला सहभागी थिए । कुल सहभागीमध्ये एक हजार नौ सय ४६ जना व्यक्ति पाँच वर्षभन्दा माथिका छन् । अनुसन्धानको क्रममा सुर्खेतका जम्मा सहभागी ७१.८ प्रतिशत व्यक्तिमध्ये ३९.८ प्रतिशत व्यक्तिमा श्रवण कमजोरी देखिएको छ । त्यस्तै सल्यानका जम्मा सहभागी २८.२ प्रतिशत व्यक्तिमध्ये ३६.६ प्रतिशतमा श्रवण कमजोरी रहेको पत्ता लागेको छ ।
मुख्य अनुसन्धानकर्ता डा. ऋषि भट्टका अनुसार सात वटा श्रेणीका आधारमा श्रवण क्षमता पत्ता लगाइएको थियो । उहाँका अनुसार श्रवण क्षमताको श्रेणीका आधारमा १९.६ प्रतिशत मानिसमा हल्का श्रवण कमजोरी देखिएको थियो । जसमा सुर्खेतका १९.१ र सल्यानका २०.९ प्रतिशत नागरिक छन् । यस्तै, मध्ययम श्रवण क्षमता भएका १० प्रतिशतमा मानिसमा सुर्खेतका १०.८ र सल्यानका ८ प्रतिशत नागरिक छन् । गम्भीर मध्ययममा सुर्खेतका ४.२ र सल्यानका ४.३ प्रतिशत नागरिक, अत्यन्त गम्भीरमा सुर्खेत ०.६ र सल्यान ०.२ प्रतिशत, सुन्नै नसक्नेमा सुर्खेत ०.२ र सल्यान ०.२ प्रतिशत र एक कानबाट मात्र सुन्नेमा सुर्खेतका २.५ र सल्यानका २.१ प्रतिशत नागरिक रहेका छन् ।

उमेर अनुसारको श्रवण कमजोरी हुने सुर्खेतमा ५ देखि १४ वर्षका ११.३ प्रतिशत बालबालिका रहेका छन् । भने सल्यानमा ६.७ प्रतिशत बालबालिका छन् । यस्तै सुर्खेतमा १५ देखि ४४ वर्षका २४.४ र सल्यानमा २१.२ प्रतिशत मानिसमा श्रवण कमजोरी देखिएको छ ।

डाक्टर ऋषि भट्टका अनुसार सुर्खेतमा ४५ देखि ६० वर्ष उमेरका ६३.५ र सल्यानमा ५८.५ प्रतिशत मानिसमा श्रवण कमजोरी रहेको पत्ता लागेको छ । त्यस्तै सुर्खेतमा ६० वर्षमाथिका ९३.२ र सल्यानमा ९४.४ प्रतिशत मानिसमा श्रवण कमजोरी पत्ता लागेको हो ।

अनुसन्धानको क्रममा कानको नली सुन्निएको, बाहिरी कानको संक्रमण, कानको हड्डी खिइने रोग, घोचेर वा कुनै घटनाबाट कानमा असर, कानभित्र बाहिरी वस्तुहरु छिरेको, बाहिरी कानको बनोट राम्रो नभएको, फन्गल इन्फेक्सन, कानको बाहिरी र भित्रि भागका पिप बग्ने, मध्य कानको सङ्क्रमण, कानको जालीमा प्वाल, कानेगुजी टासिको अवस्था, कान र नाक जोड्ने नलिमा समस्या र कानभित्रको हावाको चापमा गडबडी समस्या भएका व्यक्तिहरु भेटिएका भिए ।

कार्यक्रमलाई नीतिगत रुपमै समावेश गर्न पहल
कर्णालीमा कान स्वास्थ्य कार्यक्रम प्रभावकारी कार्यान्वयनका लागि नीति तथा कार्यक्रममै समावेश गर्न पहल सुरु भएको छ । आगामी बजेटमै सम्बोधन हुने गरी यो कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गर्न पहल गर्ने कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दीर्घबहादुर पोखरेलले बताउनुभयो ।

‘‘सुर्खेत र सल्यानका भएको अनुसन्धानको नतिजा विश्वसनिय छ । यसले हामीलाई बुउझाई दियो ।,’’ उहाँले भन्नुभयो, ‘‘भविष्यमा भयावह अवस्था आउन नदिन अब प्रदेशभर कान स्वास्थ्य कार्यक्रम लागू गरेर कार्यान्वयनमा ल्याउँछौं ।’’

मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख बिर्षबहादुर शाहीले नीति, लगानी र निजी क्षेत्रको सहकार्यमा आँखा स्वास्थ्य कार्यक्रम प्रभावकारी भएको उल्लेख गर्दै मन्त्रालयले अब कान स्वास्थ्य कार्यक्रम पनि सोही अनुसार अघि बढाउने बताउनुभयो ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र प्रमुख डा. शक्तिप्रसाद सुवेदीले जनस्वाथ्यका अन्य कार्यक्रमसँगै अब कान स्वास्थ्य कार्यक्रमलाई पनि प्राथमिकता दिन आवश्यक रहेको औंल्याउनुभयो । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले आँखा र कानबिचको अन्तरसम्बन्ध उल्लेख गर्दै कान स्वास्थ्यलाई पनि जोड दिन उल्लेख गरेगर्नुभयो । वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखा, जनस्वास्थ्य अधिकृत भूपेन्द्रदेव गिरीले नगरको नीति तथा कार्यक्रम र बजेटमा कान स्वास्थ्यको कार्यक्रम समावेश गर्न पहल गर्ने बताउनुभयो ।