• १२ साउन २०८१, शनिबार

अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु

blog

वसन्त पराजुली

नारायणगढ, जेठ १८ गते । नेपालमा कुखुरा पालन क्षेत्रमा नवीनतम अत्याधुनिक प्रविधिहरूको प्रयोग भित्र्याउन सहयोग पुर्‍याउने उद्देश्यले भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु भएको छ । चितवन उद्योग सङ्घको प्रदर्शनी स्थलमा आयोजना भएको सो प्रदर्शनीको एक कार्यक्रमकाबिच भरतपुर महानगरकी प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । 

प्रदर्शनीको उद्घाटन गर्दै प्रमुख दाहालले पूर्वाधारको विकासमा फड्को मारेको भरतपुरले अब उत्पादनका क्षेत्रमा विशेष योजना अघि सार्ने बताउनुभयो । “कृषिको प्रचुर सम्भावना भएको ठाउँ हो । पोल्ट्रिको त राजधानी नै भयो । अबको हाम्रो कार्यक्रम कृषि र पोल्ट्रिमै केन्द्रीकृत गर्ने हो,” उहाँले भन्नुभयो । 

भरतपुर महानगरले अब आर्थिक वर्ष २०८१÷८२ मा ल्याउने नीति तथा कार्यक्रमको प्रमुख विषय नै कृषि र पोल्ट्रिको उत्पादनमा जोड दिने कार्यक्रम बन्ने पनि उहाँले बताउनुभयो। उहाँले अहिले कोभिडले धारादायी भएको पोल्ट्री क्षेत्रलाई उकास्न जरुरी रहेको उल्लेख गर्दै कृषि र रोजगारीमा केन्द्रित रहेर विकास योजना अघि सारे पोल्ट्रि क्षेत्रको विकास हुने बताउनुभयो । 

भरतपुर भ्रमण वर्ष चलिरहेका बेला अन्तर्राष्ट्रिय स्तरको मेला महोत्सव आयोजना गरेर भरतपुरलाई सहयोग गरेकामा उहाँले आयोजकलाई धन्यवाद पनि दिनुभयो । नेपाल पोल्ट्रि महासङ्घ र इण्डिया पोल्ट्रि ईक्यूमेण्ट एसाेसिएसनको आयोजनामा सञ्चालित सो प्रदर्शनीमा १५० वटा स्टलहरू रहेका छन् । प्रदर्शनीकै अवसरमा पोल्ट्रिका क्षेत्रमा आयातित नवीनतम प्रविधिहरूका बारेमा किसानहरूलाई जानकारी गराउन विभिन्न गोष्ठी तथा सेमिनार तथा अन्तर्क्रिया सञ्चालन गर्न पोल्ट्रि पाठशाला समेत सञ्चालनमा ल्याइएको छ । 

प्रदर्शनी आयोजक संस्थामध्येको एक महासङ्घका अध्यक्ष गुणराज विष्टले प्रदर्शनीले नेपाल र भारतको कुखुरा जन्य वस्तुहरूको विकासमा उल्लेखनीय उपलब्धि हुने बताउनुभयो। 

प्रदर्शनीमा नेपाल, भारत, चिन, जर्मन, वेल्जियिम, नेदरल्याण्ड, अमेरिका, टर्की, मलेसिया, सिंगापुर, ताइवान, इटली, इजरायल, बग्लादेश लगायतका देशका कुखुरासग प्रत्यक्ष र अप्रत्यक्ष कम्पनी तथा विज्ञहरूको सहभागिता रहेको छ ।