• १२ साउन २०८१, शनिबार

सिन्धुलीमा रित्तिँदै अन्नभण्डार

blog

जिल्ला सदरमुकाम सिन्धुलीमाढीस्थित खेती योग्य जमिनमा बन्दै गरेका कङक्रिट घरहरु । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देबकोटा
सिन्धुलीमाढी, जेठ १८ गते ।
सिन्धुली जिल्लामा पछिल्लो समय खाद्यान्न उत्पादन हुने उर्बर भूमिमा बस्ति विकास बढेसँगै अन्नभण्डार रित्तिँदै गएको छ ।

जिल्लाको सदरमुकामलगायत गाउँपालिकाको केन्द्र भएको ठाँउमा खेती योग्य जमिनलाई टुक्रापारी घडेरीको रुपमा बिक्री गर्ने क्रम बढ्दै गएपछि अन्नभणर रित्तिदै गएको स्थानीयले बताएका छन् । खेती योग्य जमिनलाई बढ्दो रुपमा घडेरीको रुपमा बिक्री गर्न थालिएपछि परनिर्भरता पनि बढेको पाइन्छ ।

स्थानीयका अनुसार सदरमुकाम सिन्धुलीमाढीस्थित फाँटको खेतमा डेढ दशक अघिसम्म धान, गहुँ, मकै र समय अनुसारको अन्नवाली लहलह झुलेको हुन्थ्यो । अन्नवालीले यहाँका फाँटहरु निकै हरिया हुन्थे । यहाँको उत्पादनले स्थानीयलाई १२ महिनासम्म खान पुग्थ्यो । तर जब त्यही जमिन हुँदै सडक बनेर गाडीहरु कुद्न थाले यहाँको अवस्था फेरियो । अन्न फल्ने हरिया फाँटहरु अब कङक्रिटका घरले भरिन थालेका छन् ।

कमलामाई नगरपालिका–४ किसान बलराम अधिकारी बाली झुल्नु पर्ने खेतका फाँटमा घर ठडिएपछि अन्नवालीको उत्पादनमा कमी आएको र आयतित खाद्यन्नमा निर्भर रहनु परेको गुनासो गर्नु हुन्छ । ‘‘सदरमुकाम सिन्धुलीमाढीको प्रकृतिक सुन्दरताको रुपमा रहेको फाँटको खेत मासिँदै जाँदा सदरमुकामको उक्त सौन्दर्य नै गुमेको छ,’’ उहाँले भन्नुभयो, ‘‘दिनदिनै फाँटको खेत घडेरीका रुपमा प्लानिङ गरी बिक्री गर्ने क्रम बढेको छ । यसले तत्काल जग्गाधनीलाई त राम्रै पैसा प्राप्त भई खुशी भएका होलान, तर प्राकृतिक प्रेमी मानिसहरु भने सदरमुकामको सौन्दर्य गुमेकोमा चिन्तित छन् ।’’

सडक, बिजुली, खानेपानीलगायतको पूर्वाधार पुगेको गाँउपालिकाको केन्द्र रहेको र आसपासका जमिन पनि पछिल्लो समय घडेरीको रुपमा बिक्री भई धमाधम घर बनि रहेको गोलन्जोर गाउँपालिकाका निवर्तमान अध्यक्ष पुष्पबहादुर कार्की बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘‘हाम्रो पालिकामा पनि नयाँ सहर योजना लागू भएको खुर्कोटमा चाहिँ उक्त समस्या देखिएको छ, अरु ठाँउमा त्यती धेरै छैन ।’’

गाउँपालिकाको केन्द्र रहेको ठाँउ पछिल्लो समय सहरमा परिणत हुन लागेको समेत उहाँको भनाइ छ । स्थानीयका अनुसार जिल्ला सदरमुकामस्थित फाँटको खेतमा अहिले तीव्र सहरीकरण भइरहेको छ । अघिल्लो पुस्ताले खेती गरेको जमिनमा अहिले पछिल्लो पुस्ताले प्लानिङ गरी घडेरीको रुपमा बिक्री गरी सुविधा खोज्दै सहर पलायन हुने क्रम बढेको छ । पछिल्लो समयमा खेत धनीहरु अन्य पेसामा लागेका र कृषि कार्य खर्चिलो बन्दै गएपछि पनि खेत घडेरीका रुपमा मासिने क्रम बढेको बताइएको छ ।

‘‘एक दशक अघिसम्म ढुंग्रेबास कटेपछि घर भेट्न कित धुरा बजार नै पुग्नु पर्दथ्यो, कि त बजार नै,’’ ढुंग्रेबास बजार निवासी सन्तोस दाहाल भन्नुहुन्छ, ‘‘अहिले ढुंग्रेबास पुच्छारको ग्वाङखोला कट्ने बित्तिकै अनगिन्ती घर भेट्न पाइन्छ । घर पनि धमाधम बन्दै छन् ।’’

पछिल्लो समयमा ग्रामीण क्षेत्रमा समेत मानिसले पाउने आधारभूत सुविधा धमाधम बढ्दै गएपछि ठुला सहर ताक्ने मानिसको रोजाइँमा गाउँघर नै पर्न थालेको उहाँको बुझाइ छ । फाँटमा घर बनाएर बसोवास गर्ने क्रम बढेपछि कमलामाई नगरपालिकालाई पनि सडक, खानेपानी, बिजुली, विद्यालय, ढल निकासलगायतको व्यवस्थापन गर्न समस्या भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका वातावरण शाखाका प्रमुख सागरकुमार ढकाल पनि फाँटमा तीव्र रुपमा बनेको कङक्रिट घरहरुले नगरको सौन्दर्य नै गुमेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘‘उर्बर जमिनलाई कङक्रिटमा परिणत गरेको, अव्यवस्थित तरिकाले घरहरु बनि रहेको र सरसफाईको व्यवस्थापन गर्न एक दमै गाह्रो भएको छ ।’’