• ११ मंसिर २०८१, मङ्गलबार

गुल्मीका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइने

blog

तिलाचन पाण्डे
तम्घास, जेठ १६ गते ।
गुल्मीमा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत झण्डै ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइने भएको छ । अभियानअन्तर्गत गुल्मीका १२ वटै स्थानीय तहका खोप लगाउन छुटेका बालबालिकालाई पोलियो भाइरसविरुद्धको आइपिभी खोप लगाइने भएको हो ।

गुल्मी जिल्लामा ३९२ खोप केन्द्रमा १० हजार ८१० जना बालबालिकालाई आइपिभी खोप लगाइने भएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिनुभयो । अभियान बारेमा गुल्मी जिल्लाका सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रममा सो कुराको जानकारी गराइएको हो ।

जिल्लामा खोप अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम गरिएको हो । खोप अभियानअन्तर्गत २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका मात्र पाँचदेखि आठ वर्ष उमेर समूहका बालबालिकालाई मात्र आइपिभी खोप लगाइने लक्ष्य राखिएको छ ।

त्यसबेला यो खोप लिन छुटेका एकवर्षमुनिका बालबालिका पोलियो रोगको जोखिममा रहेकाले ती छुट बालबालिकालाई अभियानको माध्यमबाट आइपिभी  खोप दिन लागिएको आचार्यले बताउनुभयो ।

त्यसका लागि स्वास्थ्य कार्यालय गुल्मीले जिल्लाका स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण सम्पन्न गरेको जनाएको छ ।  पोलियो रोग जुनसुकै उमेर समूहकालाई पनि लाग्छ । जिल्लामा जेठ २१ देखि २८ गतेसम्म आइपिभी खोप अभियान सञ्चालन हुँदैछ ।

यस अभियानका लागि निर्धारण गरिएको उमेर समूहका अधिकांश बालबालिकाहरु विद्यालयमा अध्ययन गर्ने भएकाले खोप सेवा पनि विद्यालयमा नै गएर प्रदान गरिने भएको छ ।  

नेपालमा नियमित खोप सेवाको माध्यमबाट आइपिभी खोप सेवा २०७१ साल आसोज महिनादेखि सुरु भएको हो । तर दुई वर्ष नबित्दै विश्व बजारमा आइपिभी खोपको अभाव हुन गएकाले आइपिभी खोप आपूर्ति नभएको हुँदा २०७३ साल जेठ महिनादेखि २०७५ साल भदौ महिनासम्मको अवधिमा यो खोप लिन लक्षित उमेरका बालबालिकाहरू छुटेका थिए ।

उक्त अवधिमा आइपिभी खोप लगाउन छुटेका बालबालिकालाई पोलियो रोग लाग्ने जोखिम रही रहने हुँदा ती बालबालिकालाई आइपिभी खोप दिन जरुरी हुने भएकाले खोप अभियान राखिएको हो । नेपालमा पोलियो रोगको पछिल्लो बिरामी २०६७ भदौ १४ मा देखापरेपनि हालसम्म शून्य छ ।

यो खोपबाट लगाउने र मुखबाट औषधी खुवाइन्छ । नेपालबाट सन् २०२६ सम्म पोलियोरोग निर्मूल गर्ने लक्ष्यका साथ राष्ट्रव्यापी रुपमा यो अभियान सञ्चालन हुँदैछ ।

अभियानलाई जिल्लामा सबैले आफ्नो तर्फबाट सहयोग गरेर सफल बनाउन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो । जिल्लामा सडक बालबालिकालाई खोप अभियानमा कसरी ल्याउने भन्ने बारेमा पनि छलफल भइरहेको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले बताउनुभयो ।

यो खोप छुटेका बालबालिकाले अनिवार्य लगाउनुपर्ने भएकाले सबैले तोकिएका सयमा जन्मेका बालिबालिका नछुटाउन उहाँले आग्रह गर्नुभयो ।