• १२ साउन २०८१, शनिबार

किसानलाई ७५ प्रतिशत अनुदानमा कृषि औजार वितरण

blog

गुणबहादुर रोका 

सुलीकोट, जेठ १६ गते । कृषि ज्ञान केन्द्र गोरखाले कृषकहरूलाई कृषि औजार वितरण गरेको छ । गोरखा नगरपालिका–१० स्थित छेपेटारका स्थानीय किसानहरूलाई ७५ प्रतिशत अनुदानमा कृषि औजार प्रदान गरेको हो ।  

छेपेटारका स्थानीय किसानहरूलाई चैते धान प्रवर्द्धन कार्यक्रम अन्तर्गत स्थानीय किसानलाई रैथाने बालीको उत्पादन वृद्धि तथा बजार प्रवर्द्धन गरी किसानहरूको आयस्तर वृद्धि गराउन बुधबार कृषि ज्ञान केन्द्र गोरखाले ७५ प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको हो । 

गोरखा नगरपालिका वडा नम्बर १० का ३५ जना किसानलाई ३० वटा हाते ट्याक्टर, २० वटा मिनी टेलर, २६ वटा स्पेयर, २६ वटा धान काट्ने मेसिन, १ वटा थ्रेसर गरी किसानलाई कृषि उपकरण वितरण गरिएको वडा नम्बर १० का वडाध्यक्ष प्रदीप कुँवरले जानकारी दिनुभयो । 

कृषि पेसालाई आधुनिकीकरण तथा व्यवस्थित गर्न र चैते धान उत्पादन बढाउन १० नम्बर वडाले चालु आर्थिक वर्ष २०८०-२०८१ को बजेटबाट कृषि सामग्री अनुदानको व्यवस्थापन गर्न कृषि ज्ञान केन्द्र गोरखासँग माग गरेका थिए । कार्यक्रम अन्तर्गत किसानलाई ५ लाख रुपियाँको कृषि उपकरण सहयोग गरिएको कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख मिरा चौधारीले बताउनुभयो ।

गोरखा नगरपालिका भित्रको गोरखाका नगरपालिका–१० छेपेटार कृषिको लागि पकेट क्षेत्रको रूपमा छ । स्थानीय किसानलाई व्यावसायिक कृषि क्षेत्रमा आकर्षित गर्नका लागि कृषि उपकरण वितरण गरिएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ । किसानलाई कृषि उपकरणको सदुपयोग गर्न आग्रह गर्नुभयो ।

कृषि ज्ञान केन्द्र गोरखाको चैते धान प्रवर्द्धन कार्यक्रम अन्तर्गत किसानको साझेदारीमा ८ लाख बराबरको सामान हस्तान्तरण गरिएको हो । कृषि उपकरणले स्थानीय रूपमा उत्पादन बढाउन नगरपालिकामा कृषिमा आत्मनिर्भर बनाउन योगदान पुग्ने विश्वास लिइएको छ । ३५ जना किसानलाई गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले हाते ट्याक्टर, मिनी टेलर, पेयर, धान काट्ने मेसिन र थ्रेसर एक कार्यक्रमबिच वितरण गर्नुभएको हो । 

गोरखा नगरपालिका वडा नम्बर १० नगरपालिकाभरिको कृषि उब्जाउ हुने ठुलाठुला टार, सम्म परेको खेतीयोग्य भूमि भएकाले सिँचाइ गर्न पनि दरौंदी नदीको पानी सहज रूपमा ल्याउन, समय अनुसार चैते धान मकै आलुलगायतका खेतीयोग्य ठाउँ भएको वडाध्यक्ष प्रदीप कुँवरको भनाइ छ ।