• १२ असार २०८१, बुधबार

शाखा विस्तारसँगै वित्तीय पहुँच वृद्धि

blog

काठमाडौँ, जेठ १५ गते । पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाको शाखा विस्तार भएसँगै वित्तीय पहुँच वृद्धि हुँदै गएको छ । शाखा विस्तारसँगै बैङ्किङ कारोबार गर्ने जनसङ्ख्या पनि उल्लेख्य रूपमा बढेको छ । गत वर्ष फागुनमा बैङ्क तथा वित्तीय संस्थामा निक्षेप खाता पाँच करोड ४४ लाख र कर्जा खाता १८ लाख ७६ हजार पुगेको छ ।

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार यस अवधिमा मोबाइल बैङ्किङ प्रयोगकर्ता दुई करोड ३७ लाख ८३ हजार र इन्टरनेट बैङ्किङ सेवाका प्रयोगकर्ता १८ लाख ७४ हजार पुगेका छन् । चालु आर्थिक वर्षको फागुनसम्म ३१ हजार कर्जा खाता र ३२ लाख २३ हजार निक्षेप खाता थप भएका छन् ।

गत वर्ष फागुनमा बैङ्क तथा वित्तीय संस्थाको शाखा सङ्ख्या (लघुवित्त समेत) का आधारमा प्रतिशाखा जनसङ्ख्या २,५१५ पुगेको छ । यस्तो जनसङ्ख्या २०७९ फागुनमा २.५१० रहेको थियो । प्रदेशगत रूपमा प्रतिशाखा जनसङ्ख्या मधेश प्रदेशमा सबैभन्दा बढी र बागमती प्रदेशमा सबैभन्दा कम रहेको छ । यस अवधिमा मोबाइल बैङ्किङ प्रयोगकर्ता दुई करोड ३७ लाख ८३ हजार र इन्टरनेट बैङ्किङ सेवाका प्रयोगकर्ता १८ लाख ७४ हजार रहेका छन् ।

स्वास्थ्य बिमा चौबिस लाखनजिक

चालु आवको फागुनसम्म स्वास्थ्य बिमाको दायरामा आएको परिवार सङ्ख्या २३ लाख ९५ हजार रहेको छ भने कुल बीमित सङ्ख्या ७७ लाख २७ हजार रहेको छ । साथै ३६ लाख २१ हजार व्यक्तिले स्वास्थ्य बिमाबाट सेवा प्राप्त गरेका छन् ।

४३.१६ प्रतिशतमा बिमाको पहुँच

गत वर्षको फागुनसम्म वैदेशिक रोजगार म्यादी जीवन बिमासमेत गरी ४३.१६ प्रतिशत जनसङ्ख्यामा बिमाको पहुँच पुगेको छ । चालु आवको फागुनसम्म बिमा प्रिमियम सङ्कलन ४.४ प्रतिशत वृद्धि भई एक खर्ब २४ अर्ब ८९ करोड पुगेको छ ।

सहकारीमा झन्डै पाँच खर्ब बचत

गत फागुनसम्म सहकारी संस्था ३१ हजार ४५० र सेयर सदस्य सङ्ख्या ७३ लाख ८५ हजार ५२८ पुगेको छ । यस अवधिसम्म सहकारी क्षेत्रमा चार खर्ब ७८ अर्ब ११ करोड बचत परिचालन भई चार खर्ब पाँच अर्ब तीन करोड कर्जा प्रवाह भएको छ ।

२१.३ प्रतिशतसँग डिम्याट खाता

गत वर्षको फागुन मसान्तसम्म डिम्याट (हितग्राही खाता) खाता लिने नागरिकको सङ्ख्या कुल जनसङ्ख्याको २१.३ प्रतिशत पुगेको छ । फागुन मसान्तसम्म डिम्याट खाता ६२ लाख २४ हजार नेपालीमा पुगेको छ ।

पछिल्लो समय नेपालको धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता उत्साहजनक रूपमा बढेको छ । २०७९ असारसम्म ५३ लाख ४६ हजार डिम्याट खाता रहेको थियो ।

गत असार मसान्तसम्म करिब ८.९ प्रतिशतले बढेर ५८ लाख २३ हजार रुपियाँ पुगेको छ । २०८० असार मसान्तसम्म करिब ४८ लाख २६ हजार रहेको मेरो सेयर खाताको सङ्ख्या ५२ लाख ६४ हजार पुगेको छ । यो कुल जनसङ्ख्याको १८.०३ प्रतिशत हो ।

फागुन मसान्तसम्म सबैभन्दा बढी लगानीकर्ता बागमतीमा ३७.२२ र सबैभन्दा कम कर्णालीमा २.४३ प्रतिशतमा डिम्याट खाता रहेको छ । 

कर्णाली प्रदेशमा एक लाख ५१ हजारमा डिम्याट खाता रहेको छ भने बागमतीमा २३ लाख १२ हजारमा डिम्याट खाता रहेको छ ।

दोस्रो बजारमा कारोबार घट्यो

सर्वेक्षणका अनुसार दोस्रो बजारमा कमी आएको छ । नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको सहभागिता बढ्दै गएको छ । साथै, प्राथमिक बजारमार्फत भएको पुँजी परिचालनमा समेत बढोत्तरी हुँदै गएको छ । आर्थिक क्रियाकलापमा आएको सङ्कुचनका कारण धितोपत्रको दोस्रो बजार कारोबारमा केही कमी आएको छ ।

चालु आवको फागुनसम्म धितोपत्रको प्राथमिक बजारमार्फत ३३ अर्ब ८३ करोड रुपियाँ रकम बराबरको पुँजी परिचालन भएको मन्त्रालयले जनाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २२.५१ प्रतिशतले कमी आएको छ ।

गत आवको सोही अवधिमा ४३ अर्ब ६६ करोड रकम बराबरको पुँजी परिचालन भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

करिब दस अर्बको आइपिओ जारी

चालु आवको फागुनसम्म साधारण सेयरको प्राथमिक निष्कासन (आइपिओ) नौ अर्ब ८० करोडको जारी भएको छ । हकप्रद सेयर निष्कासनमार्फत पाँच अर्ब ४५ करोड, थप निष्कासनमार्फत तीन करोड, ऋणपत्रमार्फत १५ अर्ब चार करोड र म्युचुअल फन्डमार्फत तीन अर्ब ५० करोडको पुँजी परिचालन भएको सर्वेक्षणमा उल्लेख छ ।

सूचीकृत कम्पनी २७१ पुग्यो 

२०७९ फागुनसम्म सूचीकृत कम्पनीको सङ्ख्या २४५ रहेकोमा २०८० फागुनसम्म कम्पनी मर्जर तथा प्राप्तिपश्चात् नेप्सेमा सूचीकृत कम्पनीको सङ्ख्या २७१ पुगेको छ । 

चालु आवको फागुनसम्म दोस्रो बजार कारोबारका लागि थप २३ कम्पनी (चार बिमा, एक लगानी, १२ जलविद्युत्, दुई उत्पादन तथा प्रशोधन र चार अन्य समूहको कम्पनी) नेप्सेमा सूचीकृत भएका छन् ।२०८० फागुनसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत सेयरको चुक्ता मूल्य आठ खर्ब १४ अर्ब ६४ करोड पुगेको छ । २०७९ फागुनसम्म यस्तो मूल्य सात खर्ब एक अर्ब ९८ करोड रहेको थियो ।