• ३ असार २०८१, सोमबार

समाज समय सापेक्ष हुनुपर्छ : खिलराज रेग्मी

blog

कार्यक्रममा सहभागी मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीलगायत ।

काठमाडौँ, जेठ १२ गते।मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले समाज समय सापेक्ष हुनुपर्ने बताउनुभएको छ।दायित्व वाङ्गमय प्रतिष्ठान नेपालको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

उहाँले साहित्य समाजको ऐना भएको बताउनुभयो।उहाँले प्रकृति र मानव जीवनका लागि उपयोगी र उपयुक्त माध्यम भनेको साहित्य रहेको बताउनुभयो।उहाँले मानव र समाजको लागि अनुपयोगी वा विरुद्ध हुने कुनै पनि कार्य वा सिर्जना प्रकृति र श्रृष्टिको नियमविरुद्ध हुने जिकिर गर्नुभयो।

उहाँले समय गतिशील र समाज प्रगतिशिल एवं परिवर्तनशील रहेको भन्दै सिर्जना र काम समय सापेक्ष र समाज सापेक्ष हुनुपर्ने बताउनुभयो।उहाँले कल्पनाशीलता रचनात्मक र सिर्जनात्मक भयो भने समाजलाई डोर्याउन र मार्गदर्शन गर्नसक्ने बताउनुभयो ।

कार्यक्रममा दायित्व वाङ्गमय विशिष्ट सम्मानबाट रमेशचन्द्र देवकोटा र डि.आर. पोखरेल, दायित्व वाङ्गमय सम्मानबाट अमरकुमार प्रधान र वासुदेव गुरागाईं, विद्वतच्छिरोमणि हेमराज पुरस्कारबाट प्रा. दिनेशराज पन्त, दायित्व मुरलीदेवी गुरुदत्त काफ्ले स्मृति पुरस्कारबाट सिर्जनशील अपाङ्ग विद्यालय, हरिकला गुणाकर दायित्व रचना पुरस्कारबाट विष्णुप्रसाद शर्मा पराजुली, दायित्व सीता पन्त श्रष्टा पुरस्कारबाट रागेश्वरी पन्त, दायित्व यशोदा पन्त प्रतिभा पुरस्कारबाट श्रृष्टि केसीलाई सम्मान गरिएको छ।