• १३ असोज २०८१, आइतबार

बाढीले विद्यालयमा क्षति

blog

रमेश विश्वकर्मा

गुल्मी, असार १२ गते । गुल्मीको चन्द्रकोट गाउँपालिका-८, कालिकागाउँस्थित बालविकास आधारभूत विद्यालयमा बाढीले क्षति पुर्‍याएको छ । यस वडाका वडाध्यक्ष फणिन्द्रराज अर्यालका अनुसार गए राती परेको पानीका कारण विद्यालय नजिकै रहेको खोल्साबाट आएको बाढी, पहिरो र भलले क्षति पुर्‍याउँदा विद्यालयको भौतिक संरचना पूर्ण रुपमा ध्वस्त गरेकाे छ । 

गए राती परेको मसिनो पानीसँगै यहाँ भल बढ्दा आएको बाढीले विद्यालयको कक्षाकोठामा क्षति पुर्‍याएको छ । झुर्म-कालिकागाउँ-तीन सिमलसम्म आउने खोल्सोमा भल बढ्दा बाढी आएसँगै यस विद्यालयका विभिन्न सामग्री, चारवटा कक्षाकोठासँगै डेक्स बेञ्च समेत पुरिएको वडाध्यक्ष अर्यालले बताउनुभयो ।

अहिले विद्यालय सञ्चालन गर्न नसकिएकोले पूर्णरुपमा विद्यालय बन्द छ । दुई वर्षअघि सल्यार किसिकोट जाने मोटरबाटो खनिएसँगै गतवर्ष पहिरो खस्दा पनि यस विद्यालयमा क्षति पुगेको थियो । पटक-पटकको बाढीका कारण विद्यालयमा क्षति भएको हुँदा यस स्थानमा पुनः विद्यालय सञ्चालन गर्न नसकिने भन्दै अन्य सुरक्षित स्थान खोज्न जरुरी रहेको उहाँले बताउनुभयो ।