• १५ असार २०८१, शनिबार

१३ किलो अफिमसहित तीन पक्राउ

blog

लीलाधर वली

घोराही, असार १२ गते । दाङमा १३ किलो अफिमसहित तीन जना पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–८ शुभबिहानी टोलस्थित डेरा गरी बस्ने लक्ष्मी बोहराको कोठामा लागुपदार्थ लुकाइछिपा राखेको भन्ने गोप्य सूचनाका आधारमा खानतलासी गर्दा मङ्गलवार साँझ १३ किलो अफिमसहित तीन जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा रूकुमपश्चिम आठबिसकोट नगरपालिका–३ निवासी ४० वर्षीय टेकबहादुर बोहरा, आठबिसकोट नगरपालिका– २ निवासी ४५ वर्षीया मनकुमारी बोहरा र मुसिकोट नगरपालिका–६ निवासी ३० वर्षीय मोहन पुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सुशील थापाले जानकारी दिनुभएको छ । प्रहरी निरीक्षक थापाका अनुसार लक्ष्मी बोहरा भने फरार छिन्। फरार लक्ष्मीको खोजी कार्य भइरहेको छ ।  

प्रहरी निरीक्षक थापाका अनुसार उनीहरू सोमवार बिहान तुलसीपुर उपमहानगरपालिका–८ शुभबिहानी टोल आएका थिए । त्यहाँ डेरा गरी बस्ने लक्ष्मी बोहराको कोठामा आएको समयमा प्रहरीले लागुऔषधसहित आएको सूचना प्राप्त गरेपछि मङ्गलवार साँझ कोठामा पुगेर खानतलासी गरेको थियो । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा कोठामा लुकाइछिपा राखेको अवस्थामा १३ किलो अफिमसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तहरूमाथि थप अनुसन्धान र फरार अभियुक्तको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभएको छ ।