• १५ असार २०८१, शनिबार

बिर्तामोडको बजेट एक अर्ब ३९ करोड

blog

बजेट प्रस्तुत गर्नुहुँदै बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला । तस्बिर : लीलाराज खड्का

लीलाराज खड्का 

बिर्तामोड, असार ११ गते । बिर्तामोड नगरपालिकाले एक अर्ब ३९ करोड ९६ लाख ९१ हजार रुपियाँको बराबरको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि नगरपालिकाले नीति तथा कार्यक्रमसहितको बजेट ल्याएको हो । 

नगरपालिकाको दोस्रो नगर सभाको पाँचौँ अधिवेशनमा नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभयो । बजेटको आयमा सङ्घीय समानीकरणबाट २१ करोड २३ लाख, सङ्घीय राजश्व बाँडफाँटबाट १३ करोड ९८ लाख, प्रदेश समानीकरणबाट १ करोड ३७ लाख ३७ हजार, प्रदेश राजश्व बाँडफाँटबाट १ करोड ३४ लाख २० हजार, आन्तरिक स्रोतबाट २० करोड ५० लाख, जग्गा रजिस्ट्रेसनबाट १२ करोड, सङ्घीय सशर्त चालुबाट २९ करोड ८ लाख ६३ हजार, सङ्घीय सशर्त पुँजीगतबाट ३१ करोड ८० लाख २५ हजार, सङ्घीय विशेष अनुदानबाट ३ करोड, प्रदेश सशर्त चालूबाट ९४ लाख ४६ हजार, प्रदेश पुँजीगत सशर्तबाट १ करोड ४१ लाख, प्रदेश समपूरकबाट १ करोड ३० लाख र जनसहभागिताबाट २ करोड रुपैयाँ प्राप्त हुने नगरको अनुमान छ ।

बजेट प्रस्तुत गर्नुअघि नगरपालिकाद्वारा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको थियो । नगरप्रमुख पवित्रा महतारा प्रसाईँले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो । १८६ बुँदामा समेटिएको नगरको नीति तथा कार्यक्रम नगरप्रमुख प्रसाईँले सोमबार सार्वजनिक गर्नुभयो । चालु आवमा अवलम्बन गरिएका महत्त्वपूर्ण नीतिहरूलाई निरन्तरता दिँदै पहिलो ५ वर्षे नगर आवधिक योजनाले लिएको उद्देश्य र लक्ष्य, सहस्राब्दी विकास लक्ष्य, राष्ट्रिय प्राथमिकता प्राप्त कार्यकमहरु र सुखी नेपाली समृद्ध नेपालको भिजन समेतको आधारमा आगामी आवका लागि नीति तथा कार्यक्रम तय गरी प्रस्तुत गरिएको नगरप्रमुख प्रसाईँले बताउनुभयो ।

नीति तथा कार्यक्रममा शिक्षा, राजश्व परिचालन, स्वास्थ्य विकास कार्यक्रम, कृषि विकास, पशुपन्क्षी तथा मत्स्यपालन विकास, सहकारी, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, लक्षित क्षेत्र, न्यायिक निरूपण, पर्यटन क्षेत्र, बन, वातावरण, विपद् व्यवस्थापन, उद्योग, व्यवसाय, व्यापार, रोजगार, यातायात तथा पूर्वाधार, युवा, खेलकुद तथा कला साहित्य, सुशासन, विज्ञान, प्रविधि, सूचना तथा सञ्चारलगायत क्षेत्रको विकास समेटिएका छन् ।