• १५ असार २०८१, शनिबार

तुलसीपुर-अमिलिया सडक कालोपत्रे

blog

सडक विस्तारसँगै कालोपत्रेका लागि तयार गरिएको राप्ती लोकमार्गअन्तर्गत भञ्ज्याङदेखि बबईसम्मको सडकखण्ड । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, असार १२ गते । दाङको राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–अमेलिया सडक खण्ड मर्मत हुन थालेको छ । राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१३ को भञ्ज्याङदेखि बबई नदीसम्मको सडक खण्ड विस्तारसँगै कालोपत्रे हुन थालेको हो । 

साँघुरो र जीर्ण बनेको सडकलाई मर्मत सुधारसँगै कालोपत्रे गर्ने काम भइरहेकाले उक्त सडकमा चारपाङ्ग्रे बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाएको छ । साँघुरो सडक तथा घुम्ती भएको स्थानमा कटान गर्नेसँगै अहिले भएको सडकलाई विस्तार गरेर दुई लेन सडकका रुपमा विस्तार गर्दै प्राइम कोट तथा अक्फाल्ट कंक्रिट कालोपत्रे गर्ने काम भइरहेको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी इन्जिनियर उज्ज्वलकुमार झाले जानकारी दिनुभएको छ । उक्त काम चालु आर्थिक वर्षभित्र सक्ने गरि भइरहेको छ । 

पानी परेपछि सडक कालोपत्रेको काम गर्न नसकिने भएकाले वर्षादअघि नै सडक विस्तार र कालोपत्रेको काम सक्ने गरि काम भइरहेको भन्दै सूचना अधिकारी झाले भन्नुभयो, "सडक साँघुरो भएको स्थानमा विस्तारसँगै जीर्ण बनेको सडकममा पहिलो पटक अक्फाल्ट प्रविधिबाट सडक कालोपत्रे गर्ने काम भइरहेको छ । यसले आगामी दिनमा छिट्टै सडक जीर्ण बन्ने समस्या हट्नेछ ।"

 सूचना अधिकारी झाका अनुसार करिब सात करोडको लागतमा २५ सय मिटर सडक विस्तारसँगै कालोपत्रे गर्ने काम के.एम.एस. जेभी बुटवलले गरिरहेको छ । समयमै काम सक्ने गरि काम भइरहेको भन्दै उहाँले तत्काल बर्षाद भएको खण्डमा समस्या हुने बताउनुभएको छ । अक्फाल्ट कंक्रिट अर्थात् कालोपत्रे गर्नका लागि प्रराम्भिक चरणको काम सकिएको भन्दै अव कालोपत्रे गर्ने काम बाँकी रहेको सूचना अधिकारी झाले जानकारी दिनुभएको छ ।  

सडक मर्मते काम सुरु भएपछि जिल्ला प्रशासन कार्यालयले असारको ११ गतेदेखि असार १७ गतेसम्म उक्त सडकमा ठुला मालवाहक साधन सञ्चालनमा रोक लगाएको छ । मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको भए पनि सडक खण्डमा साना र हलुका चारपाङ्ग्रे सवारी साधानहरू जस्तै बस, माइक्रो, मिनी बस, मिनी ट्रक, जिप, कार, मोटरसाइकल सञ्चालन गर्न दिइएको छ । 

सडक मर्मत नभएर खाल्डाखुल्डी हुँदा सवारी सञ्चालनमा समस्या हुने गरेको थियो । घोराही-लमही सडकखण्डसँगै तुलसीपुर–अमेलिया सडकखण्डले दाङ उपत्यकालाई पूर्व–पश्चिम राजमार्गसँग जोड्ने काम गरेकाे छ ।