• १५ असार २०८१, शनिबार

किसानलाई चिया टिप्ने मेसिन वितरण

blog

सूर्योदयको अन्तुमा चिया किसानलाई चिया टिप्ने (हाते मेसिन) मिनिटेलर वितरण गर्दै सूर्योदय नगरपालिका प्रमुख रनबहादुर राई । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, असार १२ गते । इलामको सूर्योदय नगरपालिकाले किसानलाई चिया टिप्ने मेसिन वितरण गरेको छ । अहिले प्रयोगमा रहेको पेट्रोलबाट चल्ने मेसिनले चियाको गुणस्तरमा असर पर्ने भएकाले ब्याट्रीबाट चल्ने मेसिन किसानलाई उपलब्ध गराइएको सूर्याेदय नगरपालिका प्रमुख रनबहादुर राईले बताउनुभयो । 

"अब चियालाई पूर्णरुपमा अर्गानिक नगरिए विश्व बजारमा बिक्रीमै समस्या हुने निश्चित छ । किसानहरुको श्रमको कम प्रयोग हुने र गुणस्तरमा पनि असर नहुने कुरामा हामी सचेत छाैं, किसानहरुलाई पहिलो पटक यो मिनिटेलर (हाते मेसिन) वितरण गरेका छौं," नगरप्रमुख राईले भन्नुभयो, "नयाँ मेसिन भएकाले किसानलाई मेसिन चलाउने तालिम र बिग्रियो भने मर्मतको तालिम पनि दिनेछौं ।"

 नगरप्रमुख राईले दुई दिनअघि भारतको सिलिगुढीमा आयोजना भएको चिया सम्बन्धी कार्यक्रममा नेपाली चियालाई विषादी हुन्छ कि भनेर शङ्काको दृष्टिले हेर्ने गरिएको कलकत्ताका महावाणिज्य दूतले बताएको जानकारी दिनुभयो । "पहिला सिएफेलमार्फत नेपाली चियाको परीक्षण गरिन्थ्यो, अब फसाईमार्फत पनि जाँच हुने र भारतीय टी बाेर्डले पनि नेपाली विषादी हुन्छ भन्ने विषयमा चासो लिएको कुरा त्यो कार्यक्रममा छलफल भयो," राईले भन्नुभयो, "अब नेपाली चियालाई पूर्ण अर्गानिक गरेर गुणस्तरीय उत्पादन गर्नुको विकल्प हामीसँग छैन । किसानहरुले यस विषयमा सचेत हुनुपर्छ ।"

नगरपालिकाले दुई सय ७२ घर परिवारलाई हुनेगरी ५० प्रतिशत अनुदानमा यो मेसिन किसानलाई दिएको हो । करिब ४० लाख रुपियाँको लागतमा २७२ वटा चिया टिप्ने मिनीटेलर किसानलाई उपलब्ध गराइएको छ ।