गाईघाट समाचारदाता
गाईघाट, वैशाख २९ गते । उदयपुरको रौतामाई गाउँपालिकाले सामुदायिक शिक्षाको गुणस्तर विकासमा जोड दिएको छ । पालिकाले १० बर्खे शैक्षिक योजना तर्जुमा गरी सोही अनुरूप लगानी बढाएर प्रविधिमा आधारित गुणस्तरीय र जीवनपयोगी शिक्षामा जोड दिएको हो ।
दुर्गम पहाडी क्षेत्रको भौगोलिक धरातलमा अवस्थित सो पालिकाले सार्वजनिक शिक्षालाई बहुआयामिक बनाउन सामुदायिक विद्यालयमा इन्टरनेट सेवालाई विस्तार गरी सूचना प्रविधिको पहुँच सुनिश्चित गरेको छ । शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले विगत दुई वर्षदेखि विभिन्न कायक्रम प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको पालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरले बताउनुभयो ।
अध्यक्ष मगरका अनुसार ‘प्रविधिमैत्री गुणस्तरीय र जीवनपयोगी शिक्षा अभिवृद्धि, रौतामाई गाउँपालिकाको समृद्धि’ भन्ने मूल मर्म अनुसार विद्यालयको माग र आवश्यकताका आधारमा सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित विभिन्न सामग्री विद्यालयलाई वितरण गरेको हो । पालिकाले करिब दुई करोड रुपियाँ खर्च गरेर ५१ वटा स्मार्ट बोर्ड, ४८ वटा ल्यापटप, ३३ वटा प्रिन्टर र १४ वटा प्रोजेक्टर विद्यालयलाई वितरण गरेको अध्यक्ष मगरले बताउनुभयो ।
उहाँका अनुसार आव २०८०/८१ मा गाउँपालिकाले विद्यालय, शिक्षक तथा सरोकारवालासँग समन्वय गर्दै शैक्षिक सुधारका कार्यक्रम सञ्चालनमा ल्याएको हो । जस अनुसार सरकारी विद्यालयको गुणस्तर वृद्धिका लागि विभिन्न गतिविधि अघि बढाउँदै आएको र सो अनुसार बालबालिकामा सूचना प्रविधिसम्बन्धी शैक्षिक उपलब्धिसमेत हासिल हुँदै गएको छ ।
गाउँपालिकाले प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीसँग कार्यसम्पादन सम्झौता गरी शैक्षिक सुधारलाई उच्च प्राथमिकतामा राखेर सो अनुसारको बजेटसमेत निकास दिएको छ । जस अनुसार उत्कृष्ट कार्यसम्पादन गर्ने विद्यालय, शिक्षक तथा कर्मचारीलाई पुरस्कार तथा सम्मान प्रदान गर्न वार्षिक सात लाख ५७ हजारका दरले बजेट विनियोजन गर्ने गरिएको अध्यक्ष मगरले बताउनुभयो ।
विद्यालय भौतिक पूर्वाधार सुधार अन्तर्गत जीर्ण अवस्थामा रहेका दर्जनभन्दा बढी भवनको मर्मत तथा नयाँ भवन निर्माण भएको, विद्यार्थीको प्रतिभा पहिचान गर्न नियमित रूपमा विज्ञान तथा कला प्रदर्शनी कार्यक्रम सञ्चालन हुँदै आएको र कक्षा ११, १२ र उच्च शिक्षासम्म विज्ञान क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने विद्यार्थीलाई प्रोत्साहनस्वरूप पुरस्कार प्रदान गर्ने कार्यक्रम पनि सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।