• १३ असोज २०८१, आइतबार

मदन भण्डारी राष्ट्रिय पुरस्कार चिया बगान केन्द्रलाई

blog

काठमाडौँ, असार १२ गते । मदन भण्डारी फाउण्डेशनले २०८० सालको मदन भण्डारी राष्ट्रिय पुरस्कार पाँचथरको कञ्चनजङ्गा चिया बगान तथा अनुसन्धान केन्द्रलाई प्रदान गर्ने घोषणा गरेको छ । फाउण्डेशनले ७३ औँ मदन जयन्तीको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलन गरेर केन्द्रलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । 

केन्द्रले स्थानीय कच्चापदार्थको प्रयोगका आधारमा रोजगारी सिर्जना गरी आयात तथा निर्यात प्रवर्धन गरी राष्ट्रिय अर्थतन्त्रलाई टेवा दिएकाले एक लाख राशिको पुरस्कार दिने निर्णय गरेको हो । केन्द्रले ९५ हेक्टर जमिनमा छ लाखभन्दा बढी चियाका बिरुवाको आयुर्वेदिक-जैविक खेती गरी वार्षिक सय टनभन्दा बढी चिया निर्यात गरी चार करोडभन्दा बढी कारोबार गरेको फाउण्डेशनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले जानकारी दिनुभयो । 

उहाँले राष्ट्रिय उद्यमशीलतालाई प्रवर्धन गर्ने क्षेत्रलाई चयन गरिएको बताउनुभयो । पुरस्कारका लागि सिफारिस गर्न डा.रामशरण प्याकुरेलकाे संयोजकत्वमा सरकारी र निजी क्षेत्रका प्रतिनिधि रहेको समिति गठन गरिएको थियो । यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीका दिन पुरस्कार प्रदान गरिनेछ । रासस