• १३ असोज २०८१, आइतबार

शिक्षक सरुवा विवाद : १४ महिनापछि शिक्षकलाई स्वागत

blog

विद्यालयमा हाजिर हुनुभएका शिक्षक दर्जीलाई विद्यालयमा स्वागत गरिँदै । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, असार ११ गते । कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं ९ का एक शिक्षक १४ महिनापछि विद्यालयमा पुनर्स्थापित हुनुभएको छ । जनप्रभात माध्यमिक विद्यालय श्रीकोटमा शिक्षक लोकबहादुर दर्जी १४ महिनापछि हाजिर हुनुभएको हो ।

जनजागर आधारभूत विद्यालय शीतलाबाट १४ महिना अघि शिक्षक दर्जीलाई जनप्रभात माध्यमिक विद्यालय श्रीकोटमा सुरुवा गरिएको थियो । तर शिक्षक दर्जीले सरुवा बदर गर्न भन्दै उच्च अदालतमा मुद्दा दायर गर्नुभयो । गाउँपालिका शिक्षा शाखाले गरेको सरुवा विधिगत भएको अदालतको फैसलापछि विभिन्न सञ्चार माध्यममा पुग्नुभएको थियो ।

गाउँपालिकाको सरुवा सदर नियमसंगत भएको अदालतको फैसलापछि गाउँ शिक्षा समिति र वडा पालिकाले शिक्षक दर्जीलाई सरुवा भएको विद्यालयमा हाजिर हुन सुझाव दिएपछि शिक्षा शाखाकै निर्णय स्वीकार गरेर हाजिर हुनु भएको जनाइएको छ । 

नरहरीनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडा अध्यक्ष प्रदीप बोहोराले विवाद समाधानपछि विद्यालयमा हाजिर हुनुभएकोमा शिक्षक दर्जीलाई कार्यकाल सफलताको शुभकामना दिनुभयो । उहाँले भन्नुभयो, ‘‘सबै विवाद मिलेकाले विद्यालयमा स्वागत छ ।’’

विद्यालयका पदेन सदस्य समेत रहनु भएका वडा अध्यक्ष बोहोराले अब विद्यालयमा आफ्नो क्षमताको राम्रो प्रदर्शन गर्न आग्रह गर्नुभयो । बिना कारण सरकारले गरेको निर्णयविरुद्ध सञ्चार माध्यम र अदालत पुग्नुभएका शिक्षक दर्जीले अन्तमा आफैँ गल्ती भएको स्वीकार गरेपछि विद्यालयमा हाजिर गराइएको गाउँपालिकाले जनाएको छ ।