• २ असार २०८१, आइतबार

बुद्धधर्मको महत्व विश्वभर छ:परराष्ट्रमन्त्री श्रेष्ठ

blog

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ । फाइल तस्बिर

लुम्बिनी, जेठ १० गते । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बुद्ध धर्मको प्रचार-प्रसार गर्न सके विश्वमा बढ्दो द्वन्द्व र हिंसालाई न्यूनीकरण गर्न सहयोगी हुने धारणा राख्नुभएको छ । २५६८औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवसका अवसरमा आयोजित विशेष समारोहमा उहाँले लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रियस्तरमा सरकारले पहल गरिरहेको बताउनुभएको छ ।

कार्यक्रमका सभापति एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बृहत्तर लुम्बिनीको गुरुयोजना शीघ्र सफल बनाउने बताउँदै अन्तर्राष्ट्रियस्तरको लगानी सम्मेलन सञ्चालन गर्ने कुरामा जोड दिनुभयो ।लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महराले विश्वकै बौद्ध धर्मावलम्बीको एक पवित्र ठाउँ, एसियाका ज्योतिका रुपमा परिचित विश्वशान्तिका अग्रदूत गौतमबुद्धको जन्मभूमि लुम्बिनी क्षेत्र हुनु प्रदेशका लागि ठूलो गौरवको विषय भएको बताउनुभयो । उहाँले धार्मिक पर्यटनको माध्यमबाट यस क्षेत्रमा मात्रै आयआर्जन बढाउन सकिने धारणा राख्नुभयो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुद्ध जन्म स्थल लुम्बिनी बौद्ध धर्मालम्बीका लागि मात्र नभएर सारा मानवजातिको लागि भएको बताउनुभयो । संयुक्त राष्ट्रसङ्घका स्थायी प्रतिनिधि हाना सिङ्गर ह्याम्डीले बुद्धजन्मस्थल लुम्बिनी बुद्धदर्शन फैलाउने उर्वर भूमिको रुपमा रहेको बताउँदै विश्व शान्तिको कामना गर्नुभयो । नेपालका लागि श्रीलङ्काका राजदूत एयर चिफ मार्सल सुर्दशना पाथिरानाले बुद्ध दर्शन विश्व शान्तिको लागि अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो ।

सो अवसरमा नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरीसनले बुद्ध पूर्णिमाको महत्वबारेमा बताउँदै पवित्रस्थल लुम्बिनीको पावन जन्मभूमिमा आउनु भाग्य भएको जिकिर गर्नुभयो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक)का महासचिव इन्द्रमणि पाण्डेले विश्वलाई बुद्ध दर्शनको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख, प्रतिनिधिसभाका सदस्यहरु, राष्ट्रियसभाका सदस्यहरु, विभिन्न देशका प्रतिनिधि, भिक्षु, भिक्षुणीलगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कृतसमेत गरिएको थियो । रासस